तपस्वीको भेषमा हत्या, हिंसा, बलात्कार लगायत अपराध गरेको आरोप लागेका रामबहादुर बमजन पक्राउ परेको दुई महिनाभन्दा बढी भइसक्यो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीमाथि छानबिन गरिरहेको छ।
सिआइबीले बमजनसँगै उनको घरबाट ३० करोड रूपैयाँ बराबरका नेपाली र विदेशी मुद्रा, ३५ वटा मोबाइल र १५ वटा ल्यापटप बरामद गरेको थियो।
हामीले बमजनको अनुसन्धानसँग जोडिएका विषयमा सिआइबीका डिएसपी धर्मराज भण्डारीलाई मंगलबार ५ प्रश्न सोधेका छौं —
अहिलेसम्मको अनुसन्धानबाट सिआइबीले उक्त रकमको स्रोत फेला पार्यो कि पारेन?
भण्डारी: बमजनको घरबाट बरामद रकमको स्रोत खुलेको छैन। उनी अपराधिक क्रियाकलापमा संलग्न रहेको देखिएकाले सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा फाइल पठाइएको छ।
बमजनले आफूलाई बुद्धको अवतार, भगवान र निश्चित सम्प्रदायको गुरू भन्दै धेरैलाई गलत प्रभाव पारेर पैसा असुलेको स्थापित हुन्छ। दान नै लिएको भए पनि कसले कहाँबाट कति दान दियो, कुन दिन कति रकम प्राप्त भयो भन्ने विवरण भेटिएन। यसले पनि उनीसँगको सम्पत्ति अवैध हो भन्ने पुष्टि हुन्छ। थप अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्ने छ।
बमजनको घरबाट बरामद भएका मोबाइल, ल्यापटप लगायत सामानमा केही प्रमाण भेटिए कि भेटिएनन्?
ती सामान हामीले लामो समय लगाएर जाँच गर्यौं, तर केही खास ठोस प्रमाण फेला परेनन्।
त्यसो भए दुई महिनामा उनका बारेमा सिआइबीले के के तथ्य-प्रमाण जुटायो त?
सिआइबीले सम्पत्ति शुद्धीकरण विभागमा फाइल पठाएपछि अहिले बमजनका निकट व्यक्तिको विवरण संकलन गर्ने काम भइरहेको छ। साक्षीहरू को को हुन सक्छन् भन्ने विश्लेषण भइरहेको छ।
नुवाकोट, सिन्धुपाल्चोक र बारा प्रहरी कार्यालयमा बमजनविरूद्ध व्यक्ति बेपत्ता र हत्याका मुद्दा परेका छन्। सिआइबीको काम ती सबै कार्यालयलाई प्रमाण जुटाउन सहयोग गर्ने हो। हामी अहिले साक्षीहरू खोज्ने काम गरिरहेका छौं। बमजनले गरेका घटनामा संलग्न र साक्षीहरूको खोजी भइरहेको छ।
बमजनमाथि मानिस बेपत्ता पारेको र हत्यासमेत गरेको आरोप छ, त्यसमा तथ्य र प्रमाण फेला परेका छन् कि छैनन्?
सिआइबीले फिल्डमै गएर प्रमाण खोजेको छैन। बरू त्यसैको तयारीका लागि विभिन्न व्यक्तिको विवरण संकलन गरेको छ। हामीले विभिन्न मानिसलाई बोलाएर बयान लिन थालेपछि ती प्रमाण भेटिँदै जान्छन् भन्ने छ। हामी फिल्डमा जाने तयारीमा पनि छौं। यिनै तयारीका कारण बमजनसँग सिआइबीले अहिले बयान लिने काम गरेको छैन।
बमजन अहिले कहाँ छन् त?
बमजनलाई अहिले महोत्तरी कारागारमा राखिएको छ। गंगामायालाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। उनले उच्च अदालत जनकपुरमा जिल्लाको आदेश बदर गर्न माग गर्दै निवेदन पनि दिएका छन्।
***
कुनै समय बाराको घना जंगलबीच तपस्या गरेको भनेर चर्चा कमाएका र संसारभर 'लिटिल बुद्ध' का नामले चिनिएका रामबहादुर बमजन पुस २४ गते पक्राउ परेका थिए।
धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बमजन आफूलाई भगवान भनेर चिनाउँथे। चार वर्षको खोजीपछि सिआइबीले उनलाई बुढानीलकण्ठ, हात्तीगौंडास्थित एउटा घरबाट पक्राउ गरेको हो।
आफूमाथि लागेको बलात्कार आरोपमा उनले इन्कारी बयान दिएका थिए। सिआइबीले पक्राउ गरिसकेपछि प्रारम्भिक बयान लिएको थियो। त्यो बेला पनि बमजन खासै बोलेका थिएनन्।
यो पनि: