देवघाटस्थित सीताराम संस्कृत माध्यामिक विद्यालयका छात्र सुजल खतिवडा अघिल्ला दिन जस्तै आत्मविश्वास बोकेर एसइई परीक्षा दिन नारायणगढको आदिकवि भानुभक्त माविस्थित केन्द्रमा पुगेका थिए।
बिहीबार 'संस्कृत कर्मकाण्ड' विषयको परीक्षा हुँदै थियो। जब उनको हातमा प्रश्नपत्र पर्यो, उनको आत्मविश्वास सर्लक्कै हरायो। सुजल छाँगाबाट खसेजस्तो भए।
वर्षभरि पढेको एउटा पनि प्रश्न प्रश्नपत्रमा थिएन। नजिक रहेका साथीहरू पनि प्रश्नपत्र हेरेर टोलाइरहेका थिए। उनीहरूले अनुमानका आधारमा केही प्रश्नको उत्तर लेखे। तर ३ घन्टाको परीक्षामा एक घन्टा बिताउन पनि हम्मे भयो।
सुजलका अनुसार सीताराम माविबाट परीक्षा दिन आएका विद्यार्थीहरूले यो कुरा परीक्षा गार्डलाई बताए। तर उनीहरूको कुरामा परीक्षा केन्द्रको ध्यान गएन।
ऐच्छिक प्रथम अन्तर्गतको 'संस्कृत कर्मकाण्ड' विषयमा फरक पाठ्यक्रमको प्रश्नपत्र आएपछि सुजलजस्ता धेरै परीक्षार्थीहरू तनावमा परेका छन्।
'परीक्षा हलबाट बाहिर निस्किएपछि हामीले हाम्रो गुरूलाई प्रश्नपत्रबारे जानकारी गरायौं। उहाँहरूले पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न आएछ भन्नुभयो। हाम्रो त बर्बादै भयो। सबै विषयमा राम्रो गरेको थिएँ, यो विषयले फेल बनाउने भयो,' उनले भने।
विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन पाण्डेले गुरूकुलको पाठ्यक्रमको संस्कृत कर्मकाण्डको प्रश्नपत्र संस्कृत माध्यामिकका विद्यार्थीहरूलाई परेपछि समस्या भएको बताए।
उनका अनुसार गत वर्षसम्म गुरूकुल र संस्कृत माध्यामिक विद्यालयमा यो विषयको उही पाठ्यक्रम थियो। यस वर्षदेखि गुरूकुलको पाठ्यक्रम परिवर्तन भयो। संस्कृत माविको भने परिवर्तन भएको थिएन।
'तर परीक्षामा सबैलाई नयाँ पाठ्क्रमको प्रश्नपत्र आएछ। हाम्रा विद्यार्थीहरूले पढेको कुनै प्रश्न आएनछ। परीक्षा सकिएपछि विद्यार्थीले भनेर पो थाहा पाइयो,' उनले भने, 'परीक्षा बिग्रियो, हामी बर्बाद भयौं गुरू भन्दै आए विद्यार्थीहरू।'
उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामजीप्रसाद अधिकारीले विद्यार्थीले फारम भरेको कोडकै प्रश्नपत्र आएको दाबी गरे।
'विद्यार्थीहरूले राम्रैसँग लेखिरहेको देखेको थिएँ। पछि अर्को प्रश्न आएको भन्ने सुनियो। तर उनीहरूले फारम भर्दा जुन कोडमा भरेका थिए, त्यही कोडको प्रश्नपत्र हो,' अधिकारीले भने, 'केही प्रश्न विद्यार्थीहरूले नपढेका आएको हुन सक्छ। त्यस्तो त भइहाल्छ नि।'
सीताराम माविका सहायक प्रधानाध्यापक पाण्डेले भने परीक्षा फारम भर्ने बेलामा गुरूकुल र संस्कृत माविको उही कोड देखेपछि त्यतिखेरै जिल्ला शिक्षा समन्वय इकाईलाई जानकारी गराएको बताए।
'उताबाट अहिले त्यही कोड भर्नुस्, पछि समस्या हुँदैन, प्रश्नपत्र फरक आउँछ भन्नुभएको थियो। तर परीक्षामा गुरूकुलको प्रश्न पो आएछ,' उनले भने।
जिल्ला शिक्षा समन्वय इकाई भरतपुरका प्रमुख भूमिलाल सुवेदीले पढेको भन्दा फरक प्रश्न आएको भनेर गुनासो आएको बताए।
'मैले पनि परीक्षा सकिएपछि मात्रै यो कुरा थाहा पाएँ। गुरूकुल र संस्कृत माविमा नयाँ र पुरानो कोर्सको पढाइ हुने रहेछ। तर कोर्स धेरै फरक भने रहेनछ। नयाँ कोर्सको प्रश्नपत्रको असर पुरानो कोर्स पढेकालाई कतिको पर्छ ठ्याक्कै भन्न सकिनँ,' उनले भने, 'मैले यो विषय केन्द्रमा पुर्याइसकेको छु।'