आगामी शुक्रबारदेखि भरतपुर भ्रमण वर्ष–२०२४ सुरू हुँदैछ।
भरतपुर महानगरपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गर्दैछ। मेयर रेनु दाहालले पर्यटनमार्फत महानगरको दिगो आर्थिक विकासका लागि भ्रमण वर्ष मनाउन लागिएको बताइन्। उनले निजी क्षेत्र तथा संघसंस्थाहरूसँग मिलेर महानगर र आसपासका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गरिने बताइन्।
महानगरले भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थित हुन सबै पूर्वप्रधानमन्त्री तथा देश तथा विदेशका विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा दिएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समारोहमा सहभागी हुने निश्चित भइसकेको छ।
उद्घाटनअघि भरतपुरमा र्याली तथा झाँकी प्रदर्शन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए। नारायणी नदीको किनारमा हुने समारोहमा ५० हजार जनाको उपस्थिति हुने अपेक्षा गरिएको उनले बताए।
महानगरले सन् २०२४ को सुरूमै भ्रमण वर्षको उद्घाटन गर्न खोजेको थियो। तर त्यतिखेर भरतपुरमा बन्दै गरेको ६ लेन सडक अस्तव्यस्त रहेकाले दुई महिनापछि उद्घाटन गर्न लागिएको हो।
६ लेन सडक, नारायणगढ–बुटवल सडक, मुग्लिन–पोखरा सडकको अवस्थालाई मध्यनजर गर्दै उद्घाटन कार्यक्रम स्थगित गरिएको थियो। ६ लेन सडकले अझै पूर्णता पाएको छैन। अन्य सडक पनि सुस्त गतिमा बनिरहेका छन्।
‘भरतपुरको ६ लेन सडकको धेरै काम सकिएर धुलोरहित हुन लागेको छ। अहिले पनि काम धमाधम भइरहेको छ। धुलो भएको ठाउँमा पानी हालेर धुलो नउड्ने बनाउँछौं,’ मेयर दाहालले भनिन्, ‘अन्य सबै तयारीहरू सकिएका छन्।’
महानगरभित्रका मेघौली, पटिहानी, ज्ञानेश्वर, बिसहजारी ताल, देवघाटधाम, नारायणी नदीको किनार, चौकी डाँडाका साथै जिल्लाका अन्य पर्यटकीय गन्तव्य, नवलपुरको गैंडाकोट र देवघाट गाउँपालिकाका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नेगरी समन्वय गरिएको मेयर दाहालले बताइन्।
‘पर्यापर्यटन, धार्मिक तथा साँस्कृतिक पर्यटनमात्रै नभएर शिक्षा, स्वास्थ्य, विकास, सहकारी लगायतका क्षेत्रलाई पनि पर्यटनसँग जोडेर प्रवर्द्धन गर्दैछौं,’ उनले भनिन्, ‘आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न निजी क्षेत्रसँग मिलेर विभिन्न गतिविधि तथा प्याकेज तयार पारेका छौं।’
उनले पर्यटन प्रवर्द्धनको पनि उद्देश्य राखेर माडी नगरपालिकासँग भगिनी सम्बन्ध गाँसेको बताइन्।
माडीका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र, रत्ननगरको सौराहा, इच्छाकामनाको उपदरदाङगढी, गैंडाकोटको मौलाकालिका, देवघाट क्षेत्रलाई पनि प्याकेजमा राखेर प्रवर्द्धन गरिने उनले बताइन्।
उनले भ्रमण वर्षलाई नै मध्यनजर गरेर दियालो बंगला सर्वसाधारणका लागि खुला गर्न लागिएको बताइन्।
दियालो बंगलाको स्तरोन्नति गर्न टेण्डर आह्वान भइसकेकाले आगामी वैशाख महिनाबाट सर्वसाधारणका लागि खुला गर्नेगरी काम अघि बढ्ने उनले बताइन्।
भ्रमण वर्षलाई मध्यनजर गरेर भरतपुर–१३ मा वन्यजन्तु उद्धार केन्द्र बनिरहेको छ। यहाँ उद्धार गरिएका संकटग्रस्त बाघलाई राखेर पर्यटकलाई देखाउने महानगरको प्रयास छ।
मेयर दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि केही दिनमै टेण्डर आह्वान भएर काम सुरू हुने बताइन्। बन्दै गरेको रंगशाला, नारायणी नदीमा चल्ने क्रुजसीप, चौकी डाँडाबाट हुने प्याराग्लाइडिङ, मौलाकालिका केबलकारले पर्यटकलाई आकर्षित गर्ने उनको दाबी छ।
‘साथै भ्रमण वर्षमा महानगरभित्र पर्ने पटिहानी र मेघौलीबाट चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छौं,’ दाहालले भनिन्।
सन् २०२४ भित्रमा २ लाख विदेशी र ५ लाख आन्तरिक पर्यटकले भरतपुर भ्रमण गर्ने लक्ष्य महानगरको छ।
महानगरभित्र दैनिक ७ हजार ५०० र समग्र चितवन तथा गैंडाकोट नगरपालिकामा गरेर दैनिक १५ हजार जना पर्यटकलाई राख्नसक्ने क्षमताका होटलहरू छन्। ती होटलहरूसँग समन्वय गरेर पर्यटकका लागि छुट तथा प्याकेजका कार्यक्रमहरू ल्याउने महानगरका पर्यटन विज्ञ डा.विश्व सुवेदीले बताए।
महानगरले गैरआवासीय नेपाली संघ एनआरएनएसँग समन्वय गरेर ११८ देशमा बसोबास गर्ने नेपालीहरूलाई भरतपुर घुम्न आह्वान गरेको उनले बताए।
उपमेयर चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षले समग्र देशकै अर्थतन्त्रलाई चलायमान गर्न सघाउने दाबी गरे।
‘जताततै आर्थिक मन्दी छ। भ्रमण वर्षले व्यवसायीमा उत्साह थप्नेछ,’ उनले भने, ‘यो कार्यक्रमले आर्थिक सम्भावनाको खोजी गर्नेछ। लगानीका लागि प्रोत्साहन गर्नेछ।’
भरतपुर भ्रमण वर्षलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्नेछ। भ्रमण वर्षको अवधिमा गर्ने भनेर ५१ वटा कार्यक्रमहरू तय भएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए।