चितवन र तनहुँ जिल्लालाई जोड्नेगरी त्रिशूली नदीमा बनेको पुलको शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन्।
तीन वर्षभित्र निर्माण सक्नेगरी सम्झौता गरिएको पुल १० वर्ष पुग्नै लाग्दा बल्ल बनेको हो।
तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा लाई जोड्ने पुल निर्माणका लागि २०७१ सालको कात्तिकमा सम्झौता भएको थियो। २०७४ सालको कात्तिकसम्ममा बनिसक्नुपर्ने पुलको निर्माणकार्य केही दिनअघिमात्रै सकिएको हो।
‘यो १० वर्षमा सडक कार्यालयमा दश जना कार्यालय प्रमुख परिवर्तन भए। सडक विभागमा कैयौं डिजीहरू फेरिए। बल्ल–बल्ल पुल बनेको छ,’ पुल निर्माणका लागि बनेको उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले भने, ‘२०६७ सालबाट पुल निर्माणका लागि प्रयास थालेका थियौं। अनेक हण्डर खाँदा–खाँदा बल्लबल्ल पुल बन्यो।’
भूकम्प, कोरोना महामारी लगायतका समस्या देखाउँदै काम ढिलो भइरहेको पुल २०७७ सालको चैत २४ गते बिहान भत्किएको थियो। करिब ७५ प्रतिशत काम सकिँदा पुल नै भत्किएपछि केही महिना निर्माणको काम नै रोकियो। पुल भत्किँदा त्यहाँ कार्यरत तीन जना मजदुरहरूको मृत्यु भएको थियो।
यो पुल १९ करोड १० लाख ६६ हजार ४६२ रुपैयाँ लागतमा निर्माण सक्नेगरी एलिट एडभेन्चर इन्द्रेणी जेभीसँग सम्झौता भए पनि पछि संशोधन गरी २१ करोड ५० लाख १३ हजार ७४६ रुपैयाँमा सम्झौता गरिएको थियो।
पुलको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यो पुल बनाउनका लागि आफूले एक दशक भन्दा अघिदेखि प्रयत्न थालेको बताए। निर्माण सुरू गर्नुअघि र पछि धेरै अवरोधहरू आइलागेको उनले बताए।
‘देवघाट जस्तो महत्वपूर्ण धार्मिकस्थलमा जान पक्की पुल थिएन। झोलुङ्गे पुलमात्रै थियो। यहाँ पुल आवश्यक छ भनेर मैले एक दशकभन्दा अघिबाट प्रयत्न गरेँ। तर अवरोधहरू धेरै आए,’ उनले भने, ‘ढिलै भए पनि प्रयत्न सफल भएको छ।’
उनले यो पुल निर्माण भएपछि तनहुँ र चितवन बीचको सम्बन्ध थप बढेको बताए।
देवघाट गाउँपालिकाका पहाडी क्षेत्रका कृषि उत्पादनहरूलाई बजारसम्म पुग्न सहज भएको उनले बताए।
‘देवघाटको तल्लो क्षेत्रमा त जम्मा दुई वडा छन्। बाँकी सबै वडाहरू भीर, पहाडमा छन्। त्यहाँ फलेका कुराहरूलाई बजार पुर्याउन असाध्यै गाह्रो भएको थियो। यो पुलले अब सघाउनेछ,’ उनले भने, ‘यो पुल देवघाट क्षेत्रको विकासका लागि कोसेढुंगा बन्नेछ।’