फागुन १७ गते २६ वर्षीय श्याम तेलीलाई दिउँसै पनि अन्धकार भएझैं लाग्यो। उनले आफ्ना हातबाहेक अरू कुनै दृश्य देखेका नै थिएनन्। अप्रेसन रूममा लैजाँदै गर्दा आफ्ना दुई हात नियाली मात्र रहे।
उनले आफ्ना दुवै हातका औंलाहरू चलाउन प्रयास गर्थे तर चल्दैन थिए। तेलीलाई आफ्नो हात पूर्णरूपमा सग्लो देख्न पाउने अन्तिम दिन यही मात्र हो जस्तो लागिरह्यो। संभवतः त्यही भएर हो अप्रेशन कक्षमा लैजाँदै गर्दा उनी अर्धबेहोस जस्तै भए।
‘अप्रेसन कक्षभित्र बेहोस बनाइनु भन्दा अघिसम्म हात चलिहाले काट्नुपर्दैन भन्ने लागिरहेको थियो,’ श्यामले सुनाए, ‘आफूलाई लागेको र चाहेको जस्तो नहुने रहेछ।’
तीन/चार घन्टापछि होसमा आउँदा उनको कुहिनेभन्दा तलको भाग काटिएको थियो। त्यसपछि श्यामले आफ्ना हात नियालेर हेरेका छैनन्।
उनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
हात जोगाउन सकिन्छ कि भनेर नौ दिनसम्म निगरानी र विभिन्न उपचार भयो, तर अन्तिममा ज्यानै जाने खतरा देखेपछि चिकित्सकले हात काट्नु पर्ने निष्कर्ष निकाले उनले सुनाए।
यही एउटा घटनाले उनको जिन्दगी बदलियो।
फागुन ८ गते,उनलाई त्यो दिन के भयो कसरी भयो प्रष्ट याद छ।
उनले घटनाक्रम बिस्तारै सुनाए।
उनी सधैझैं १० बजेतिर खाना खाएर कामका लागि निस्किएका थिए। उनी अघिल्लो दिनदेखि छिमेकीको घरमा रेलिङको काम गर्दै आएका थिए।
तेली रूपन्देही ओमसतिया गाउँपालिका–६ का हुन्।
उनका अनुसार छिमेकीले फलामको रड चोरिने डरले घरको छतमा राखेका रहेछन्। घर एक तले थियो। आफैं रड निकाल्न उनी छतमा पुगे। त्यहाँ पुगेर पहिलो रड निकाल्न खोज्दै थिए। एक्कासि करेन्टले झट्का हान्यो।
घर अगाडि साघुँरो सडक छ। सडक छेउमा पोल गाडिएको छ। पोलमा ३३ हजार भोल्टको करेन्टको तार टाँगिएको छ।
रडले तारमा छोयो कि छोएन उनलाई हेक्का छैन। करेन्टले झट्का हानेको मात्र याद छ।
‘एक्कासी करेन्ट लाग्यो, रड पग्लिएर बीच भाग बाँचियो अनि छतबाट भुइँमा फालिदियो,’ उनले भने, ‘रड पग्लिएर नभाँचिएको भए म बाँच्ने थिइनँ।’
उनलाई छतबाट खसेको अलिअलि याद छ।
भुइँमा बजारिँदा उनको टाउको र नाकमा चोट लाग्यो। मानिसहरू तुरून्तै जम्मा भए। बेसार र दूधको खोजीमा लागे।
आफन्तहरूले दूधमा बेसार घोलेर खुवाएको अलिअलि सम्झना छ।
उनको गाउँघरतिर करेन्ट लाग्दा दूध– बेसार खुवाउँछन्।
त्यसपश्चात् आफूलाई एम्बुलेन्समा राखेर लगेको पनि उनलाई थाहा छ।
त्यतिबेला उनलाई शरीर अत्यन्त पोलेको थियो। बेहोसीमै उनले बर्बराइरहेका थिए। त्यस्तो अवस्थामा पनि उनी आफूलाई बचाउन आग्रह गरिरहन्थे।
उनलाई त त्यो कुराको खासै सम्झना छैन। तर आफन्तले उनलाई पछि सुनाएका थिए।
करेन्ट लागेको केही समयमै हातका औंलादेखि नाडीसम्मको भाग पूरो कालो भइसकेको थियो।
उनलाई सुरूमा भैरहवा मेडिकल कलेजमा उपरारार्थ पुर्याइयो। त्यहाँ २४ घन्टा राखियो। हातको शल्यक्रिया भयो। रक्तचाप बढेको थियो। त्यसलाई नियन्त्रण गर्न हात चिर्नुपरेको उनको भनाइ छ।
उनको अवस्था देखेर चिकित्सकहरू पनि अलमलमा परेका थिए। जलेका बिरामीको उपचारका लागि कीर्तिपुर अस्पताल राम्रो हुन्छ भन्ने चिकित्सकै मुखबाट सुनेपछि उनले आमा अनिता तेलीलाई त्यहीँ लैजान भने।
फागुन ९ गते साँझ एम्बुलेन्समार्फत् उनलाई काठमाडौं ल्याइएको हो।
