कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको गैंडा ‘मेघौली’ लाई चितवन फिर्ता ल्याइने भएको छ।
चैत १० गते स्थानान्तरण गरिएको गैंडालाई उपचार गर्न चितवन ल्याउन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी श्यामकुमार शाहले जानकारी दिए।
‘स्थानान्तरण गरेपछि ऊ त्यहाँ राम्ररी रहन सकेन। चर्न छाड्यो, धेरै परसम्म पुग्यो,’ शाहले सेतोपाटीसँग भने, ‘ट्रकमा खोरभित्र राखेर लामो बाटो लैजाँदा गाह्रो पनि भयो होला। त्यहाँ लगिसकेपछि पनि थप चोट लागेछ। उसलाई तत्कालै उपचार चाहिएकाले चितवन फर्काउन लागेका छौं।’
चैत ११ गते इन्क्लोजरभित्र राख्दा भित्तामा हानेर गैंडाको शरीरमा चोट लागेको छ। इन्क्लोजरबाट बाहिर निकाल्दा चर्न नमानेको र धेरै पर पुगेको थियो।
शाहले सौराहामा वन्यजन्तु अस्पताल रहेकाले उपचार गर्न सहज होस् भनेर यहाँ फिर्ता गर्न लागेको जानकारी दिए।
‘ल्याएर उपचार गर्छौं। त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय पछि हुन्छ,’ उनले भने।
गैंडालाई लिन चितवनबाट स्वास्थ्यकर्मी, प्राविधिकहरूको टोली खोरसहितको ट्रक लिएर कोशी जाँदैछन्।
सौराहाको सडकमा भौंतारिँदै हिँड्ने यो एक सिंगे गैंडालाई करिब ६ वर्षअघि पश्चिम चितवनको मेघौली क्षेत्रमा अलपत्र अवस्थामा भेटेर उद्धार गरी सौराहा ल्याइएको थियो। त्यसपछि उसको नाम नै ‘मेघौली’ बन्यो। बच्चा अवस्थामा सहारा दिन उसलाई राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा ल्याइएको थियो।
पाउडर दूध खाएर मान्छेको वरपर हुर्किएको यो भाले गैंडालाई ठूलो भएपछि जंगल पठाउन प्रयास गरियो। तर ऊ जंगलभन्दा सहर, बस्तीमै रमाउँदै गएको थियो। वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार मेघौलीलाई कोशी टप्पु लगिएको थियो।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा हुर्किएका पुष्पा र अञ्जली नामका दुइटा पोथी गैंडाहरूलाई गत असोजमा कोशी टप्पुमा स्थानान्तरण गरिएको थियो। उनीहरूलाई सप्तरीको कञ्चनरूप नगरपालिका–५ पथरीमा निर्माण गरिएको इन्क्लोजरभित्र राखिएको छ।
यो पनि: