गत चैत २९ गते राति काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीमा हो-हल्ला गर्दै एक समूह आइपुग्यो।
समूहमा १५/२० जना थिए। उनीहरू स्थानीय शेरबहादुर तामाङको घरमा राति १ बजेतिर पुगे।
बन्दुक लगायत हतियारसहित आएको समूह तामाङको घरभित्र पसेन। घर नजिकैको रूखतिर लाग्यो। केहीबेरमा उनीहरूले रूखमा आरो चलाए। त्यो रूख बहुमूल्य बुद्धचित्त (बोधिचित्त) को हो।
यो गाउँमा केही वर्षदेखि बुद्धचित्त खेती गरिएको छ। तीमध्ये तीन/चार वटा रूखमा फल्ने बुद्धचित्तका दाना धेरै मूल्यमा बिक्री हुँदै आएको थियो।
'त्यो गाउँमा लगाइएकामध्ये तीन/चार वटा रूखको बुद्धचित्त महँगोमा बिक्री हुन्छ। तीमध्ये सबैभन्दा राम्रो फल्ने र बढी मूल्य आउने रूख शेरबहादुर तामाङको बारीको हो, त्यही रूख गए राति काटिदिएछन्,' गाउँपालिका अध्यक्ष दिनेश लामाले सेतोपाटीसँग भने।
उनका अनुसार व्यापारीहरूले बुद्धचित्तका दाना हेरेर र कति मुखे फल्छ यकिन गरेर मूल्य निर्धारण गर्छन्। यसको मुख्य बजार चीन हो। बुद्धचित्तको दानाबाट जप गर्ने माला बनाइन्छ।
बुद्धचित्तका रूखधनी शेरबहादुर तामाङ गए राति घरमा थिएनन्। उनी काठमाडौंको स्वयम्भूमा थिए। घरमा उनका श्रीमती र छोराछोरी थिए। हो-हल्ला गर्दै आएको समूहले बारीको रूखमा आरो चलाएको उनीहरूले सुने, बाहिर निस्केर प्रतिकार गर्न डराए। उनीहरूलाई घर बाहिर निस्किए 'मारिदिने' धम्की उक्त समूहले दिएको थियो।
बुद्धचित्तको रूख ढालेर उनीहरू गएपछि परिवारले शेरबहादुरलाई फोन गरेर घटनाबारे जानकारी दिए। राति नै शेरबहादुर काठमाडौंबाट काभ्रेस्थित घर गएका थिए।
करोडौं मूल्यमा बिक्री गरिएको बुद्धचित्त फल्न नपाउँदै अज्ञात समूहले काटिदिएको शेरबहादुरले सेतोपाटीलाई बताए।
'बुद्धचित्त फूल फुल्दै थियो, फल (दाना) नै लाग्न पाएको थिएन, फेद नै ढलाइदिएछन्,' उनले भने।
उनले बुद्धचित्तको सुरक्षाकै लागि भनेर बुधबार मात्रै सिसी टिभीसमेत जडान गरेका थिए।
'अस्ति सिसीटिभी जोडेको थिएँ, झन् राति नै रूख काटिदिए,' उनले भने, 'प्रहरीले सिसीटिभी फुटेज पनि हेर्ला!'
गए राति करिब दुई बजेतिर परिवारका सदस्यले बुद्धचित्तको बोट ढालेको खबर प्रहरीलाई दिएका थिए। इलाका प्रहरी कार्यालय मंगलटारबाट केहीबेरमै घटनास्थलमा प्रहरी टोली पुगेको थियो।
प्रहरी शेरबहादुरको घर पुग्दा आँगनमा चार वटा सकेट बम र घरनजिकैको बुद्धचित्तको रूख काटिएको अवस्थामा फेला परेको थियो।
बुद्धचित्तका धनी शेरबहादुरका अनुसार उक्त रूखमा फल्ने बुद्धचित्तका दाना तीन करोड रूपैयाँमा बिक्री गरिएको थियो। उनले वार्षिक तीन करोड रूपैयाँ पाउने गरी सन्दीप त्रिपाठीसँग सम्झौता गरेको बताए।
'यो रूखमा फल्ने बुद्धचित्त यो वर्ष पनि तीन करोड रूपैयाँ आउने गरी उहाँसँग सम्झौता गरेको थिएँ। दुई वर्ष भयो बुद्धचित्त बिक्री गर्दै आइरहेको थिएँ,' उनले भने, 'तर यसपालि फूल लाग्दै थियो, रूख नै काटिदिएछन्।'
बुद्धचित्तको दानाको बजार चीन हो। व्यापारीहरूले स्थानीयसँग रूख नै ठेक्कामा लिने र बुद्धचित्तका दाना टिपेर लैजाने गर्छन्।
'बुद्धचित्त जप गर्ने माला बनाइन्छ,' उनले भने।
शेरबहादुरका अनुसार बुद्धचित्त चोरी गर्ने उद्देश्यबाट उक्त समूह आएको होइन भन्ने देखिन्छ। किनभने रूखमा फल (दाना) लागेकै थिएन।
'बुद्धचित्त हामीलाई बिक्री गर्नुस् भनेर माग्ने धेरै थिए, अझै धेरै पैसा दिन्छु पनि भनेका थिए। आफूले नपाएको भनेर रिसले रूख काटिदिएको पनि हुन सक्छ,' उनले भने, 'सम्झौता गरिसकेकोले मैले तोड्न पनि चाहिनँ।'
बोट काटिएको घटनामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार उक्त घटनाबारे सोधपुछका लागि शनिबार राति एक जनालाई नियन्त्रणमा लिइएको हो।
'सोधपुछका लागि नियन्त्रणमा लिएका हौं। सोधपुछपछि घटनामा संलग्नता रहेको नरहेको थाहा होला,' उनले भने।
प्रहरीले शुक्रबार नै सोधपुछका लागि अर्का एक जनालाई नियन्त्रणमा लिएको थियो। ती व्यक्तिसँग पनि सोधपुछ भइरहेको र शनिबार राति अर्को एक जनालाई पनि नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले बताए।
के हो बुद्धचित्त?
बुद्धचित्तको वास्तविक नाम बोधिचित्त हो। यो बयर प्रजातिको बनस्पति हो। यसको काठ, पात, दाना, सबै धार्मिक प्रयोजनमा उपयोग हुन्छ। यसको बयर जस्तो देखिने तर कडा फल प्रयोग गरेर बौद्ध धर्मावलम्बीहरूले जप गर्न र लगाउन प्रयोग गर्ने माला बनाउने गरिन्छ।
तिब्बतमा बज्रयान बौद्ध धर्म स्थापित गर्ने गुरू पद्म सम्भवले नेपालको काभ्रे जिल्लामा पर्ने एउटा गुफामा ध्यान गर्न आउँदा बोधीचित्तको बिरूवा छोडेर गएको किम्बदन्ती छ।
काभ्रेमा पाइने बुद्धचित्त बिरूवाको बाहिरी रूप बयर प्रजातिसँग मेल खाने र यो विश्वका अन्य ठाउँमा पाइनेभन्दा बेग्लै रैथाने प्रजाति भएको बताइन्छ।
बुद्धचित्त सामुद्रिक सतहबाट १२०० देखि २००० मिटर उचाइको जमिनको पाखोबारीमा पाइन्छ। पाखोबारी, सुख्खा, स-साना ढुंगा भएको स्थानमा समेत यो रोप्न मिल्छ। रोपेको तीन या चार वर्षबाटै फल दिन थाल्ने यो बिरूवालाई त्यति स्याहार चाहिँदैन।