कुनैबेला धर्तीमा डायनोसरको राज चल्थ्यो। त्यो भीमकाय जनावरको राज चल्ने बेलालाई 'जुरासिक पिरियड' भनिन्छ।
तर, जसै ६ करोड ६० लाख वर्षअघि आकाशबाट एउटा विशाल उल्कापिण्ड पृथ्वीमा खस्यो। वैज्ञानिकहरूका अनुसार त्यसबेला मेक्सिकोको युकातान प्रायद्वीपमा खसेको त्यो उल्कापिण्डले पृथ्वीमा ठूलो अफरातफरी निम्त्याएको थियो।
उल्कापिण्ड खस्नासाथ पृथ्वीको सतहमा आगोका ठूल्ठूला लप्का उठे अनि फैलिए। त्यसले धर्तीका धेरै चीजलाई एकैपटक खरानीमा परिणत गर्यो।
वायुमण्डल धुवाँको मुस्लोले भरियो। विनाशकारी भुइँचालाहरू आए। समुद्रमा हिमालझैं अग्ला पानीका छालहरू लहराए।
त्यो प्रलय पृथ्वीमा राज गरिरहेको भीमकाय जनावरले सहन सकेन। उल्कापिण्डको असरले उसको सारा अस्तित्व नामेट पारिदियो। बाह्र जना वैज्ञानिकले लामो अनुसन्धानपछि 'नेसनल एकेडेमी अफ साइन्सेज' नामक जर्नलमा प्रकाशन गरेको अनुसन्धान प्रतिवेदन अनुसार बाह्र किलोमिटर लामो त्यो उल्कापिण्डले मेक्सिकोको प्राचीन ताल मात्रै होइन, धर्तीका धेरै जीवजन्तु लोप गराएको थियो।
उल्कापिण्डको त्यही प्रभावले त्यतिबेला पृथ्वीमा राज गर्ने भीमकाय जन्तु डायनासोर लोप भयो। महाविनाशकारी त्यस घटनामा अन्य धेरै स्तनधारी र घस्रने जीवजन्तुको पनि विनाश भयो।
पानीको गहिराइमा बस्ने प्राणी मात्र मुश्किलले बाँचेको त्यो बेला पानी र जमिन दुवैमा बस्ने एउटा जन्तु भने जोगियो।
डायनासोर जत्तिकै त्यो पुरानो जीव थियो कछुवा।
जीव वैज्ञानिकहरूका अनुसार यो धर्तीमा कछुवाको अस्तित्व त्यत्ति नै पुरानो छ, जति डायनासोरको छ। २० करोड वर्षभन्दा पहिले डायनासोर र कछुवा सँगसँगैजसो पृथ्वीमा भएको उनीहरू बताउँछन्।
डायनासोरकालीन त्यही घस्रने जीव आज पनि सीमसारको दलदलदेखि समुद्रको छेऊसम्म,घरका एक्वारियमदेखि नदीनालाका किनारासम्म भेट्न सकिन्छ। तर यसको संख्या घट्दै गएको जीवशास्त्रीहरूको छ।
'विभिन्न कारणले कछुवा अहिले पनि जोखिममा छ, यसका कतिपय प्रजातिहरु लोपोन्मुख अवस्थामा पुगेका छन्,' जीव वैज्ञानिक डा. कालुराम खम्बु (केआर खम्बु) ले भने 'डायनासोर जत्तिकै पुरानो यो प्राचीनतम् जीव संरक्षणको चुनौती ठूलो छ।'
लामो समय मेची बहुमुखी क्याम्पसमा विज्ञान विषय पढाएका र त्यसबाहेक सरीसृपहरूको अध्ययनमा सिंगो जीवन लगाएका खम्बु स्वयं यो प्राचीनतम् जीव संरक्षणको चुनौती स्वीकारेर दशक अघि एउटा अग्रसरता लिएका थिए।
जीव विज्ञानका अनुसन्धाताहरूका लागि ठूलो चासो र जिज्ञासाको विषय बन्दै आएको कछुवा संरक्षणका लागि केही संगठित प्रयासहरू भइरहेका थिए। जसमा विश्वभरीका जीव वैज्ञानिकहरूको सहकार्य थियो।
त्यहीबेला खम्बुकै अगुवाइमा झापामा पनि कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना भयो।
प्रारम्भमा केही जीव वैज्ञानिकहरुको लहडको उपज भनेर आलोचना खेपेको यो केन्द्र अहिले जीवशास्त्रीहरुका लागि अध्ययन–अनुसन्धानको भरपर्दो गन्तव्य बन्न पुगेको छ। स्थापनाको १२ वर्ष पूरा हुँदै गर्दा केन्द्रमा कछुवाको संरक्षण मात्रै भइरहेको छैन, जीवशास्त्रका अध्येता र अनुसन्धाताहरूका लागि 'रिसर्च' को थलोसमेत बनेको छ।