कीर्तिपुर अस्पतालले पनि उनलाई एकसातासम्म निगरानीमा राख्यो। अनेक जाँचपड्ताल गर्यो।
नाडीको भित्री भागसम्मै कालो भइसकेको थियो। संक्रमण फैलने र त्यसले ज्यानैसमेत जोखिममा पार्ने हुनाले हात काट्नुपरेको उनले बताए।
‘हात काट्नुपर्छ भन्दा डर लाग्यो। नकाटे शरीरभरि संक्रमण फैलिने र मृत्यु पनि हुनुसक्ने भनेपछि राजी भएँ,’ उनले भने, ‘हात नभए पनि बाँच्न सकिन्छ भनेर चिकित्सकले काउन्सिलिङ गरे।’
फागुन १७ गते पहिलोपटक नाडीसम्मको भाग काटिएको थियो। फागुन २६ गते पुन दोस्रो पटक अप्रेसन गरेर कुहिनाभन्दा मुनीसम्मै काट्नुपर्यो। संक्रमण फैलिँदै गएकाले थप भाप पनि काट्नुपरेको उनको भनाइ छ।
एकसातपछि पुनः जाँचपड्ताल हुन्छ। कथम् संक्रमण फैलिएको पाइएमा कुहिनासम्मकै भाग काट्नुपर्ने चिकित्सकले बताइरहेका छन्।
थप भाग नै काट्पर्ने गरी उनले मनस्थितिलाई बलियो बनाएका छन्।
‘बाँच्नु परिहाल्यो!,’ उनी फिस्स हाँस्दै भन्छन्।
उनलाई जसरी पनि बाँच्नुपर्छ भन्ने लागिरहेको छ। त्यही हिम्मतले आफू अहिलेसम्म जीवित भएको उनको बुझाइ छ।
शारीरिकरूपमा उनी अहिले हातविहीन बनेका छन्। अपांगताको परिस्थिति आइलागेको छ।
उनले सुनेका छन्– बजारमा कृत्रिम हात पाइन्छ। जसको सहायताले दैनिकी सहज बनाउन सकिन्छ।
त्यसको पहुँचमा कसरी पुग्ने? निरूपाय छन् उनी।
त्यसो त उनलाई चिकित्सले मृत व्यक्तिको हात काटेर जडान गरिएको समेत सुनाएका थिए।
चिकित्सा विज्ञान त्यसको परीक्षणमै रहेकाले अहिले नै राख्न मिल्ने, नमिल्ने यकिन भइसकेको छैन।
यी सबैले उनलाई आशा जगाएको छ।
‘मृतकको हात राख्दा बाँचुञ्जेल औषधि सेवन गर्नुपर्छ। भारतमा गरिएको यो पहिलो परीक्षण हो। जडान सफल हुन्छ कि हुँदैन यसै भन्न सकिँदैन भनेर भन्नुहुन्छ,’ उनले भने।
उनले भारतको बैंगलुरूबाट कम्युटर इन्जिनियरिङमा स्नातक गरेका छन्। उनी डेढ वर्षअघि मात्र अध्ययन सकेर घर फर्किएका थिए।
प्रेमिका सृजना गुप्तासँग विवाह गर्नका लागि घर फर्किएका थिए।
सृजना पनि सोही जिल्लाकी हुन्।
उनीहरूबीच २०७९ फागुन १० गते विवाह भएको थियो।
सृजना पनि बौंगलुरूमा पढाईका अलावा काम पनि गर्छिन्। त्यसैले दुवैजना त्यहीँ फर्किन चाहन्थे।
तर जिन्दगीमा घुम्ती आयो। परिस्थिति फेरियो।
उनका बुबा युवराज तेलीले १० वर्ष साउदीमा कमाएको पैसा र ऋण काढेर २० वर्ष पुरानो पुर्ख्यौली ग्रिल कारखाना चलाउँदै आएका थिए।
उनका बुबाले कारखाना चलाउन थालेको ४ वर्ष भएको थियो। उनका बुबाले श्यामलाई केही समय सघाउन भनेपछि उनी बौंगलोरू फर्किएनन्। सिर्जना भने रोजगारीका लागि गइन्।
श्याम स्नातकोत्तर अध्ययन गर्न चाहन्थे। आइइएलटिएस गरेर छात्रवृत्ति पाए श्रीमानश्रीमती नै अमेरिका जाने योजना बुनेका थिए। त्यसैका लागि काठमाडौं धाइरहेका थिए।
जीवन ठीकठाकै चलिरहेको थियो।
अचानक भदौ १८ गतेको उनको बुबाको मृत्यु भयो।
तत्पश्चात् बुबाले सञ्चालन गर्दै आएको ग्रिल कारखानलाई उनले चटक्क छाड्न सकेनन्।
‘त्यहीँबाट घरखर्च चलेको थियो। अमेरिका अध्ययनका लागि जाने प्रक्रिया पूरा नहुञ्जेल कारखाना चलाउँछु भनेर सोचेँ,’ उनले भने, ‘अप्रिल दोस्रो सातातिर उताबाट कन्फरमेसन आउँथ्यो, अहिले यस्तो भयो। अब के भिसा दिन्थ्यो होला र!’
