जिल्ला अदालत चितवनले माओवादी नेता कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
शुक्रबार न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई रामहरि श्रेष्ठको हत्या मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
श्रेष्ठको २०६५ वैशाख २८ गते तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन शिविर जुटपानीमा हत्या भएको थियो। उक्त घटना तेस्रो डिभिजन शिविरका डिभिजन कमाण्डर खामको निर्देशनमा भएको दाबी गर्दै मृतककी श्रीमती रमिला श्रेष्ठले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।
उक्त घटनामा तत्कालीन तेस्रो डिभिजन शिविरका ब्रिगेड कमान्डर गोविन्द बटाला पक्राउ परे पनि प्रतिवादी बनाइएका कमान्डर खाम भने फरार थिए।
उनलाई चैत १९ गते पक्राउ गरेर चितवन ल्याइएको थियो। उक्त घटनामा प्रतिवादी बनाइएका अन्य अभियुक्त केशव अधिकारी र गंगाराम थापा अझै फरार छन्।
पन्ध्र वर्षअघि माओवादी जनमुक्ति सेना तेस्रो डिभिजनको सम्पर्क कार्यालय रहेको काठमाडौं, कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा चोरी भएको थियो।
आफ्नो कार्यालयका गार्डलाई नियन्त्रणमा लिएर १७ लाख रुपैयाँ नगद र पेस्तोल चोरी गरेको घटनामा अनुसन्धान गर्न जनमुक्ति सेनाको तेस्रो डिभिजन कार्यालयले ब्रिगेड कमान्डर बटालालाई खटाएको थियो।
जनमुक्ति सेनाका डिभिजन कमान्डर खामको निर्देशनमा ब्रिगेड कमान्डर बटालाले २०६५ वैशाख १५ गते श्रेष्ठलाई अपहरण गरी चोरी कबुल गराउन काठमाडौंबाट चितवन ल्याएका थिए।
त्यसको १३ दिनपछि वैशाख २८ गते श्रेष्ठको हत्या भयो। त्रिशूली नदीमा फालिएको श्रेष्ठको शव नारायणी नदीमा भेटिएको थियो।
बटलाले घटनाको तीन दिनपछि मात्रै श्रेष्ठको हत्या भएको कुरा कार्यालयलाई जानकारी गराएका थिए। तेस्रो डिभिजन कार्यालयले जेठ २ गते प्रहरी कार्यालयमा यो जानकारी गराएको थियो। त्यसपछि यो मुद्दा प्रहरी हुँदै अदालतसम्म पुगेको हो।
बटालालाई भने सर्वोच्च अदालतले सफाइ दिइसकेको छ। जिल्ला र पुनरावेदनको फैसला उल्ट्याउँदै सर्वोच्चले उनलाई सफाई दिएको थियो।
जिल्ला अदालत चितवन र पुनरावेदन अदालत हेटौंडाले बटालालाई हत्या नगरे पनि हत्याको मतियार भएको भन्दै तीन वर्ष कैद सजाय तोकेको थियो।
उनी जिल्ला अदालतको फैसला हुने बेलासम्म पुर्पक्षका लागि तीन वर्ष थुनामा बसेका थिए। खामलाई चितवन जिल्ला कारागार लैजाने तयारी गरिएको छ।