झापाको अर्जुनधारा नगरपालिकाको वडा नम्बर ९ मा पर्ने कुनै बेलाको 'बुढो होली क्षेत्र' अहिले सहिद स्मृति उद्यान सालबारीका नामले प्रख्यात छ।
२०२८ को झापा काण्डमा पञ्चायतबाट मारिएका पाँच सहिदहरुको एकै ठाउँ राखिएको शालिक, फराकिलो क्षेत्रमा फैलिएको पोखरी र त्यस वरिपरि बनाइएका आकर्षक संरचनाले यो ठाउँ आन्तरिक पर्यटकहरूको रोजाइमा पर्दै आएको छ।
यहीँभित्रको अर्को मुख्य आकर्षण हो, कछुवा उद्धार तथा संरक्षण केन्द्र।
नेपालमा ख्याती कमाएका जीव वैज्ञानिक केआर खम्बु यतिबेला प्रतिनिधिसभा सदस्य छन्। विद्यार्थीहरूमाझ 'खम्बु सर'का नामले परिचित उनै केआर खम्बुको हुटहुटीको परिणामतः कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना भएको थियो।
कक्षाकोठामा विद्यार्थी पढाउने अनि भ्यागुता र कछुवा खोज्दै जंगल चहारि हिँड्ने खम्बुले एक दिन उत्तरी झापाको जंगल क्षेत्रमा केही कछुवा फेला पारेका थिए।
खम्बुको अनुभवमा पहाडी क्षेत्रमा नयाँ–नयाँ भ्यागुताहरू भेटिन्थे। तराई क्षेत्रमा चाहिँ त्यसैगरी कछुवाहरू भेटिँदै गए।
'झापाकै खुदुनाबारी र हचुमासा वन क्षेत्रमा दुर्लभ प्रजातिका कछुवा भेटियो,' खम्बुले भने 'नजिकै रहेका सानातिना दलदल छेउमा नेपालमा छ भन्ने विश्वास नै नगरिएका प्रजातिका कछुवा भेटिएपछि हामीलाई संरक्षण केन्द्र चाहिन्छ भन्ने लागेको थियो।'
त्यसपछि खम्बु र उनीसँगै अनुसन्धानमा संलग्न उनका विद्यार्थीहरू कछुवा संरक्षणको ठाउँ खोज्न थाले।
'जथाभावी कछुवा छाड्दा मान्छेले मारिदिने, खाइदिने, अन्य जीवजन्तुले नोक्सानी पुर्याउने सम्भावना भएपछि हामीले अर्जुनधाराको बुढो होली सिमसारलाई रोज्यौं। सिमसार क्षेत्र भएकाले त्यो ठाउ कछुवाका लागि पूरापूर प्राकृतिक बासस्थान बन्छ भन्ने हामीलाई लागेको थियो।'
खम्बुले जीवशास्त्रमा गरिरहने खोजमा उनका केही विदेशी मेन्टरहरू थिए। त्यसमध्ये उनले धेरै समय जर्मनीका जीव वैज्ञानिकहरुसँग काम गरेका थिए। उनीहरूसहितको एउटा संस्था जर्मनीमा थियो, जसले उभयचर तथा सरीसृपहरूको संरक्षणको क्षेत्रमा काम गर्थ्यो।
सोही संस्था र झापाको सुखानी सहिद स्मृति प्रतिष्ठानबीच सहकार्यको वातावरण बनाउन खम्बुले पुलको काम गरे। विदेशी वैज्ञानिक संस्था आर्को नेपाल अर्थात उभयचर तथा सरिसृप संरक्षण नेपाल र सहिद स्मृति प्रतिष्ठानको संयुक्त पहलमा सन् २०१२ मा यो केन्द्र स्थापना भयो।
स्थापनाकालदेखि नै प्रमुख लिडपिकरको भूमिकामा रहेका तपिलप्रकाश राईका अनुसार सन् २०१२ देखि सञ्चालनमा आएको केन्द्रको अभिलेख अनुसार हालसम्म केन्द्रले तीन सयभन्दा बढी कछुवाको उद्धार गरिसकेको छ।
अहिले पनि १० फरक प्रजातिका ६० भन्दा बढी कछुवा केन्द्रको प्राकृतिक बासस्थानमा विचरण गरिरहेका छन्।
पानी र जमिन जहाँ पनि बस्न सक्ने कछुवाको उद्धार किन जरुरी छ? आफ्नै बासस्थानमा रमाइरहेको कछुवालाई यही केन्द्रमै किन ल्याउनुपर्ने आवश्यकता भयो?
