कक्षाकोठामा निकै पुराना १० जोर डेस्कबेन्च छन्। कुनैका खुट्टा भाँचिएका छन् त कुनै लखरलखर हल्लिन्छन्। स्थानीय बासिन्दाहरू मिलेर दुई कोठाको एउटा कच्ची टहरो बनाएका थिए। त्यसमा जस्तापाताको छानो हालेका थिए।
छानाको जस्तापाता खियाले छपक्कै छोपेको छ। कतै जस्तापाता उक्किन थालेको छ त कतै उक्किएर छानो ह्वाङ्गै भएको छ। झ्यालढोकामा पल्ला छैन, सबै ह्वाङ्गै छन्। पर्खालको ढुंगा सजिलै निस्किने भएको छ। काठ कुहिन थालेको छ।
यो हो सुदूरपश्चिम दार्चुलाको शैल्यशिखर नगरपालिका–७, दोबाटास्थित ‘भैरवनाथ आधारभूत विद्यालय’ जहाँ कक्षा तीनसम्म पढाइ हुन्छ। दार्चुलाकै मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाको सीमानामा पर्ने दोबाटा शैल्यशिखर नगरपालिकाको उच्च लेकाली बिन्दुु हो।
यो विद्यालय १२ वर्षअघि स्थापना भएको हो। बालबालिकाका लागि नजिकमा स्कुल नभएपछि स्थानीयवासी गोवी मिश्रको पहलमा विद्यालय खुलेको थियो। हाल उनै गोवी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्।
आफ्नो बाल्यकालमा गोवी दुई घण्टा हिँडेर स्कुल जान्थे। घर फर्किन त्यति नै समय लाग्थ्यो। त्यसरी हिँड्नु परेपछि उनले प्राथमिक शिक्षा पनि पूरा नगरी स्कुल छाडे। नजिकमा स्कुल थिएन। एकपटक छाडेपछि सधैँलाई पढाइ छाडियो।
‘दिनदिनै चार घण्टा हिँड्न गाह्रो भयो। पढ्नै पर्छ भन्ने थिएन। छोराछोरी घरमा काम सघाउन सक्ने भएपछि आमाबाबु पनि खुसी हुन्थे,’ ६३ वर्षीय गोवीले भने, ‘स्कुल छाडेपछि गाईवस्तु चराउन र घरको काम गर्न थालेँ। त्यसमै व्यस्त भएँ।’
जवान भएपछि उनी कमाइ गर्ने उद्देश्यले भारतको जम्मुुकश्मिर पुुगे। त्यहाँ काम गर्दागर्दै क्षयरोगले समात्यो। चार वर्ष काम गरेर घर फर्के। यतै उपचार गराए।
जीवकाका लागि गाउँमै एउटा सानो पसल राखे। गाउँमा बस्दाबस्दै राजनीतिमा लागे । यही मेसोमा २०४८ सालमा वडा अध्यक्ष पदमा उम्मेदवार पनि भए। त्यो समय सम्झँदै उनले भने, ‘परदेशी जीवन पनि बिताएँ। व्यापार गरें। राजनीतिमा लागेर नयाँ नेपाल बनाउने भन्दै हिँडेँ। जेजति गरे पनि नपढेको हुनाले जिन्दगीमा धेरै वेदना भोग्नुपर्यो। चिठी र निवेदन पनि अर्कालाई लेखाउनुपर्यो।’
आफूले नपढेको हुनाले दुःख पाएको ठानेका गोवीले आफ्नो गाउँमा स्कुल जाने उमेरका बालबालिका घरको काममा लागेको देखे। उनको मन कुँडियो।
गाउँमा स्कुल थिएन। सबैभन्दा नजिकको स्कुल पुग्न उनकै बाल्यकालझैँ झन्डै दुुई घण्टा हिँड्नु पथ्र्यो। साना बालबालिका त्यति टाढाको स्कुल जान सक्दैन थिए।
त्यस्तो परिवेशमा गोवीले आफ्नो गाउँमा एउटा सानो विद्यालयको परिकल्पना गरे। त्यसैअनुसार उनले २०६८ सालमा गाउँमा छलफल चलाए। एउटा विद्यालय खोल्ने सहमति भयो।
गाउँको उच्चा ठाउँमा गोवीको जमिन थियो। डाँडाकाँडा देखिने त्यो ठाउँ रमणीय र सबै गाउँलेका लागि पायक पर्ने थियो। उनले त्यहीँको एक रोपनी जमिन दिए। त्यही गाउँलेको श्रमदानले एउटा टहरो बन्यो।
स्कुल स्वीकृत भएपछि उनले जमिन स्कुलकै नाममा पास गरिदिए।
