नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका अस्पताल र उपचार केन्द्रहरुबाट ४६ वर्षमा ४ करोड ३६ लाख जनाले आँखाको उपचार सेवा पाएका छन्। यो अवधिमा ५१ लाख ३३ हजार जनाको आँखाको शल्यक्रिया भएको छ।
चितवनमा भइरहेको संघको केन्द्रीय सभाको २८ औं अधिवेशनमा बोल्दै महासचिव भरतबहादुर चन्दले सन् २०२३ मामात्रै ३३ लाख ६ हजार ३६ जनाले आँखाको परीक्षण तथा उपचार गराएको जानकारी दिए। एकै वर्षमा २ लाख ६५ हजार ८८५ जनाको आँखाको शल्यक्रिया गरिएको उनले बताए।
२०३५ सालको चैतमा स्थापना भएको नेपाल नेत्रज्योति संघको मातहतमा अहिले ४३ जिल्लामा अस्पताल र उपचार केन्द्रहरु सञ्चालन भइरहेका छन्। २८ वटा अस्पताल, १५६ वटा आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरुमार्फत आँखाको उपचार सेवा सञ्चालन गरिएको चन्दले बताए।
उनकाअनुसार सन् २०२३ मामात्रै ८ लाख ५ हजार ३१६ जना विदेशीले नेपालमा रहेका विभिन्न अस्पताल तथा केन्द्रहरुबाट आँखाको उपचार गराएका छन्। नेपालमा आँखाको उपचार गर्ने विदेशीहरु प्रायः भारत, बंगलादेशका छन्। नेपालमा उपचार खर्च सस्तो र स्तरीय भएकाले विदेशीहरु आँखाको उपचारका लागि आउनेक्रम बढेको चन्द बताउँछन्।
संघले चितवनमा भरतपुर आँखा अस्पताल सञ्चालन गरेको छ। भरतपुर आँखा अस्पतालको मातहतमा ७ जिल्लामा १६ वटा आँखा उपचार केन्द्र सञ्चालन गरिएको छ। अस्पताल र केन्द्रले गत साउनदेखि फागुनसम्ममा १ लाख ४७ हजार जनाको उपचार गराएको भरतपुर आँखा अस्पतालका वरिष्ठ अस्पताल प्रशासक बताउँछन्। यो अवधिमा ७ हजार जनाको आँखाको शल्यक्रिया गरिएको थियो। भरतपुर आँखा अस्पतालबाटमात्रै दैनिक ७ सय जनाभन्दा बढीले आँखाको उपचार सेवा लिने गरेका छन्।
नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले आँखाको उपचार सेवा प्रभावकारी बन्दै जाँदा ४० वर्षभित्रमा अन्धोपन ४ गुणाले घटेको बताए। अहिले पनि नेपालमा ५७ हजार जना अन्धोपनका रोगीहरुले दृष्टि पर्खिरहेको उनले बताए। हरेक वर्ष २५ देखि ३० हजार जना अन्धोपनका रोगी थपिने अध्ययनले देखाएको पन्त बताउँछन्।
‘अध्ययनले ४० हजार जना मान्छे चस्माको उपलब्धता पर्खिरहेको देखाउँछ। हामी उपचारको अभावमा आँखा देख्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्छ भनेर लागेका छौं,’ पन्त भन्छन्, ‘सन् २०३० भित्रमा कोही पनि व्यक्ति उपचार नपाएर आँखा देख्न नसक्ने अवस्था नहोस् भनेर हामी लागिपरेका छौं।’
उनले आँखाको ज्योतिबाट बञ्चितलाई नयाँ जाँगर र रणनीतिको साथमा घर–घरमा पुगेर ज्योति दिइने बताए।
बागमती प्रदेशका पूर्वस्वास्थ्य मन्त्री उत्तम जोशी नेत्रज्योती संघले नेपालमा आँखाको उपचारका लागि धेरै काम गरेपनि सरकारले स्वास्थ्य क्षेत्रका लागि दिल खोलेर बजेट विनियोजन गर्न नसकेको बताउँछन्। ‘म मन्त्री हुँदा स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै काम गर्ने प्रयास गरें। तर स्वास्थ्य मन्त्रालयमा पर्याप्त बजेट थिएन। कुल बजेटको ७ प्रतिशत पनि स्वास्थ्य क्षेत्रलाई छुट्टाइँदैन। कम्तीमा १५ प्रतिशत बजेट छुट्टाइयो भने केही गर्न सकिन्छ,’ प्रदेश सांसद जोशी भन्छन्, ‘आगामी दिनमा बजेट विनियोजन गर्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ भनेको छु।’
केही दिनअघिमात्रै बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका जगन्नाथ थपलियाले आँखा अस्पताल, अस्पतालका लागि आवश्यक पर्ने विशेषज्ञ र प्रविधिको विकासका लागि सरकारले सघाउने बताए। ‘संघ, प्रदेश र स्थानीय सरकार सबैले यसमा सघाउनुपर्छ। म प्रदेशको डालोमा भएको बजेटका आधारमा आँखाको उपचार सेवाका लागि सक्दो बढी बजेट विनियोजनको प्रयास गर्छु,’ उनले भने।
नेपालमा अहिले ४ सय जना नेत्र विशेषज्ञहरु कार्यरत छन्। ती मध्ये १ सय ५० जना नेत्रज्योति संघमा आवद्ध छन्।
नेपाल नेत्रज्योति संघको चितवनमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। नेत्रज्योति संघ चितवनका सचिव केशव अधिकारीले अधिवेशनका लागि ४३ शाखाबाट २ सय ३९ जना प्रतिनिधिहरु भेला भएको जानकारी दिए।