यसको कारणबारे प्रमुख लिडपिकर राईले कछुवाको सुरक्षा नै मुख्य कारण भएको बताए।
'कछुवालाई उद्धार गर्नु हाम्रो केन्द्रको पहिलो र प्राथमिक काम हो,' मेची क्याम्पसमा वातावरण विज्ञान अध्यापनसमेत गर्ने उनले भने 'कछुवा संरक्षित जनावर हो भन्ने धेरैलाई थाहा नै छैन। त्यसैले कतै देखापरे मारेर खाइदिने, किनबेच गर्नेहरू भेटिन्छ। कछुवालाई त्यसो गर्नु हुँदैन भनेर जोगाउनु हाम्रो प्रमुख लक्ष्य हो।'
उनका अनुसार गाउँघरमा कछुवा भेटिएको सूचना आउने बित्तिकै केन्द्रको टोली त्यो ठाउँमा पुग्छ। तर, कछुवा भेटेका सर्वसाधारणले हतपत्त दिनै मान्दैनन्।
'हामीले भेटेको, हामी नै मारेर खान्छौं भन्नेहरू धेरै भेटेका छौं,' कछुवा संरक्षणमा १२ वर्षको अनुभव संगालेका राईले भने 'त्यस्तो बेलामा हामी वन कार्यालय र प्रहरीको सहायता लिएर कछुवा लिएर आउँछौं। अनि केन्द्रको प्राकृतिक बासस्थानमै छाडिदिन्छौं।'
त्यसबाहेक कछुवालाई कतिपयले घरैमा पालेर राखेकोसमेत भेटिन्छ। एक्वारियममा माछा पाले जसरी कछुवालाई घरपालुवा बनाउने अनुमति कानुनले दिँदैन। सरकारबाट अनुमति लिएर मात्रै पाल्न पाइने व्यवस्था छ।
सरकारबाट अनुमति लिएर सुरू भएको यो केन्द्रले ३ सयभन्दा बढीको उद्धार गरेको तथ्यांक सुनाउँदै राईले भन्छन्, 'संसारमा अहिलेसम्म ३५६ प्रजातिका कछुवा पाइएका छन्। त्यसमध्ये नेपालमा १७ प्रजातिका कछुवा छन्। हामीले अहिलेसम्म ११ प्रजातिको उद्धार र संरक्षण गरेका छौं।'
जानकारहरूका अनुसार नेपालमा यसै पनि कछुवाको संख्या कम छ। कोशी प्रदेशमा कोशी टप्पु वन्यजन्तु क्षेत्र कछुवा सबैभन्दा धेरै पाइने ठाउँ हो।
'कछुवाको हटस्पटभन्दा अलि टाढा भएका कारण पनि केही समस्याहरू हामीलाई छ,' केन्द्रका प्रमुख राईले भने 'तै पनि हामीले सन् २०१९ देखि अति संकाटापन्न प्रजातिका कछुवाको प्रजनन पनि गराएका छौं। त्यसले कछुवाको संख्या बढाएको छ।'
दैनिक चारदेखि पाँच जनासम्म कर्मचारीलाई व्यस्त राख्ने कछुवा संरक्षण केन्द्रमा तिनको खानपिनका लागि पनि अलग्गै खर्च छ। ६० वटा कछुवाको लागि खानेकुरा जोहो गर्न मात्रै मासिक खर्च १५ देखि २० हजार रूपैयाँ लाग्ने केन्द्रको भनाइ छ।
यसरी कर्माचारीदेखि अन्य व्यवस्थापकीय खर्च अनि खानेकुरामासमेत लगानी गरेर कछुवा संरक्षण गरिरहेको केन्द्रका परिकल्पनाकार केआर खम्बुलाई सेतोपाटीले सोधेको थियो, यति धेरै लगानी र दुःख गरेर कछुवा संरक्षणमा लाग्दाको उपलब्धि के हो?
