चितवन राष्ट्रिय निकुञ्जमा पहिलो पटक एकसिंगे गैंडाको आन्तरिक स्थानान्तरण गरिँदैछ। निकुञ्जको पश्चिम क्षेत्रमा रहेका गैंडाहरूलाई पूर्वतिर सार्न लागिएको हो।
सन् २०२१ मा भएको गणनामा निकुञ्जमा ६९४ वटा गैंडा भेटिएका थिए। तीमध्ये धेरै पश्चिम क्षेत्रमा थिए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट श्यामकुमार शाहका अनुसार विगतमा चितवन निकुञ्जमा पूर्वी क्षेत्रमा गैंडाको संख्या अत्यधिक थियो। तर बिस्तारै पश्चिम क्षेत्रमा गैंडा बढ्दै गए। गैंडाहरूले पश्चिम क्षेत्रलाई बासस्थान बनाउँदै जाँदा सीमा क्षेत्र हुँदै भारत प्रवेश गर्ने गरेको पनि पाइएको छ। नारायणी नदीको बाढीमा बगेर भारत पुगेका केही गैंडालाई नेपालले फर्काएर पनि ल्याएको थियो।
'नारायणीको बाढीमा बगेर गैंडाहरू भारत पुग्ने गरेका छन्। यो एउटा समस्या हो। सबभन्दा ठूलो भनेको प्रजाति कुनै एक क्षेत्रमा मात्रै सीमित हुँदा संख्या अपेक्षाकृत रूपमा बढ्न नसक्नु हो,' शाहले भने, 'सबै क्षेत्रमा गैंडाको उपस्थिति समान बनाउन सकियो भने संख्या पनि बढ्छ भन्ने आकलन गरेका छौं।'
विभागका उपमहानिर्देशक वेदकुमार ढकालले कार्यदलको सुझावअनुसार गैंडाको आन्तरिक स्थानान्तरण सुरू गर्न लागेको जानकारी दिए।
उनले पश्चिमका बस्ती क्षेत्रमा निस्किएर क्षति पुर्याएका र बस्तीमा पुग्दा आफैंलाई क्षति हुनसक्ने खतरामा भएका गैंडालाई पूर्वको कोर क्षेत्रमा सार्न खोजिएको बताए।
'फरक समयमा बनेका फरक कार्यदलहरूले आन्तरिक स्थानान्तरण गर्दा उचित हुन्छ भन्ने रिपोर्ट दिएकाले वन मन्त्रालयले नै निर्णय गरेको छ,' उपमहानिर्देशक ढकालले भने, 'तल्लो क्षेत्रमा गैंडा एकीकृत भएकाले बगेर भारत जाने सम्भावना बढी भएको, धेरै संख्यामा हुँदा प्रतिस्पर्धा बढी भएको निष्कर्ष रिपोर्टहरूमा थियो। त्यसैको आधारमा स्थानान्तरण प्रयास भएको हो। यो नियमित रूपमा चल्छ।'
गर्मी सुरू भएपछि काम गर्न असहज हुने भएकाले त्यसअघि नै केही गैंडा सार्ने गरी काम सुरू भएको उनले बताए।
दुर्लभ एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ। चितवन निकुञ्जले हालसम्म १०२ वटा गैंडा देशका विभिन्न ठाउँमा सारेको छ। विभिन्न नौ देशलाई २६ वटा गैंडा उपहार स्वरूप पठाएको छ। तर निकुञ्जभित्रै आन्तरिक स्थानान्तरण भने पहिलो पटक हुन लागेको हो।
निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विभागको योजनाअनुसार पहिलो चरणमा पश्चिम क्षेत्रका विभिन्न स्थानबाट ६ वटा गैंडा पूर्वी क्षेत्रमा सार्न लागिएको बताए।
'पहिलो चरणमा निकुञ्जबाट बस्तीतिर गएर दुःख दिने गरेका गैंडालाई कोर क्षेत्रमा स्थानान्तरण गर्ने तयारी छ,' उनले भने, 'नवलपरासी क्षेत्रका गैंडा स्थानान्तरणका लागि आवश्यक काम सुरू भइसकेको छ।'