उनलाई कम्युटर साइन्समा स्नातकोत्तर गर्ने सपना अधुरै हुने होकी भन्ने पीर पनि थपिएको छ।
अमेरिका जान नपाए पनि आफूसँग भएको ज्ञान–क्षमताअनुसार दुई छाक टार्न केही रोजगारी पाए हुन्थ्यो भन्ने आशमा छन्। त्यो भन्दा पहिला उपचारकै लागि कसैले सहयोग गरिदिए हुन्थ्यो भनेर मनकारी हात पनि खोजिरहेका छन्।
फागुन ८ देखि फागुन २९ गतेसम्म निरन्तर उपचार गर्दा चार लाख रूपैयाँभन्दा बढी रूपैयाँ खर्च भइसकेको छ।
त्यो पैसा पनि आफन्त, साथीभाइ, श्रीमतीको माइतीपक्षले सघाएका हुन्।
थप उपचारका लागि ऋण काढ्नुपर्ने अवस्था छ। पारिवारिक अवस्थाले ऋण पनि पत्याइहाल्ने स्थिति छैन।
अहिले उनको पहिलो प्राथमिकता उपचार हो।
‘हातको घाउ निको हुन ६ महिना लाग्छ। त्यसपश्चात मात्र कृत्रिम हात जोड्न मिल्नेरहेछ,’ उनले भने, ‘मनकारीहरूको साथ–सहयोग पाए नयाँ जीवन पाउँथेँ।’
उनी कृत्रिम हात हाल्न पाए नयाँ जीवन पाउने बताउँछन्।
कृत्रिम हातहरूले मूल्य अनुसारको काम गर्दा रहेछन्। १२ थरी काम गर्ने कृत्रिम हातलाई नै १० लाख भन्दा बढी शुल्क पर्ने रहेछ।
मृतकको हात काटेर जोड्न अहिले नै सम्भव छैन। परीक्षणकै क्रममा रहेको त्यो विधि सफल भए पनि उनी त्यसको पहुँचमा पुग्नै नसक्ने बताउँछन्।
त्यसैले उनी कृत्रिम हात जडान गर्नका लागि सहयोगको अपेक्षा गर्छन्।
कृत्रिम हातले कम्युटर चलाउन मिल्ने भएकाले त्यहीअनुसारको काम पाइने उनको विश्वास छ।
अहिले उनको हिम्मत उनकी आमा अनिता तेली र श्रीमती बनेकी छन्।
आइतबार हामी पुग्दा पनि उनकी आमा र श्रीमती श्यामकै समीपमा थिए।
श्यामलाई कृत्रिम हात राख्न मिल्नेदेखि अस्पतालमा आउने अन्य व्यक्तिहरूको दुःख देखाएर पीडा भुलाउने गरेको उनकी आमाले बताइन्।
‘छोरा बाँच्यो मेरो लागि त्यही ठूलो कुरा हो। उपचारका लागि भिख माग्नुपरे पनि माग्छु,’ गहभरि आँसु पार्दै भनिन्, ‘यही एउटा छोरा त हो!’
श्रीमानको निधन भएको ६ महिना नहुँदै छोरामाथि घएको घटनाले उनी विक्षिप्त छिन्।
छोराले कमजोर महसुस गर्छ भनेर उनी श्यामको अगाडि रूँदिनन्।
‘बुढेसकालको एक्लो सहारालाई बचाइदिन सबैसँग हात जोड्छु,’ उनले अन्तिममा भनिन्।
सबै तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी