वसन्त ऋतुको आगमनसँगै नयाँ पालुवा पलाएर जंगल हराभरा हुनुपर्ने हो। पात झरेर उजाड बनेका रूखमा जीवन आउनुपर्ने हो। जंगली फूलको सुगन्धले आकर्षण गर्नुपर्ने हो। त्यो सुन्दर ठाउँमा वन्यजन्तुहरू रमाउँदै विचरण गरेको दृष्य, चराहरूको चिरबिर देखेर/सुनेर पर्यटक मोहित हुनुपर्ने हो।
तर घाँस, बुट्यानमा नयाँ मुना पलाउनै पाएका छैनन्। पालुवा लाग्दै गरेका रूख फेरि खिङरिङ्ङ देखिन थालेका छन्। वन्यजन्तुको भागदौड मच्चिएको छ। चराहरूले गुँडमात्रै नभएर चल्ला नै गुमाउनु परेको छ।
धुवाँले आकास भरिँदैछ। वनमा बस्ने जनावर, चराचुङ्गीलाई मात्रै होइन मान्छेलाई पनि यसको असर परिरहेको छ। चलचित्र प्रेमपिण्डमा अनुराधा पौडेल (रचना–यादव खरेल) ले 'चैतमासको खडेरीमा' भनेर गीत गाए झैँ अवस्था छ।
यो दृष्य हो, चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा डडेलोले खर्लप्पै वन खाएपछि यहाँको वातावरणको दृष्य।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट केही मिटर परबाटै डडेलो सुरू भएको छ। केही दिनयता डडेलो तराईमा पूर्वदेखि–पश्चिमसम्मै फैलिएको नासाको स्याटेलाइट तस्विरले देखाउँछ। पहाडी क्षेत्रमा पनि डडेलोको असर परिरहेको छ।
कतिपय ठाउँमा घाँसमा लागेको आगो दन्किएर रूख सम्मै पुगेको छ। हरियो पात भएका सालका रूखमा पनि दनदनी आगो बलिरहेको देख्न सकिन्छ।
अहिले कति क्षेत्रफलमा डडेलो लागेको छ भन्ने रेकर्ड चितवन निकुञ्जसँग छैन। निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बिगतमा जस्तै यसपाली पनि चैत महिनामा धेरै ठाउँमा डडोलो लागिरहेको बताए। चैत र बैशाख महिना धेरै सुक्खा हुने भएकाले यो समयमा बढी डडेलो लाग्ने गरेको उनले बताए।
तिवारीकाअनुसार निकुञ्जले घाँसेमैदानको व्यवस्थापनका लागि बेला बेलामा आगो लगाउने गर्छ। यसलाई ‘कन्ट्रोल फायरिङ’ भनिन्छ। निश्चित क्षेत्रभन्दा बाहिर जान नदिने गरि कन्ट्रोल फायरिङ गर्ने गरिन्छ। यसबाहेकको आगो प्राकृतिकरूपमा लागेका वा निकुञ्ज प्रवेश गरेका मान्छेहरूले लगाएको हुनसक्ने तिवारी बताउँछन्।
बाहिरी क्षेत्रमा लगाइएको आगो फैलिदै निकुञ्जभित्र आउने गरेको पनि उनले बताए। त्यस्तो आगोलाई नियन्त्रण गर्न निकुञ्जभित्र रहेका जिप सफारीका रूटहरूले सघाउँछन्। सफारीको रूटलाई सफा राख्न सक्यो भने आगो त्यसलाई नाघेर जानसक्दैन। त्यसैले सफारी रूटलाई अग्नी रेखा पनि भन्ने गरिन्छ।
‘हामीले आगो लाग्न नदिन प्रयास गर्नुपर्छ। यसका लागि निकुञ्ज आसपासमा बस्ने समुदाय, वन क्षेत्रमा प्रवेश गर्नेलाई आगोले गर्ने क्षति न्यूनीकरण, निभाउने तरिका बारेमा जानकारी गराउने गरेका छौं। कसैले आगो लगाएको भेटेमा कारबाही पनि गर्ने गरेका छौं,’ तिवारीले भने।
लागेको आगोलाई नियन्त्रण गर्नसक्ने संयन्त्र भने निकुञ्जसँग छैन।
चितवन निकुञ्ज ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यहाँ करिब १० हजार हेक्टर क्षेत्रमा घाँसेमैदान तयार पारिएको छ। यो निकुञ्जको कुल क्षेत्रफलको लगभग १० प्रतिशत हो। घाँसेमैदान वन्यजन्तुको चरणका लागि तयार पारिन्छ। तर कतिपय घाँसेमैदानमा पनि आगो बलिरहेको देख्न सकिन्छ। वन्यजन्तु लुक्ने झाडीहरू डडेलोले खरानी बनाएको छ।
‘घाँसेमैदानलाई प्रत्येका वर्ष व्यवस्थापन गर्ने गरेका छौं। सुकिभार, भिम्ले, टेम्पल टाइगर क्षेत्रमा ठूला घाँसेमैदानहरू छन्। ती क्षेत्रमा झाडी व्यवस्थापन गरेर मुना पलाउने वातावरण बनाउन हरेक वर्ष काम हुन्छ,’ तिवारीले भने, ‘सकेसम्म ट्याक्टर लगाएर घाँस काट्छौं। नसके मान्छे प्रयोग गरिन्छ। त्यति पनि गर्न नसकेमात्रै कन्ट्रोल फायरिङको विकल्पमा जाने हो।’
