इजरायलले अल जजिरा टेलिभिजनलाई आतंककारी च्यानल भन्दै प्रतिबन्ध लगाउने भएको छ।
इजरायली संसदले सरकारलाई अस्थायी रूपमा विदेशी मिडिया बन्द गर्न अनुमति दिने एक कानून सोमबार पारित गरेको छ।
‘आतंकवादी च्यानल अल जजिराले अब इजरायलबाट प्रसारण गर्ने छैन। म च्यानलको गतिविधि रोक्नका लागि नयाँ कानून बमोजिम तुरून्तै कदम चाल्न चाहन्छु,’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सामाजिक संजाल एक्स (ट्विटर)मा लेखेका छन्। तर कहिलेदेखि प्रतिबन्ध लगाउने भनेर उनले खुलाएनन्।
प्रधानमन्त्री नेतन्याहुले कुनै विदेशी मिडियाले इजरायलको राष्ट्रिय सुरक्षालाई ‘ठोस रूपमा कमजोर’ ठानेमा नयाँ कानूनले सरकारलाई अस्थायी रूपमा ती विदेशी मिडियाका कार्यालयहरू बन्द गर्न, उपकरण जफत गर्न, इजरायली केबल र स्याटेलाइट टेलिभिजन प्रदायकहरूबाट हटाउन र कुनै पनि पहुँच रोक्ने अधिकार दिन्छ।
इजरायलको यो निर्णयलाई आफूलाई चुप बनाउने योजनाबद्ध श्रृंखलाको पछिल्लो कडी भन्दै अल जजिराले यो कानुनको भर्तसना गरेको छ। अल जजिराले नेतन्याहुको टिप्पणीलाई झुट भन्दै त्यसले आफ्ना विश्वभरिका पत्रकारको सुरक्षा खतरा उक्साउने भनेको छ। तर यसले आफ्नो ‘निडर र व्यवसायिक’ पत्रकारितालाई नरोक्ने दृढता व्यक्त गरेको छ।
अल जजिराको अरबी भाषाको च्यानल मध्यपूर्वको सबैभन्दा लोकप्रिय समाचार माध्यम हो। इजरायलले भने यसलाई आतंककारीको मुखपत्र भन्ने आरोप लगाउँदै आएको छ।
कतारमा आधारित अल जजिराले आफूलाई आंशिक रूपमा सरकारी लगानी भएको स्वतन्त्र संस्था भन्ने गरेको छ। तर इजरायल, साउदी अरबिया, संयुक्त अरब इमिरेट्स लगायत देशले तानाशाही शासन भएको कतारले सरकारी प्रभाव फैलाउन खोलिएको संचार माध्यम भएको आरोप लगाउँछन्।
अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमा भएको आक्रमण पछि इजरायली आक्रमणमा परेर केही अल जजिराका पत्रकार मारिएका छन्। इजरायलले भने उनीहरू हमासका आतंककारी भएकाले मारिएको भन्दै आएको छ।