मान्नुस्, कछुवा नै संसारमा थिएन रे, त्यसले मानव जगतलाई के फरक पार्थ्यो?
प्रश्न सुनेपछि मुसुक्क हाँसेका खम्बुले हालसम्म भएका वैज्ञानिक अध्ययनहरू तथा आफ्नै अनुभवसमेतको सहारा लिएर कछुवाको महत्त्व दर्शाउन खोजे।
'कछुवा र डायनोसर सँगैका जन्तु हुन्, २० करोड वर्ष पुराना,' उनले भने 'कछुवा नहुँदा के हुन्थ्यो भन्ने अनुमानको ठ्याक्कै उत्तर मसँग छैन। अनि असर के हुन्थ्यो पनि भन्न सकिँदैन। किनभने, डायनासोर नहुँदा पनि संसार त चलेकै छ। तर, सँगैको डायानासोर लोप हुँदा पनि आफ्नो अस्तित्व जोगाउन सफल रहेको कछुवा आफैंमा रोचक कथा बोकेको जन्तु हो। त्यसैले पनि यसको महत्त्व म चाहिँ उच्च देख्छु।'
खम्बुका अनुसार कछुवा संरक्षणको सबैभन्दा मुख्य फाइदा मानव समाजलाई नै हुन्छ।
'कछुवा बचाउन वा जोगाउन सिमसारहरू पहिलो आवश्यकता हुन्छ,' खम्बुको तर्क छ ‘कछुवा जोगाउनकै लागि भए पनि सिमसारहरू जरूरी भयो। सिमसारहरू बढाउनु भनेको हाम्रो वातावरण संरक्षण गर्नु हो। त्यसैले कछुवा संरक्षणको विषय वातावरण संरक्षणसँग गएर जोडिएको छ।’
विज्ञानमा एउटा सर्वव्यापी मान्यता छ, 'अल सोलुसन अफ पोलसुन इज डाइल्युसन।' अर्थात् सबैखाले प्रदूषणको समाधान डाइल्युट गर्नु हो।
सिमसार पनि प्रकृतिको एउटा मुख्यमध्येको एक डाइल्युटर भएको खम्बुको ठहर छ। उनका अनुसार सिमसार हुनलाई पानी पनि हुनुपर्यो, जमिन पनि हुनुपर्यो। वरिपरि बोटविरूवा र झारजंगलहरु पनि प्रशस्त हुनुपर्छ।
'सिमसारमा भएको पानीले आफूमा भएको दूषित पदार्थलाई घुलित त बनाउँछ नै, ठोस पदार्थमा भएका प्रदूषित तत्वलाई पनि तरलमा परिणत गरिदिन्छ,' उनले भने 'यसरी प्रदूषण अथवा विषहरू पानीमा घुलेर घुलित हुन्छन्। सिमसारले पात पतिंगर र झारजंगलहरू कुहाइदिन्छ। बाढी अथवा भलले बगाएर पुर्याएका ती चिजहरू सिमसारमा पुगेर विस्तारै डिकम्पोज हुन्छ।'
उनले थप्दै गए, 'बिरूवाले कार्वनडाइअक्साइड सोस्छ, अक्सिजन फाल्छ। वायुमा भएका नकारात्मक तत्वहरूलाई तटस्थ तुल्याउन सघाउँछ। यसरी झारपात, जंगल सिमसारले जम्मा पारेर कुहाइदिन्छ। मल बनाउँछ। मलमा बिरूवा उम्रिन्छ। बिरूवाले असिक्सन फाल्छ अनि वातावरणमा भएको कार्बनडाइअक्साइड सोस्छ। बोटबिरूवाले प्रकाश संश्लेषण प्रक्रियाबाट भोजन बनाउँछ। त्यही प्रक्रियामा बिस्तारै अन्न बन्छ। अन्न खाएर मान्छेले शक्ति प्राप्त गर्छ।'