मुख्य कार्यालय कसरालाई मध्य भाग मानेर निकुञ्जको पूर्व–पश्चिम क्षेत्र निर्धारण गरिएको छ। पछिल्लो गणनामा पश्चिम क्षेत्रको सुरूआती क्षेत्र कसरादेखि कलम तालसम्ममात्रै १५४ वटा गैंडा भेटिएका थिए। कमल तालदेखि राप्ती र रिउ खोलाको दोभानसम्म ४५ वटा भेटिएका थिए।
टाइगरटप्स, मेघौली क्षेत्र, नवलपरासीको अमलटारी–लौखानी, मयुरटिका–लौखानी, बेलौची, त्रिवेणी, खान्चा, मान्चा, गिद्धेनी–लौखानी, कावासोती वन क्षेत्रमा धेरै गैंडा देखिएका थिए।
पूर्वी क्षेत्रको अमृते–भिमपुर, भिमपुर–बहपुर, कुमरोज ब्लगमा गैंडाको संख्या सन्तोषजनक देखिए पनि बहपुर–कसरा ब्लगमा अपेक्षा गरिएभन्दा कम भेटिएका थिए। रमौली–प्रतापपुर, प्रतापपुर–हर्दा, हर्दा–अमृते क्षेत्रमा पनि कम भेटिएका थिए।
'पूर्वी क्षेत्रका गैंडा पश्चिम क्षेत्रमा गएकाले त्यता बासस्थान पर्याप्त भएन, आहाराको कमी भयो, प्रतिस्पर्धा बढ्यो। यसको असर समग्र निकुञ्जको गैंडाको संख्यामा परेको अध्ययनबाट देखियो,' वरिष्ठ इकोलोजिस्ट शाहले भने, 'थोरै गैंडा भएको ठाउँमा धेरै भएको ठाउँबाट स्थानान्तरण गरेर ल्याइयो भने सबैतिरको बासस्थानको अधिकतम उपयोग हुन्छ। संख्या पनि बढ्छ भन्ने अनुमान छ।'
पूर्वका केही क्षेत्र उपयुक्त बासस्थान भए पनि गैंडा देखिनै छाडेको उनले बताए। ती क्षेत्रमा धेरै भएका क्षेत्रबाट आवश्यकताअनुसार गैंडा स्थानान्तरण गरिने उनले बताए।
'कार्यदल र गैंडा संरक्षण कार्ययोजनाले दिएको सुझावअनुसार काम सुरू भएको छ,' शाहले भने, 'हामी फिल्डमा गएर काम सुरू गरिसकेका छौं।'
स्थानान्तरणका लागि गैंडाको रेकी गर्ने क्रम अहिले चलिरहेको छ। स्थानान्तरण गरिने गैंडा निश्चित गरेपछि उसलाई डार्ट गरेर (बेहोस बनाउने औषधि प्रयोग गरेर) नियन्त्रणमा लिइने शाहले बताए।
'काठको खोरमा राखेपछि गैंडालाई एन्टीडोज दिएर होसमा ल्याउँछौं। खोर ट्रकमा राखेर आवश्यक स्थानमा लगेर छाड्छौं,' उनले भने।
विभागका उपमहानिर्देशक ढकालले स्थानान्तरण गरेपछि सुरक्षा, सिमसार र घाँसे मैदान व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए। पूर्वी क्षेत्रमा केही महिनाअघि सिकारीले दुइटा गैंडालाई खाल्डोमा पारेर मारेको घटनाले सुरक्षा खतरा देखाएको उनले बताए।
'त्यसैले आन्तरिक व्यवस्थापनसँगै सुरक्षा मजबुत बनाउन र बासस्थान व्यवस्थापन राम्रो गर्न सक्नुपर्छ,' उनले भने।
निकुञ्ज विभागले आन्तरिक स्थानान्तरण सफल भए दिगो संरक्षणमा सहयोग हुने विश्वास लिएको छ।
'त्यसबाट मिलेको शिक्षाअनुसार अन्यत्र पनि योजना बनाउन सकिन्छ,' शाहले भने।