सौराहाको सडकमा भौंतारिँदै हिँड्ने एक सिंगे गैंडालाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ।
उसलाई शुक्रबार कोशी पठाउन लागेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
करिब ६ वर्षअघि पश्चिम चितवनको मेघौली क्षेत्रमा अलपत्र अवस्थामा भेटिएपछि यसलाई उद्धार गरेर सौराहा ल्याइएको थियो। त्यसपछि उसको नाम नै ‘मेघौली’ बन्यो। बच्चा अवस्थामा साहरा दिन उसलाई राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा ल्याइएको थियो।
पाउडर दूध खाएर मान्छेको वरपर हुर्किएको यो भाले गैंडालाई ठूलो भएपछि जंगल पठाउन प्रयास गरियो। तर ऊ जंगलभन्दा शहर, बस्तीमै रमाउँदै गएको थियो।
वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार मेघौलीलाई कोशी टप्पु लैजान लागिएको सूचना अधिकारी तिवारीले बताए।
‘यो गैंडा बेलाबेलामा डुल्दै चित्रसारी, निपनीसम्म पनि पुग्ने गरेको थियो। परको बस्ती र खेतमा पुगेको खबर पाएपछि निकुञ्जका कर्मचारी तथा नेपाली सेनाका समूहले भैंसी धपाए जसरी धपाउँदै फर्काएर जंगलभित्र हुल्नुपर्ने अवस्था पनि थियो,’ तिवारीले भने, ‘सौराहामा देखिँदा पर्यटनमा फाइदा भएजस्तो देखिए पनि गैंडाको स्वास्थ्य र भविष्यका लागि त्यस क्षेत्रमा धेरै समय रहन दिन हुँदैन थियो। त्यहीअनुसार निर्णय भएको हो।’
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चितवन निकुञ्जको पश्चिम क्षेत्रमा रहेका ६ वटा गैंडालाई पूर्वतर्फ र एउटा भाले गैंडालाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गर्ने मन्त्रालयको निर्णयअनुसार काम भइरहेको बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा हुर्किएका पुष्पा र अञ्जली नामका दुईवटा पोथी गैंडाहरूलाई गत असोजमा कोशी टप्पुमा स्थानान्तरण गरिएको थियो। उनीहरूलाई सप्तरीको कञ्चनरूप नगरपालिका–५ पथरीमा निर्माण गरिएको इन्क्लोजरभित्र राखिएको छ।
‘त्यहाँ पोथीमात्रै भए भाले पनि चाहियो भन्ने कुरा भइरहेको थियो। मन्त्रालयले एउटा भाले गैंडा तत्कालै पठाउने निर्णय गरेपछि पठाउन लागिएको हो,’ पुनले भने।
करिब ७ वर्षअघि कोशी टप्पुबाट अर्ना ल्याउँदा चितवनले गैंडा दिने बाचा गरिएको थियो। २०७३ सालमा अर्नाको वंश विस्तारका लागि भन्दै कोशी टप्पुबाट १२ वटा र सदर चिडियाखानाबाट ३ वटा अर्नाहरू चितवन निकुञ्जमा लगिएको थियो। तिनीहरूलाई पुरानो पदमपुरमा इन्क्लोजर बनाएर राखियो। तर ती अर्ना बाघले खाएर, बाढीमा बगेर, रोग लागेर मरे।
त्यही बाचाअनुसार पहिलो चरणमा पुष्पा र अञ्जलीलाई कोशी पठाइएकोमा अहिले मेघौलीलाई पठाउन लागिएको हो। यसले कोशी टप्पुमा पनि गैंडाको वंश विस्तार गर्ने र उक्त क्षेत्रमा पर्यटकीय चहलपहल बढाउने विश्वास गरिएको छ।
चितवन निकुञ्जले पाँचवटा गैंडाहरूलाई निकुञ्जभित्रै आन्तरिक स्थानान्तरण गरेको छ। तीनवटा भाले र दुईवटा पोथी गैंडाहरूलाई पश्चिमबाट पूर्वतर्फ स्थानान्तरण गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए।
आनुवांशिक विविधता कायम गर्ने, जलवायु परिवर्तनको असरबारे अध्ययन गर्ने, पश्चिमतिर केन्द्रित गैंडाहरूको बास पूर्वी क्षेत्रमा बढाउँदै लैजाने लगायतका उद्देश्यले अहिले ६ वटा गैंडाको आन्तरिक स्थानान्तरण गरिँदैछ।