घाँसे मैदानको नियमित व्यवस्थापनले चित्तल, गैंडालगायतका वन्यजन्तुको वृद्धिमा सकरात्मक प्रभाव पार्छ। आगो लगाउने विकल्प प्रयोग गर्दा बोट, बिरूवा मर्ने, जिवजन्तुलाई असर पर्छ। ठूला वन्यजन्तु आगोको डरले अन्यत्र भाग्न सक्छन्। किरा, फट्याङ्ग्रा तथा साना वन्यजन्तुहरूलाई आगोले धेरै असर गर्छ।
निकुञ्जअन्तर्गतको मृगकुञ्ज उपभोक्ता समिति चोरी, सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त रानाले डडेलोले वातावरणमा गम्भीर असर परिरहेको बताए।
‘मान्छेहरू श्वासप्रश्वासमै समस्या भयो, आँखा पोल्यो भनेर गुनासो गरिरहेका छन्। आकास धुवाँले कालै देखिएको छ। यसको असर वनभित्रै रहेका प्राणिहरूमा निकै परेको छ,’ उनी भन्छन्, ‘ज्यान जोगाउन वन्यजन्तु बस्ती पस्ने, मानवसँगको द्वन्द्व बढ्ने खतरा उत्तिकै छ।’
उनले डडेलोले अवस्था भयावह बन्दा पनि सम्बन्धित निकायले नियन्त्रणको प्रयास नगरेको बताए। राना विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) को सहयोगमा सहमती संस्थाले गर्ने डडेलो सम्बन्धी सचेतना अभियानको प्रशिक्षक बनेर युवाहरूलाई तालिम दिन्छन्। यस्ता तालिमले वन, वन्यजन्तु र समग्र वातावरण जोगाउन भूमिका खेल्नसक्ने उनको बुझाई छ।
गत वर्ष नेपालमा आगोलागीबाट ३ सय १० जनाको मृत्यु भएको थियो। आगोमा परेर कति वन्यजन्तुको मृत्यु भयो भन्ने तथ्यांक छैन।
‘वन नजिकका स्थानीयबासीलाई आगो निभाउन सक्नेगरी तालिम दिनु आवश्यक छ। सुरक्षा अपनाउन, कुन सामग्री कसरी प्रयोग गर्ने, आगो लागेको अवस्थामा कुन निकायलाई खबर गर्ने जस्ता विषयमा जानकारी दिनुपर्छ,’ राना भन्छन्, ‘ सामुदायिक वनहरूले आगो निभाउने दस्ता नै तयार गर्नुपर्छ। आवश्यक पर्दा परिचालन गर्नुपर्छ।’
यसका लागि राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालयले काम गर्नुपर्ने उनी बताउँछन्।
‘डडेलो लागेपछि निभाउनुपर्छ भन्ने कुरा थाहा छ। तर निभाउन आवश्यक पर्ने सामग्री छैन। सीप पनि कम छ,’ राना भन्छन्, ‘हतियार नै छैन, कसरी लडाईंमा जाने?’
उनले वन क्षेत्रमा धेरै ताल हुँदा र तालहरूमा पर्याप्त पानी हुँदा आगो निभाउन सजिलो हुने बताए।
तर वन क्षेत्र डडेलोको मारमा परिरहँदा धेरैजसो ताल तलैया पनि सुक्खा छन्। बाँकी रहेका तालहरूमा पनि पानीको मात्रा घटेको छ। हिउँदे वर्षा कम हुँदाको प्रत्यक्ष प्रभाव सिमसार क्षेत्रमा परेको छ। यसको असर वन्यजन्तुमा परिरहेको छ।
निकुञ्जको कोर क्षेत्रमा रहेका ठूला तालहरू लामी, तमोर, कमल ताल, देवी तालमा पानीको मात्रा घट्दै गएको छ। देवी तालमा केही वर्षअघि भन्दा निकै कम पानी देखिन्छ। नन्दभाउजु ताल सुकिसकेको छ। बिगतमा यो ताल सफा पानी भएको तालकोरूपमा चर्चित थियो। हाजिरीजवाफहरूमा पनि नन्दभाजु तालको विषयमा प्रश्नहरू सोध्ने गरिन्थ्यो।
संरक्षण अधिकृत तिवारीले जलवायु परिवर्तनलगायतका विभिन्न कुराहरूको असर सिमसार क्षेत्र परेको बताए।
‘सिमसार क्षेत्रमा पानीको मात्रा कम हुँदै गएको छ। हुन त यो सिजन नै कम पानी हुने हो। तर कतिपय तालमा पानीको मात्रा विगतमा भन्दा घटिरहेको छ,’ उनले भने, ‘हामीले पानी घटेको र सुक्खा भएको क्षेत्रमा पानीको व्यवस्थापन गर्ने गरेका छौं। भूमिगत पानी निकालेर तालको व्यवस्थापन गर्ने योजनाहरूमा पनि काम भइरहेको छ।’