चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्किएका २० वटा गोहीहरूलाई राप्ती नदीमा छाडेको छ। निकुञ्जको मुख्य कार्यालय नजिकै नदीमा घडियाल गोहीहरू छाडिएको हो।
गोहीलाई नदीमा छाड्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले यसको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने बताइन्।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनकाअनुसार शनिबार २० सहित अहिलेसम्म प्रजनन् केन्द्रमा हुर्किएका १९ सय १७ वटा गोहीहरूलाई प्राकृतिक बासस्थानमा छाडिएको छ।
तीमध्ये राप्ती नदीमा सबैभन्दा बढी (११ सय ६२ वटा) छाडिएका छन्। नारायणी नदीमा ४ सय १९ वटा, बबईमा १ सय १०, सप्तकोशीमा १ सय १५, कर्णालीमा ४१, कालिगण्डकीमा ३५, बाँकेस्थित पश्चिम राप्तीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रबाट बग्ने चौधर खोलामा २५ वटा गोही छाडिएको उनले बताए।
केही महिना अघि गरिएको गणनामा चितवनको राप्ती नदीमा १ सय ५२ र नारायणी नदीमा १ सय १३ वटा घडियाल भेटिएका थिए। तीमध्ये ३/३ वटा भाले थिए। प्रजनन् केन्द्रमा अहिले ठूला, साना गरेर ६ सय ४८ वटा गोहीहरू रहेको संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए।
घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमामात्रै पाइन्छन्। सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजारजति रहेको पाइन्छ। १९७० मा त्यसको २ प्रतिशतमात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको थियो।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन् केन्द्र स्थापना गरिएको थियो। त्यतिखेर देशभरमा एक सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ।
प्रमुख संरक्षण अधिकृत पुनले नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन्, प्रदूषण, मान्छेले माछा मारेर खानेलगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको बताए।
‘प्राकृतिक बासस्थानमा बाँच्ने अवस्था एक प्रतिशतमात्रै देखिएको छ। त्यसैले प्रजनन् केन्द्र सञ्चालन गर्नु महत्वपूर्ण बनेको छ,’ उनले भने, ‘नदी किनारबाट गोहीका अण्डा संकलन गरी प्रजनन् केन्द्रमा कोरल्ने, हुर्काउने र ७–८ वर्ष पुगेपछि प्राकृतिक बासस्थानमा छाड्ने गरेका छौं।’
नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या पनि धेरै छ।
‘घडियाल गोही बगिराख्ने शुद्ध पानीमा बस्छ। माछा खान्छ। यो पानी प्रणालीको शुद्धताको सूचक पनि हो,’ पुन भन्छन्, ‘बेलैमा संरक्षण गर्न सकिएन भने घडियाल नरहँदा विश्वले धेरै अभाव महसुस गर्नुपर्छ।’
मेयर दाहाल जीविकोपार्जनका लागि खोलाको माछा मार्ने समुदायलाई विकल्प दिएर संरक्षणलाई प्रभावकारी बनाउनुपर्ने बताइन्। ती समुदायलाई विकल्प दिन स्थानीय तहले सहयोग गर्ने उनले बताइन्।