चितवन राष्ट्रिय निकुञ्जभित्र थुनेर राखिएको ‘नरभक्षी बाघ’ अब भरतपुर घुम्न आउने पर्यटकलाई देखाइने भएको छ।
निकुञ्जको मुख्य कार्यालय कसरामा सजाय भोगिरहेका दुईवटा बाघलाई पर्यटकलाई देखाउन भनेर देवनगरमा बनेको इन्क्लोजरमा ल्याइएको छ। भरतपुर–६ देवनगरमा वन्यजन्तु उद्धार केन्द्र सञ्चालन गरेर पर्यटकका लागि खुल्ला गर्न लागिएको हो।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बुधबार विहान उक्त केन्द्रको उद्घाटन गरिन्।
चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले समस्याग्रस्त भनेर उद्धार गरिएका दुईवटा बाघहरु यहाँ राखिएको जानकारी दिए। ती बाघ बाँके राष्ट्रिय निकुञ्ज र चितवनको बेसहर मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो।
हाल ८ वर्षको भाले बाघलाई बाँकेको राप्तीपीडित सामुदायिक वनबाट २०७८ साल फागुन १८ गते नियन्त्रणमा लिइएर चितवन ल्याइएको थियो। अर्को भाले बाघलाई २०७७ असोज १२ गते नियन्त्रणमा लिइएको थियो। यो बाघ अहिले अन्दाजी १४ वर्षको छ। यी दुबैलाई मान्छेमाथि आक्रमण गर्न पल्किएपछि समातेर थुनिएको थियो।
‘मान्छेमाथि आक्रमण गरेर समस्या निम्त्याएका बाघहरु नियन्त्रणमा लिएर निकुञ्जका खोरहरुमा थुन्ने गरिएको थियो। तर उनीहरुलाई खुवाएर पाल्न बजेटको समस्या हुँदै आएको थियो,’ तिवारीले भने, ‘निश्चित शुल्क लिएर पर्यटकका लागि खुल्ला गर्दा खानाको समस्या हुँदैन। भरतपुर भ्रमण वर्षका लागि पनि टेवा पुग्छ भनेर यता सारेका हौं।’
चितवन निकुञ्जसँग कसरामा चार र सौराहामा दुईवटा बाघ राख्नसक्ने क्षमता थियो। ‘यो निकुञ्जकामात्रै नभएर आवश्यक पर्दा बाहिरका समस्याग्रस्त बाघ, अन्य वन्यजन्तुको पनि उद्धार गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर संरचना नहुँदा समस्या भइरहेको थियो,’ तिवारीले भने, ‘यो उद्धार केन्द्र सञ्चालनमा आउँदा बाघलाई राख्ने ठाउँ थप भयो। अनि पर्यापर्यटनसँग पनि जोडिने भयो।’
बुधबारबाट खुल्ला गरिएपनि कार्यविधि बनाएर केही समयपछि टिकट शुल्क लिन थालिने उनले बताए।
बाघ राख्नका लागि तराई भूपरिधि कार्यक्रम(ताल) को आर्थिक सहयोगमा करिब ४१ लाख रुपैयाँ खर्च गरेर संरचना निर्माण गरिएको छ। बाघ राख्नका लागि इन्क्लोजर बनाइएको छ। त्यसभित्र रहेका बाघ हेर्न काठका दुईवटा मचानहरु बनाइएका छन्।
मेयर दाहालले भरतपुर घुम्न आउने पर्यटकले अब बाघ देख्न पाउने बताइन्। ‘यो उद्धार केन्द्रले पर्यापर्यटनको विकास गर्न सघाउनेछ। यसको व्यवस्थापनमा महानगरले हातेमालो गर्छ,’ दाहालले भनिन्, ‘निकुञ्जलाई थुनेर राख्दा आहारा व्यवस्थापनमा गाह्रो भइरहेको थियो। अब टिकट शुल्क लिएर पर्यटकलाई हेर्ने व्यवस्था मिलाएपछि त्यो समस्या हुँदैन।’
उनले उद्धार केन्द्रको दिगो व्यवस्थापनका लागि महानगरले आवश्यक सहयोग गरिरहेको बताइन्।