वैदेशिक रोजगारीका लागि युएई पुगेका दुई नेपाली सारजाह जेलमा आजीवन काराबासको सजाय काटिरहेका छन्।
रोजगारीका लागि युएई पुगेका धादिङ नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ का पहलमान थापामागर र ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका–३ का भुवन श्रेष्ठ कर्तव्य ज्यान मुद्दामा पाँच वर्षदेखि युएईको सारजाह केन्द्रीय कारागारमा छन्।
पाँच वर्षभित्रै ब्लडमनी बुझाउने हो भने उनीहरू छुट्न पाउँछन्।
त्यो अवधि साँघुरिँदै गएकाले उनीहरू यतिबेला बिलखबन्दको अवस्थामा छन्।
ब्लडमनी जुटाउन भगीरथ प्रयत्न गरेका उनीहरूले उक्त पैसा जुटाएका छन्। घर–दैलो गर्दै, संघ–संस्था गुहार्दै र विदेशमा बस्ने मनकारीहरूले हात फुकाइदिँदा ब्लडमनी बापतको रुपैयाँ त जुट्यो, यतिबेला उनीहरूलाई ब्लडमनी कसरी बुझाउने भनेर नै समस्या परिरहेको छ।
पहलमान र भुवनलाई सारजाह उच्च अदालतले पाँच वर्षभित्र ब्लडमनी बुझाए स्वदेश फर्कन पाइने बताएकाले पनि ब्लडमनी बुझाउन भ्याइन्छ कि भनेर उनीहरूमा झिनो आशा छ।
ब्लडमनी बुझाउने समयसीमा वैशाख दोस्रो सातासम्म मात्रै हो। त्यतिञ्जेलभित्रमा उनीहरूले ब्लडमनीबापत जनही ५० लाख नेपाली रुपैयाँ बुझाए स्वदेश फर्कन पाउनेछन्। नभए उनीहरू सदाका लागि जेलमा धकेलिनेछ। पारिवारिक दायित्व पनि जेलभित्रै कैद हुनेछ। केवल मृत्युको प्रतीक्षा मात्रै जीवित रहनेछ।
उनीहरू कसरी जेलमा परेका थिए भन्नेबारे हामीले परिवारलाई सोधेका छौं।
धादिङ नेत्रावती डवजोङ गाउँपालिका–४ का २७ वर्षीय पहलमान थापामागर ७ वर्षअघि युएई पुगेका थिए। गाउँकै स्कुलमा कक्षा ९ मा पढ्दापढ्दै घरको जिम्मेवारी उठाउन पहलमान युएई पुगेको उनकी आमा पदमकुमारी मगरले बताइन्।
पहलमान पदमकुमारीको कान्छो छोरा हुन्।
२० वर्षकै उमेरमा घरको जिम्मेवारी उठाउन विदेश पसेका पहलमानले पैसा पठाइरहेका थिए। उनले पठाएको पैसाले घर–परिवार उज्यालो भएको थियो। चुह्लो बलेको थियो।
‘दुई वर्ष पूरा भएकाले घर फर्किने तयारी गर्दै थियो,’ उनले भनिन्, ‘साथीलाई बचाउन खोज्दा खै कसरी हो जेल पो परेछ!’
पदमकुमारी छोराले साथीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको र मृतकलाई छोएकाले उनको श्रीमतीले हत्याको आरोप लगाइन्। त्यही अभियोगमा आफू जेल पुगेको आमालाई बताएका थिए।
पदमकुमारीले पाँच वर्षमा ५/६ पटक मात्र छोरासँग कुरा गरेकी छन्। जहिले फोनमा कुरा गर्दा पनि छोराले घरको नियास्रो मानेको र आफू निरपराध रहेको बताउने गरेको उनले सुनाइन्।
पदमकुमारी ६० वर्ष पुग्न लागिसकिन्।
अन्तिमपल्ट छोराको मुख हेरेर मात्र मर्न पाए हुन्थ्यो भन्ने पीर लागिरहने उनले बताइन्। उनले दुई तीन साताअघि लामो समयपछि छोरासँग कुरा गरेकी थिइन्।
त्यतिबेला पहलमानले भनेका थिए, ‘आमा पाँच वर्ष पुग्न लाग्यो, त्यसपछि ब्लडमनी तिरे पनि निस्किन पाइँदैन रे!’
यति भनेर छोरा निकैबेर भक्कानिए।
त्यसयता भने पदमकुमारीलाई निद्रा परेको छैन। बेचैन छिन्। उनी छोरा छिट्टै फर्कन पाओस् भनेर सहयोगका लागि आफन्त, साथीभाइकहाँ गइराख्छिन्। उनीहरूले पनि सकेको सहयोग गरेको उनले बताइन्।
पाँच वर्षको दौडधुपमा रकम संकलन भएको र पीडितलाई बुझाउन बाँकी रहेको उनको भनाइ छ।
‘मृतककी श्रीमती वैदेशिक रोजगारीका लागि विदेश गएकाले कानुनी प्रक्रिया अगाडि बढ्न नसकेको हो,’ उनले भनिन्।
पहलमानका मामा तेजबहादुर मगरका अनुसार उनलाई साथीकै हत्या आरोपमा जेल सजाय सुनाइएको हो। उनीहरूलाई नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–११ का बाबुराम आलेमगरको हत्या अभियोग लागेको छ।
सन् २०१९ जुन ३ तारिख अर्थात् २०७६ जेठ २० गते का दिन एउटै कोठामा बस्ने नवलपरासीका आलेमगर बेहोस बनेका थिए। उनलाई बचाउन अस्पताल लैजाँदै गर्दा आफूलाई प्रहरीले नियन्त्रणमा लिएको पहलमानले बताउँदै आएका छन्।
धादिङका पहलमान मगर, ओखलढुंगाका भुवन श्रेष्ठ र नवलपुर मध्यविन्दुका बाबुराम आलेमगरसँगै बस्थे। त्यसैले बेहोसी हालतमा अस्पताल पुर्याउन खोज्दा मृत्यु भइसकेकाले नियन्त्रणमा लिएको जानकारी पहलमानले गराएका छन्।
'मृत्यु भएको मानिसलाई छुनु हुँदैन रहेछ मामा, गल्ती भयो भन्दैथियो। बाँकी उसैले जानोस्,’ तेजबहादुरले सेतोपाटीसँग भने।
बाबुरामकी श्रीमती नरिमा आलेमगर पनि त्यतिबेला दुबईमै बस्थिन्। उनले दिएको जाहेरीको आधारमा पहलमान र भुवनलाई सारजाह अदालतले फैसला सुनाएको हो। मृतक र आरोपित दुवै पक्ष नेपाली भएकाले मृतक परिवारले मागे जति ब्लडमनी तिरे स्वदेश फर्कन मिल्ने व्यवस्था छ।
त्यही अनुसार, थापामगर र श्रेष्ठ परिवारले मृतक आलेमगर परिवारलाई ५०/५० लाख (९३ लाख दिराम) दिने र मृतक परिवारले मुद्दा फिर्ता लिने लिखित सम्झौता भएको छ।
‘पैसा बुझाउन सकेको भए पहलमान ५ वर्षअगाडि नै निस्किन पाउँथे,’ मामा तेजबहादुरले भने, ‘आर्थिक अवस्था न्यून भएकाले पैसा जुटाउन नै पाँच वर्ष लाग्यो।’
सरकारले ब्लडमनी तिरेर ल्याइदिन्छ कि भनेर सुरूआती दिनमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभाग, परराष्ट्र मन्त्रालय हुँदै विभिन्न नेताको घरदैलो चहारेको उनले सुनाए।
कतैबाट पनि सहयोग नपाएपछि घर–जग्गा बेच्नेदेखि आफन्त, साथीभाइसँग सरसापटी मागेको मामा तेजबहादुरले सुनाए।
त्यतिगर्दा पनि १० लाख पनि पुर्याउन नसकेपछि उनीहरूले अभियान नै चलाएका हुन्। घरदैलो र विद्यालय समेतबाट आर्थिक सहयोग जुटाएका थिए। यसरी सहयोग संकलन गर्न सहज भने थिएन। कतिपयले त पीडा नबुझेर गाली गर्ने, अपराध गरेर बसेको त हो नि भन्दै थप पीडा दिने काम गरेको उनले बताए।
पाँच वर्षमा मृतकको परिवारलाई दिने रकम त जुट्यो। तर श्रीमानको मृत्युपश्चात् स्वदेश फर्किएकी मृतकी श्रीमती वैदेशिक रोजगारीका लागि फेरि अर्कै देश गएकी छन्। उनीसँग सम्पर्क भइरहे पनि स्वदेश नफर्किएकाले उनीहरू छुट्ने प्रक्रिया अगाडि बढ्न नसकेको तेजबहादुरले बताए।
‘मृतककी श्रीमतीले पैसा लिएको कागजात सारजाहको उच्च अदालतमा पेश गरेपछि मात्र उनीहरू रिहा हुने प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘उनलाई पैसा तिरेको कागजात जतिसक्दो छिटो सरकारलाई दिन पाए हुन्थ्यो।’
पहलमानका परिवार अहिले मृतककी श्रीमतीलाई पर्खिरहेका छन्। उनी आउनेबित्तिकै कागजात सरकारलाई बुझाउनका लागि स्थानीय तहले पनि साथसहयोग गरिरहेका छन्।
नेत्रावती डबजोङ गाउँपालिका–४ का सचिव निर्मला चौधरीका अनुसार वडाले रकम संकलनदेखि सरकारलाई प्रक्रिया अगाडि बढाइदिन समेत आग्रह गर्दै आएको छ। वडाका जनप्रतिनिधि तथा कर्मचारीहरूले १ लाख १९ हजार रूपैयाँ संकलन गरेर दिएको छ। साथै आर्थिक सहयोगका लागि सम्बन्धित निकायलाई समेत पत्राचार गरेको उनले बताए।
