विराटनरस्थित कोशी अस्पतालले गएको माघ ४ मा अस्पतालका लागि कर्मचारीहरू आवश्यक रहेको भन्दै सूचना प्रकाशित गर्यो।
विभिन्न पदमा गरी ५० जना कर्मचारीको पदपूर्ति गर्न भन्दै प्रकाशित उक्त विज्ञापन सुरूमै विवादमा पर्यो। त्यसको कारण थियो, उक्त विज्ञापनका आधारमा अस्पतालले क-कसलाई नियुक्ति दिँदैछ भन्ने सूची पहिल्यै सार्वजनिक भयो।
यही विषयले कोशी प्रदेशको सबैभन्दा ठूलो मध्येको एक सरकारी स्वास्थ्य प्रतिष्ठान यतिबेला विवादको भुंग्रोमा परेको छ।
‘अस्पताल विकास समिति अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टले विभागीय प्रमुखहरूसित सल्लाह नै नगरी, आसेपासेलाई नियुक्ति दिन गरेको विज्ञापन गलत छ,’ अस्पतालका एक वरिष्ठ चिकित्सकले भने, ‘यसविरूद्ध हामी अख्तियारसम्म पुगेका छौं।’
अस्पतालको आवश्यकताबिनै कर्मचारी नियुक्ति गर्न लागिएको भन्दै यहाँको कर्मचारी युनियनले विरोध गरेको छ। अस्पतालको भवन पुनः निर्माणका लागि धेरै जसो पुराना भवन भत्काइएकाले बिरामी थेग्ने अवस्था नरहेको अवस्थामा पनि कर्मचारी थप गरेर आफन्त रिझाउने प्रयास हुँदै गरेको अस्पतालकै पुराना कर्मचारीको दाबी छ।
कोशी अस्पतालमा अहिले पनि ज्यालादारीमा तल्लो तहदेखि उपल्लो तहका चिकित्सकसम्म कार्यरत छन्। तर उनीहरूलाई नयाँ नियुक्ति प्रक्रियाबाट वञ्चित गर्न खोजिएको कर्मचारी युनियनको भनाइ छ।
युनियनले अस्पताल प्रशासनलाई नियुक्ति प्रक्रिया तत्काललाई रोक्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएपछि आवश्यकता बेगर चिनजानका मानिसलाई नियुक्ति गर्न खोजिएको विषय सार्वजनिक भएको छ।
सार्वजनिक भएको सूची अनुसार विराटनगर क्षेत्रका राजनीतिक दलका नेताका आफन्तहरू, स्थानीय व्यापारी परिवारका सदस्य तथा अस्पताल विकास समितिमा रहेर काम गरिरहेकाहरूका परिवारको सदस्यको नाम छ।
‘फरक नै पर्दैन, अख्तियार लगायतका निकायले यो नियुक्ति रोकेनन् भने यही सूचीमा भएकाहरूले नियुक्ति पाउनेछन्,’ अस्पतालका एक चिकित्सकले भने, ‘हामी लामो समयदेखि ज्यालादारीमा काम गरिरहेकाहरू फेरि पनि अन्यायमा पर्ने अवस्था आउनेछ।’
कोशी अस्पताल विकास समितिले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक गरी ५० जना कर्मचारी नियुक्तिका लागि आह्वान गरेको सूचना मापदण्ड विपरीत रहेको भन्दै यसलाई सच्याउनुपर्ने माग गर्दै अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. रोशन खड्का नेतृत्वको समूहले ज्ञापनपत्र बुझाएको छ।
‘यहाँ आवश्यकता हैन आर्थिक लाभका लागि कर्मचारी नियुक्त गर्न खोजिएको छ,’ युनियनका एक नेताले भने, ‘अस्पतालको कुन वार्डलाई कस्तो कर्मचारी चाहिएको हो भन्ने सम्बन्धित विभागलाई नै थाहा छैन।’
तीन महिनाको सेवा करार रहने गरी माघ ४ मा जारी गरेको सूचनाले अस्पतालमा कार्यरतहरूको मनोबल गिराएको ज्ञापनपत्रमा जनाइएको छ।
विकास समिति अध्यक्ष डा. फरवार्ड सिलवाल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झालाई १६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएर आवश्यकता बेगर गरिएको नियुक्ति प्रक्रिया रोक्न चेतावनी दिइएको छ।
नियमित कार्यरत करार र ज्यालादारीका चिकित्सक तथा अन्य प्राविधिक कर्मचारीहरूलाई बेवास्ता गरी सूचना प्रकाशित गरिएको भन्दै ज्ञापनमा ध्यानाकर्षण गराइएको छ। यसअघि कार्यरत ज्यालादारीका चिकित्सक तथा अन्य प्राविधिक कर्मचारीहरूलाई उक्त प्रकाशित सूचनाले समेट्न नसक्ने बताउँदै कार्यरतहरूको व्यवस्थापनमा पहल लिन आग्रह पनि गरिएको छ।
अस्पतालबाट प्रकाशित कर्मचारी छनौट सम्बन्धी सूचनामा एकरूपता नदेखिएको जनाउँदै एउटै सूचनामा प्रकाशित पदहरू लिखित र अन्तर्वार्ताबाट पदपूर्ति गर्ने भनिएको र केही पदहरूका लागि अन्तर्वार्ता मात्र गर्ने भनिएकोले संशोधन गर्न माग गरिएको छ। दरवन्दी बिना जथाभावी कर्मचारी नियुक्ति गर्ने परिपाटी रोक्न र सेवा सञ्चालनमा ध्यान दिन आग्रह गरिएको छ।
कर्मचारीका बीचमा विभेद र विभाजन गर्ने काम भइरहेको जनाउँदै युनियनले कोशी अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय मोरङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोधार्थ दिएको छ। अस्पताल विकास समिति अध्यक्ष डा. फरवार्ड सिलवाल भने नेपाल सरकारसँग दरवन्दी स्वीकृति लिएर आवश्कता माग गरिएको बताउँछन्।
आवश्यकताअनुसार नै नियुक्ति प्रक्रिया थालिएको जनाउँदै उनले अख्तियारले सोधेको प्रश्नको जवाफ दिइने बताए।
‘हावादारी रूपमा नियुक्ति प्रक्रिया थालिएको हैन, चालु रहेका भौतिक संरचनामै सेवा थप गर्न स्वास्थकर्मी र चिकित्सक माग गरिएको हो,’ सिलवालले भने, ‘हामीले चलाएका योजना जायज हुन्, हावादारी हैन। सबै विषयको जवाफ हामीसँग छ।’