‘सबै काम गाउँलेहरू मिलेर गर्यौं। चन्दाका नाममा एक रूपैयाँ पनि उठाएनौं,’ उनले भने ‘हामीले काम गरेको देखेर तत्कालीन बोहरीगाउँ गाविस कार्यालयले १६ हजार रूपैयाँ दिएको थियो।’
काम सुुरू भएको केही महिनामा दुुई कोठे टहरो तयार भयो। स्थानीयवासीका कुलदेवताको नामबाट विद्यालयको नाम भैरवनाथ राखियो। तत्कालीन जिल्ला शिक्षा कार्यालयले विद्यालय सञ्चालनको अनुुमति दियो। गोवी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छानिए।
सुरूमा दुई जना शिक्षक राखिए, दुबै जना महिला थिए। केही महिना त उनीहरूले तलबबिनै काम गरे। गाउँमा सामुुदायिक वनको कोष बनाइएको थियो। त्यही कोषबाट शिक्षकलाई मासिक २ हजार रूपैयाँ दिन सुरू भयो।
पहिलो वर्ष पूर्वप्राथमिक कक्षामा ४५ जना भर्ना भए। विद्यालय स्थापना भएको चार वर्षपछि तत्कालीन जिल्ला शिक्षा कार्यालयले चालीस हजार रूपैयाँ दियो। त्यो बजेटबाट पत्थरले छाएको एक कोठाको अर्को टहरो बनाइयो।
दोस्रो पटक भवन मर्मतसम्भार शीर्षकमा एक लाख रूपैँया आयो। दुईकोठे टहरामा अर्को एक कोठा थपियो। त्यो कोठामा विद्यालयको कार्यालय राखियो। विद्यालय स्थापनाको ६ वर्षपछि नगरपालिकाले शिक्षकलाई तलब दिन सुरू गर्यो।
यस विद्यालयमा लेकमक गाउँपालिका–५ का केही बस्तीका बालबालिका पनि पढ्छन्। मालिकार्जुन गाउँपालिकाबाट पनि केही बालबालिका आउँछन्।
यसरी १२ वर्षअघि बनेको विद्यालयको भौतिक संरचना जीर्ण भएको छ। गत वर्ष हुरीले छानाको जस्तापाता उडाइदियो। गोवीले त्रिपाल जुटाएर छानामा ओत लगाए। अलिकपछि त्रिपाल पनि हावाले उडायो।
भवन मर्मतसम्भारका लागि गोवीले वडा कार्यालय, नगरपालिका कार्यालय र आफ्नो क्षेत्रका सांसदसँग धेरै पटक हारगुहार गरिसके तर कतैबाट बजेट प्राप्त भएको छैन।
काम नलाग्ने भइसकेका दस जोर डेस्कबेन्चमा विद्यार्थीहरू बस्दैनन्, चटाइ बिछ्याएर भुइँमा बस्छन्। विद्यालयमा हाल ३५ जना विद्यार्थी छन्।
गोवी भन्छन्, ‘स्कुलको अवस्थाबारे सबैलाई थाहा छ तर कतैबाट बजेट आएको छैन।’
तीन कक्षासम्म पढाइ भए पनि नेपाल सरकारले बालविकास शिक्षकको एउटा मात्र दरबन्दी दिएको छ। अन्य दुुई जनालाई नगरपालिकाले मासिक आठ हजार रूपैयाँका दरले तलब दिने गरेको छ।
गोवी विद्यालय जोगाउन लागिपरेका छन्। सरोकारवाला सबै निकायहरूलाई समस्या सुनाउँदै सहयोगको आग्रह गर्दै छन्।
उनी भन्छन्, ‘शिक्षाको एउटा बोट सारेका छौं। यसलाई जोगाउन सरकारले सहयोग गर्नुपर्यो। गाउँका बालिबालिकाले नजिकै पढ्न पाउनुपर्यो।’
शैल्यशिखर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष पुुष्पराज जोशीका अनुसार विद्यालय भवन मर्मतसम्भारका लागि नगरपालिकाले पहल गरिरहेको छ।
‘हामी भवनका लागि पहल गर्दै छौं। आगामी वर्षको बजेटमा केही व्यवस्था गर्छौं। फर्निचर बनाउने काम गर्दै छौं,’ उनले भने, ‘विद्यालयको भौतिक संरचना सुधारका लागि संघ र प्रदेश सरकारसँग बजेट मागेका छौं।’
उनले स्थानीय सरकारका पूर्ववर्ती जनप्रतिनिधिहरूले सहयोग नगरेको आरोप लगाए। त्यसैकारण विद्यालय भवन जीर्ण भएको आफ्नो निष्कर्ष सुनाए।
संघ र प्रदेशबाट बजेट नआए पनि आगामी वर्ष नगरपालिकाले नै मर्मतसम्भार गर्ने र विद्यालय जोगाउने उनको भनाइ छ।