पछिल्लो समय कार्बन सञ्चितिको बहस उठ्नुको कारण पनि यही भएको खम्बुको भनाइ छ।
'जोसित धेरै अन्नबाली, रूखबिरूवा छ, त्यो त्यत्ति नै धनी मानिने कारण नै शक्तिको स्रोतको सञ्चिति हो। कार्बन शक्तिको एउटा मुख्य स्रोत हो।'
सिमसारले मानव जीवनका लागि गरिदिने यो बहुगुणी काममा कछुवा एउटा मुख्य पात्र बन्ने जीव वैज्ञानिक खम्बुको भनाइ छ।
उनका अनुसार कछुवाले सिमासारमा थुप्रिएर रहेको प्रदूषणलाई हिँडडुलका क्रममा चलाइदिन्छ, फिटिदिन्छ। फोहोरको डंगुर छिचोलेर जब कछुवा घस्रन्छ, त्यसले फोहोरलाई झनै धेरै घुलनशील बनाइदिन्छ। धेरैजसो दूषित पदार्थ त कछुवाले खाएरै न्यूनीकरण गरिदिन्छ।
'यसले आफैँ खाएर पनि प्रदूषित चीजहरूको नियन्त्रण गर्न सघाउँछ,' खम्बुले भने 'त्यो भन्दा बढी जलाशयहरूमा थुप्रेका प्रदूषणलाई चलाएर ज्यादै घुलनशील बनाइदिन्छ। जब घुलनशील हुन्छ, त्यहाँ डाइल्युसन हुन्छ। यसमा कछुवाको भूमिका हुन्छ।'
यसबाहेक कछुवा सिमसारको मुख्य प्रतिक भएको उनको भनाइ छ।
'पहाडमा भ्यागुता र मधेशमा कछुवा सिमासारको मुख्य सिम्बोल हो,' उनले सुनाए, 'हाम्रो पारिस्थितिक प्रणालीमा धेरै वटा खाद्य साङ्लो हुन्छ। त्यो साङ्लोको एउटा रिङ कछुवा हो। ठूलो माछाले सानो माछालाई खान्छ, ठूलो माछालाई कछुवाले खान्छ। कछुवालाई अर्को ठूलो जन्तुले खान्छ। यस्तो खाद्य साङ्लो हामीकहाँ सयौं हुन्छ। यही साङ्लो अर्थात इकोसिस्टमको एउटा महत्त्वपूर्ण कन्जुमर कछुवा हो।'
'पहिले नै लोप भएको भए बेग्लै कुरा हो तर अहिले त यो प्राचीन जीव जिवित छ र यसले मान्छेलाई विभिन्न हिसाबले ठूलो सहयोग गरिरहेको छ,' खम्बुको भनाइ छ 'त्यसैले मान्छेकै स्वार्थरक्षाका खातिर पनि कछुवा संरक्षण जरूरी छ।'
अर्जुनधाराको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा अहिले १० प्रजातिका कछुवाहरू संरक्षित छन्। नौ वटा नेपालमै पाइने र एउटा विदेशमा मात्रै प्रजातिको कछुवा केन्द्रमा छन्।
केन्द्रका अनुसार इन्डोटेस्ट्युडो इलंगटा (ठोठरी वा सुन कछुवा), मेलानो सेलिस ट्राइकेरिनिटा (तीन धर्के पहाडी कछुवा), मेलानोसेलिस त्रिजुगा (कालो पानी कछुवा), साइक्लिमिस गिमेली (पाते कछुवा), जिओक्लेमिस हेमिल्टोनी (थोप्ले पोखरी कछुवा), पाङसुरा टेन्टोरिया.(पहेँलो भँडे धुरी कछुवा), पाङसुरा स्मिथी (खैरै धुरी कछुवा) लिसेमिस पुङटाटा( डकनी खबटे कछुवा अथवा टिकटिके कछुवा) र निलसोनिया ग्यांगेटिका (नरम खबटे कछुवा) यो केन्द्रमा छन्।
