नवलपरासीको कावासोतीस्थित जंगलमा रहेको एक सिंहे गैंडालाई शुक्रबार स्थानान्तरण गरी चितवन निकुञ्जको तमोर तालदेखि पूर्वतर्फ पुर्याइएको छ।
चितवन राष्ट्रिय निकुञ्जका पश्चिम क्षेत्रमा गैंडाको संख्या बढ्दै गएपछि त्यस क्षेत्रका गैंडालाई निकुञ्जको पूर्वी क्षेत्रतिर स्थानान्तरण गर्न थालिएको हो।
वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार शुक्रबारदेखि गैंडाको आन्तरिक स्थानान्तरण सुरू गरिएको चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।
स्थानान्तरण गर्न गैंडालाई डार्ट गरेर (बेहोस बनाउने औषधि प्रयोग गरेर) नियन्त्रणमा लिइएको थियो। काठको खोरमा राखेपछि उसलाई एन्टी डोज दिएर होसमा ल्याइयो। खोरलाई ट्रकमा राखेर तमोर तालदेखि केही पूर्वतर्फ पुर्याई छाडिएको उनले बताए।
३० वर्षको बुढो भाले गैंडालाई कावासोती–२ स्थित नवदुर्गा सामुदायिक वनबाट नियन्त्रणमा लिइएको थियो।
निकुञ्जबाट निस्किएको यो गैंडाले लामो समयदेखि कावासोती, देवचुलीका विभिन्न बस्तीमा पसेर दुःख दिने गरेको थियो। स्थानीयबासीसँग द्वन्द्व बढ्दै गएपछि व्यवस्थापनका लागि उसलाई कोर क्षेत्रमा स्थानान्तरण गरिएको तिवारीले बताए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन निकुञ्ज, नेपाली सेनाको खड्गदल गण, राष्ट्रिय प्रकृति संरक्षण कोषको, जेडएसएल, डब्लुडब्लुएफ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संलग्नतामा गैंडाको आन्तरिक स्थानान्तरणको काम सुरू भएको हो।
एक सिंगे गैंडाको आन्तरिक स्थानान्तरण पहिलो पटक सुरू गरिएको हो।
नेपाल र भारतमा मात्रै पाइने दुर्लभ एक सिंगे गैंडा चितवन निकुञ्जले देशका विभिन्न ठाउँमा १०२ वटा स्थानान्तरण गरेको छ। विभिन्न ९ देशलाई २६ वटा उपहारस्वरूप पठाएको छ। तर निकुञ्जभित्रै आन्तरिक स्थानान्तरण भने गरिएको थिएन।
सन् २०२१ मा भएको गणनामा चितवन निकुञ्जमा ६९४ वटा गैंडा भेटिएका थिए। तीमध्ये ४५३ वटा पश्चिम क्षेत्रमा २४१ वटा पूर्वी क्षेत्रमा रहेको पाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए।
‘दुई क्षेत्रमा रहेका गैंडाहरूको सम्बन्ध लामो समयसम्म नटुटोस्, पूर्वी र पश्चिम क्षेत्रका गैंडाको आनुवांशिक विविधता कायम गर्न पनि सहयोग पुगोस् भनेर आन्तरिक स्थानान्तरण पनि गर्न थालिएको हो,’ उनले भने, ‘जेनेटिक एक्सचेञ्जले गैंडा लोप हुने सम्भावनालाई घटाउँछ भन्ने विश्वास हाम्रो छ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहका अनुसार विगतमा चितवन निकुञ्जमा पूर्वी क्षेत्रमा गैंडाको संख्या अत्यधिक थियो। तर विस्तारै पश्चिम क्षेत्रमा गैंडा बढ्दै गए। गैंडाहरूले पश्चिम क्षेत्रलाई बासस्थान बनाउँदै जाँदा सीमा क्षेत्र हुँदै भारत प्रवेश गर्ने गरेको पनि पाइएको छ। नारायणी नदीको बाढीमा बगेर भारत पुगेका केही गैंडालाई नेपालले फर्काएर पनि ल्याएको थियो।
‘पूर्वी क्षेत्रका गैंडा पश्चिम क्षेत्रमा गएकाले त्यता बासस्थान पर्याप्त भएन, आहाराको कमी भयो, प्रतिस्पर्धा बढ्यो। यसको असर समग्र निकुञ्जको गैंडाको संख्यामा परेको अध्ययनबाट देखियो,’ वरिष्ठ इकोलोजिष्ट शाहले भने, ‘थोरै गैंडा भएको ठाउँमा धेरै भएको ठाउँबाट स्थानान्तरण गरेर ल्याइयो भने सबैतिरको बासस्थानको अधिकतम उपयोग हुन्छ। संख्या पनि बढ्छ भन्ने अनुमान गरिएको छ।’
निकुञ्ज विभागको योजनाअनुसार पहिलो चरणमा पश्चिम क्षेत्रका विभिन्न स्थानबाट ६ वटा गैंडा पूर्वी क्षेत्रमा सार्न लागिएको हो।
स्थानान्तरण गरिने अन्य गैंडाको खोजी भइरहेको संरक्षण अधिकृत तिवारीले बताए।
‘शनिबार स्थानान्तरण गर्नका लागि गैंडाको रेकी गरिरहेका छौं। शुक्रबार व्यवस्थापनका लागिमात्रै स्थानान्तरण गरियो। अब प्रजनन् गर्न योग्य गैंडाको खोजीमा छौं,’ उनले भने।
पहिलो चरणमा ६ वटालाई स्थानान्तरण गरेपछि पनि आन्तरिक स्थानान्तरणलाई नियमित गरिने विभागले जनाएको छ।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले स्थानान्तरण गरेपछि आवश्यक पर्ने सुरक्षाका लागि व्यवस्था मिलाइएको बताए। सुरक्षासँगै सिमसार र घाँसे मैदान व्यवस्थापनमा पनि ध्यान दिइएको उनले बताए।