संघीय संसद्को हिउँदे अधिवेशन आइतबार मध्यराति १२ बजेदेखि अन्त्य भएको छ। अब केही समयपछि संसदको बर्खे अधिवेशन सुरू हुन्छ।
फुर्सदका बेला प्राय: सांसदहरू आफ्नो निर्वाचन क्षेत्र जाने गर्छन्।
सांसदहरू निर्वाचन क्षेत्र फर्कने हतारो चलिरहँदा केही सांसदहरू र नेताहरू भने पढाइमा केन्द्रित देखिन्छन्।
अहिले त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा एमफिल र पिएचडी अध्ययन सुरू भइरहेको छ।
चैतको तेस्रो सातादेखि सुरू भएको कक्षामा नेतादेखि विभिन्न निकायमा कार्यरत व्यक्तिहरू पढ्न थालेका छन्।
त्रिविको योजना शाखाका अनुसार यस वर्ष विभिन्न संकायमा पाँच सय ९० जना एमफिलमा र दुई सय ८१ जना विद्यार्थी पीएचडी अध्ययनका लागि भर्ना भएका छन्।
प्रत्येक संकायमा ३०/३५ जनाको कोटा हुन्छ। ती कोटामा नीति–नियम तर्जुमा गर्ने निकायमा रहेका सांसद तथा उच्च पदस्थहरू पनि रहेका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधि सभाका सांसद जीवन परियार अहिले त्रिवि राजनीतिक शास्त्रमा एमफिल/पिएचडी गर्न भर्ना भएका छन्।
उनले त्रिविबाट राजनीति शास्त्रमा स्नातककोत्तर सकेको लामो समयपछि एमफिल/पिएचडीमा भर्ना भएका हुन्।
उनी 'डबल' एमए गर्ने योजनाले अहिले भक्तपुर क्याम्पसमा समाजशास्त्रमा पनि स्नातककोत्तर गर्दैछन्।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ मा बस्ने उनी बिहान भक्तपुर क्याम्पस र साँझ एमफिल/पीएचडी अध्ययन गर्न कीर्तिपुर पुग्छन्।
सांसद परियारका अनुसार एमफिल/पिएचडीको कक्षा हप्तामा ४ दिन हुन्छ। त्यसका लागि बुधबारदेखि शुक्रबारसम्म ४ बजेदेखि ७ बजेसम्म र शनिबार बिहान साढे ७ बजेदेखि साढे १० बजेसम्म पढाइ हुन्छ।
‘काम र पढाइका लागि समय निकाल्न धौ–धौ छ। तर पढ्ने रहर भएकाले मिलाएर पढ्ने योजना छ। सेमिस्टर भएकाले ८० प्रतिशत हाजिर पुर्याउनै पर्छ, त्यसैले नियमित गइरहेको छु,’ उनले भने।
उनीमात्र होइन्, ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्री शक्तिबहादुर बस्नेत पनि राजनीतिक अर्थशास्त्रमा एमफिल/पिएचडी गर्दैछन्। उनी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद हुन्।
उनले जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
नेकपा (एमाले) का केन्द्रीय सदस्य बिष्णु रिजालले पनि यसपालिदेखि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा एमफिल/पिएचडी गर्दैछन्।
उनले सन् २००९ मा पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातककोत्तर गरेका थिए।
आफू लामो समयदेखि राजनीतिमा सक्रिय हुँदै गर्दा कुटनीति विषयमा अध्ययन गर्न रूची भएकाले पढ्न सुरू गरेको केन्द्रीय सदस्य रिजालले बताए।
‘अहिले राजनीतिक क्रियाकलापहरू, अभियान र तत्काल चुनावका कार्यक्रम नभएकाले पार्टीको नेतृत्वसँग सल्लाह गरेर पढ्न थालेको हो,’ उनले भने।
उनकाअनुसार, सातमा ३ दिन कक्षा हुन्छ।
शुक्रबार साँझ, शनिबार दिउँसो र आइतबार साँझ पढाइ हुन्छ। चार/पाँच महिनामा एउटा सेमेस्टर सकिने भएकाले पनि पढ्न थालेको उनले बताए।
राजनीतिक गर्ने व्यक्तिलाई अहिले वातावरण सहज र दिनभर समय दिनु पनि नपर्ने भएकाले पढ्न सहज भइरहेको उनले बताए।
‘पहिला शिक्षकले भन्ने र विद्यार्थीले कापीमा टिप्ने, सुन्ने गरिन्थ्यो। एमफिलमा विद्यार्थीले प्रस्तुति दिनुपर्छ, यसले झन् पढाइमा ध्यान जान्छ,’ उनले भने।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर अहिले एमफिलको दोस्रो सेमिस्टर पढ्दैछन्।
उनले एमफिल पढ्न थालेको एक वर्ष भयो। पिएचडी गर्ने रहरले ढिलै भए पनि पढ्न थालेको उनी बताउँछन्। ‘८/९ वर्षअघि स्नातककोत्तर सकेको भए पनि पढ्ने मौका मिलेको थिएन, पोहोरदेखि पढ्न थालेको हुँ,’ उनले भने।
उनले नेपालको राजनीतिसँगै आर्थिक अवस्था कस्तो हुनुपर्छ भन्नेबारे जानकारी लिन पनि पढेको बताउँछन्। ‘केही समयको पढाइमा अहिले शिक्षा प्रणाली कसरी परिवर्तन भइरहेको छ भन्ने महसुस पनि गरेँ,’ उनले भने।
पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे समाजशास्त्रमा एमफिल/पिएचडी गर्दैछन्।
एमाले सचेतक सुनिता बराल र नेपाली सेनाका पूर्वउपरथी नारायण सिलवाल पनि यसपालिदेखि अर्न्तराष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा एमफिल/पिएचडी पढ्न भर्ना गरेका छन्।
उनीहरूले पढ्न भर्ना गरिसकेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति संकायका कोओर्डिनेटर कृष्ण आर्चायले जानकारी दिए।
कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री नरेश भण्डारी पनि एमफिल/पिएचडी पढ्दैछन्।
नेपाली कांग्रेसका मोरङ सभापति तथा पूर्वखेलकुद मन्त्री डिगबहादुर लिम्बूले हालै राजनीति शास्त्रमा एमफिलको दोस्रो सेमेस्टरको परीक्षा दिएका छन्।
अहिले त्रिविमा राजनीति शास्त्रमा नेकपा (एकीकृत समाजवादी) का गणेश विश्वकर्मा, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य परशुराम रम्तेलले एमफिल/पिएचडी गरिरहेका छन्।