यी सबै नेपालमा पाइने प्रजातिका कछुवाहरू हुन्।
त्यस्तै हालसम्म नेपालमा नपाइएको तर विदेशबाट ल्याएर संरक्षण गरेर राखिएको ट्रयाकिमिस स्क्रिप्टा एलिगेन्स अर्थात रातो काने कछुवा पनि केन्द्रमा संरक्षित छ।
केन्द्रमा कार्यरत कर्मचारीहरू बिहान सबेरैदेखि राति पनि पालो बाँधेर कछुवाको पहरामा खटिने गरेका छन्।
उनीहरूको अनुभवका अनुसार सबै प्रजातिका कछुवा ज्यादै लजालु स्वभावका हुन्छन्। उनीहरूको बासस्थान नजिकै हुने मानव या अन्य गतिविधि चाल पाउने बित्तिकै लुकिहाल्ने स्वभाव कछुवाको हुन्छ।
'यो एक दीर्घजीवी प्राणी हो र अधिकांश कछुवाहरु १० देखि ८० वर्षसम्म बाँच्दछन्,' प्रमुख लिडकिपर राईले सुनाए 'तर मानव गतिविधिका कारण यो प्राचीनतम प्राणी संकटापन्न अवस्थामा रहेको छ। एकातिर पानीका प्राकृतिक श्रोतहरू सिमसार पोखरी, नदी खोलाहरू सुक्ने वा प्रदूषित हुने, वन तथा वनस्पति मासिने क्रममा प्राकृतिक बासस्थान तथा खाद्य पदार्थ मासिएको छ। यसले संख्या निरन्तर घट्दै गइरहेको छ। अवैध शिकार, ओसारपसार तथा बेचबिखनका कारण पनि यो लोपोन्मुख अवस्थामा पुगेको छ।'
त्यसो त कछुवालाई हिन्दू धर्मशास्त्रमा भगवान विष्णुले लिएको दश अवतार मध्ये कुर्म (कछुवा) अवतार लिएर सृष्टिको रक्षा गरेको पनि उल्लेख छ। यद्यपि धर्मशास्त्रमा यस्तो उल्लेख भए पनि भेट्नासाथ मारिहाल्ने चलन नघटेको अनुभव केन्द्रका कर्मचारीहरूको छ।
केन्द्रका कर्मचारीहरूको अनुभव अनुसार कछुवाका हरेक प्रजातिको प्रजनन् समय र खानपिन फरक हुन्छ।
'कछुवाका जति प्रजाति छन् प्रायः सबैको खाना फरक हुनेरहेछ,' राईले सुनाए 'कछुवा सर्वभोगी हुन्छ। फलफूलदेखि साग, माछामासुसम्म खान्छ। खानेकुरा मिलाएर नदिए बानी जे मा पर्यो, त्यही मात्रै खाने हुँदोरहेछ। हामी फलफूल दिनहुँ दिन्छौं। सागपात पनि दिन्छौं। घुंघी सिपी, झिंगेमाछा पनि दिन्छौं।'
कछुवाका लागि बर्खामा धेरै खाना चाहिने कछुवा संरक्षण केन्द्रले जनाएको छ।
'यिनीहरु कोल्ड ब्लडेड जीव हुन्,' राईले भने 'यसले जाडोमा घामको तापक्रमले दैनिकी चलाउँछ। त्यसैले जाडोमा धेरै लुक्ने कछुवा गर्मीमा बढी सक्रिय हुन्छन्।'
कछुवाको प्रजनन अवधि पनि मान्छेको जत्तिकै लामो हुने गर्छ। कम्तीमा ९ देखि १० महिनासम्म नै प्रजननका लागि समय लाग्ने गरेको यहाँका कर्मचारीले देखेका छन्।