‘रकम संकलन भइसकेकाले बाँकी प्रक्रिया अगाडि बढाउन परिवारलाई सहजीकरण गर्दै आएका छौं,’ उनले भने, ‘मृतकको परिवारले पैसा बुझे सरकारले उनीहरूलाई स्वदेश फर्काउने पहल थालनी हुन्थ्यो। पीडितकी श्रीमती विदेश भएकाले ढिलाइ भइरहेको छ।’
तेजबहादुर र पदमकुमारीलाई मात्र होइन, ओखलढुंगाका खेमबहादुर श्रेष्ठलाई पनि भाइ (भुवन) स्वदेश नफर्किने हो कि भन्ने डरले सताइरहेको छ। दिनहरू छोट्टिँदै जाँदा पीडा लम्बिँदै गएको खेमबहादुर बताउँछन्।
‘दुई हात जोडेर बल्ल–बल्ल रकम संकलन गर्यौं, अब निस्किनै नपाउने हो कि भन्ने डर भइसक्यो,’ खेमबहादुरले भने, ‘मृतककी श्रीमतीलाई म्यासेज गरिरहेका छौं, तर हेरेकी छैनन्।’
उनको परिवारको पनि आर्थिक अवस्था सामान्य भएकाले भुवनलाई स्वदेश फर्काउन अभियान नै चलाइएको थियो। सामाजिक सञ्जालदेखि विभिन्न सञ्चार माध्यममा गरिएको प्रचार–प्रसारले गर्दा रकम जुट्यो। तर बाँकी प्रक्रिया अगाडि बढ्न सकेको छैन।
‘घर–दैलो कार्यक्रमदेखि विभिन्न कार्यालय धायौं,’ उनले भने, ‘अहिले पनि धाउन छाडेका छैनौं।’
उनी पनि आफ्नो भाइलाई छिटोभन्दा छिटो स्वदेश फर्काउन चाहन्छन्। उनको दुई/चार महिनामा एकपटक भाइसँग कुरा हुन्छ।
त्यतिबेला उनले फोनमा भन्ने गरेका छन्, ‘जतिसक्दो छिटो स्वदेश फर्काउनू, यहाँ मर्न चाहदिनँ!’
युएई अदालतले फाँसीको सजाय तोक्ने हो कि भनेर उनीहरूको मनमा डरको ज्वाला पसेको छ।
जेलमा बस्नेहरूले पाँच वर्षभित्र पनि रकम तिरेर ननिस्किए फाँसी हुने डर देखाउने गरेको भुवनले फोनमा भन्ने गरेका छन्।
भुवन र पहलमान सात वर्षअघि सँगै विदेशिएका थिए। उनीहरू बाबुरामसँगै बस्दै आएका थिए।
दुई वर्ष पुग्न लाग्दा दुवै जना सँगै फर्किने तयारी गर्दै थिए। त्यही बेला बाबुरामको हत्या आरोपमा जेल परेको खेमबहादुरले सेतोपाटीलाई जानकारी दिए।
उनीहरूलाई स्वदेश फर्काउन ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले पनि सहयोग गरिरहेको छ।
गाउँपालिका अध्यक्ष निशान्त शर्माले युएई सरकारसँग आवश्यक समन्वयन गरी उद्धार गरिदिन पटक–पटक परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै आएको बताउँछन्।
‘उनीहरूलाई स्वदेश फर्काउनका स्थानीय तहले पहल गरेर हुँदैन। त्यसैले सम्बन्धित निकायलाई झकझकाउने काम गरिरहेका छौं,’ उनले भने, ‘आर्थिक सहयोग पनि गरेका छौं।’
कति रकम सहयोग गरेको भन्नेबारे चाहिँ उनले खुलाएनन्।
पहलमान र भुवनलाई ब्लडमनी तिरेर स्वदेश फर्काउन पहल गरिदिन युएईस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको वैदेशिक रोजगार बोर्ड सचिवालयका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राई उनीहरूले सारजाहको अदालतमा सम्झौता गरेअनुसार ब्लडमनी तिरेको कागजात बुझाएमा जेल परेकाहरू डिपोर्ट हुने प्रक्रिया अगाडि बढ्ने बताउँछन्।
तर उनीहरू अहिले ब्लडमनी तिरेको कागजात बुझाउन नआएको प्रवक्ता राईको भनाइ छ।
‘कागजात बुझाएमा युएईमा भएको नेपाली दूतावास जानकारी गराउनासाथ प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘उहाँहरूले रकम संकलन गरिसकेको भए छिटो बुझाएर प्रक्रिया अगाडि बढाउन आग्रह गर्दछु।’
मृतककी श्रीमतीलाई ब्लडमनी तिरेको प्रमाणपत्र भएसँगै उनीहरू छुट्ने प्रक्रिया अगाडि बढिहाल्ने उनको भनाइ छ।
उनीहरूलाई स्वदेश फर्काउने पहल थाल्न सांसदहरूले संघीय संसदमा पनि आवाज उठाइरहेका छन्।
राप्रपा सांसद बुद्धिमान तामाङ, कांग्रेस सांसद रामनाथ अधिकारीलगायतले प्रतिनिधि सभा बैठकमा बोल्दै उनीहरूलाई स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका थिए।