'सुरूमा कछुवाले अन्डा पार्छ, केही दिन त्यसलाई छोपेर राख्नुपर्छ अन्यथा न्याउरी मुसाहरूले खाइदिने डर हुन्छ,' राईले सुनाए 'अन्डा पारेको नौ महिना प्लसमा बच्चा निस्कन्छ। अहिले त मेसिनबाट पनि प्रजनन गराउने चलन आएको छ। त्यसबाट ५० –६० दिनमै हुनछ रे, हामीसँग मेसिन छैन।'
केही कछुवा एक्लैले सयवटा अन्डा पार्ने गर्छ। तर, नेपालमा पाइएका प्रजातिहरूले भने बढीमा तीन वटासम्म पार्ने गरेको केन्द्रले जनाएको छ।
१२ वर्षदेखि कछुवा संरक्षण केन्द्रमा काम गरिरहेका र अनुसन्धानमा पनि सामेल भइरहेका राईका अनुसार नेपाली समाजमा कछुवाबारे केही जबरजस्त भ्रमहरू छन्।
तीमध्येको पहिलो भ्रम हो, यसको आयु।
'कछुवाका केही प्रजातिको आयु लामो हुन्छ सत्य हो तर सबैको आयु लामो हुँदैन,' उनले भने 'समुद्रमा हजार वटा कछुवाको बच्चामा एउटा मात्रै वयस्क हुन पाउने गरेको अध्ययनले देखाएको छ। कछुवाको मृत्युदर ज्यादै उच्च छ।'
उनका अनुसार सामुद्रिक किनाराहरूतिर पाइने ठूलो आकारका कछुवाहरू सयौं वर्ष बाँच्छन्। तर, नेपालमा पाइने कछुवाहरु ४० बाँचे भने त्यो नै धेरै लामो आयु हो।
नेपाली समाजमा कछुवाबारेको अर्को ठूलो भ्रम यसको मासुका बारेमा छ।
'धेरैले कछु्वाको मासु खायो भने पेटको रोग लाग्दैन, लागेको भए पनि निको हुन्छ भन्ने गरेको सुनिन्छ,' राईले भने 'वैज्ञानिक अध्ययनको निष्कर्षले त्यसो भन्दैन। कछुवाको मासु मानव स्वास्थ्यका लागि हानिकारक हो भन्ने अध्ययनले देखाएको छ।'
उनको थप तर्क छ 'पहिलो कुरा त कछुवा संरक्षित जन्तु हो खाने कुरा नै होइन। दोस्रो कछुवाको मासुमा फाइदाकारीभन्दा हानिकारक चिज बढी हुन्छ। यसको मासुले बिरामी निको हुने भन्दा उल्टै बिरामी पर्ने सम्भावना बढी हुन्छ। कछुवाको मासुमा मान्छेलाई डाइरिया लगाउने किटाणु प्रशस्त हुन्छ।'
राईका अनुसार चितवन र बर्दियामा पनि यस्तै संरक्षण केन्द्र सञ्चालनमा छ।
'२० करोड वर्षदेखि बनावटमा पनि खासै परिवर्तन नआइ बाँचिरहेको जीव हो कछुवा', राईले भने 'त्यसैले कछुवा आफैंमा चाखलाग्दो इतिहास हो। यसका बारे अध्ययन गर्न आउनेहरुलाई हाम्रो केन्द्रको ढोका सदा खुला रहनेछ।'
उनका अनुसार अध्ययन–अनुसन्धानका लागि आउनेहरूलाई केन्द्रमा आवासीय सुविधाहरू पनि दिइएको छ।
'हामीसँग किचन छ, ल्याब छ, बेडरूम छ। थोरै शुल्क लिएर आवासीय सुविधा पनि दिइएको छ,' उनले भने 'यहाँको सबै खर्चको जोहो सहिद स्मृति प्रतिष्ठानले गरिदिन्छ।'