१७ वर्षीया किशोरीमाथि पटक-पटक बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै काकालाई सोमबार पक्राउ गर्यो।
पुर्चौडी नगरपालिका-४ का ती पुरूषले भतिजीमाथि पटक-पटक बलात्कार गरेको र गर्भ बसेपछि हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार ती युवती चैत २६ गतेदेखि हराएकी थिइन्। हराएको दुई दिनपछि पुर्चौडी नगरपालिका-४ का स्थानीय जंगलमा उनको शव फेला परेको थियो।
पोस्टमर्टमपछि उनको गर्भमा १८ हप्ताको बच्चा रहेको र टाउकोमा चोट लागेको देखिएपछि प्रहरीले घटनाको अनुसन्धान अगाडि इन्सपेक्टर केसीले जानकारी दिए।
'अनुसन्धानको क्रममा किशोरीका काकाले पटक-पटक बलात्कार गर्दै आएको र गर्भ बसेपछि हत्या गरेको पुष्टी भएको हो,' प्रहरी निरीक्षक केसीले भने।
किशोरीको हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार ती पुरूषले गरिसकेका छन्।
उनीविरूद्ध किशोरीका बाबुले हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका छन्। उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक केसीले बताएका छन्।
एक साताअघि बलात्कार आरोपमा दाङ तुलसीपुर उपमहानगरपालिका-१३ का ६२ वर्षीय मानबहादुर सुनार पक्राउ परे।
उनीविरूद्ध १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप थियो। चैतकै दोस्रो साता खोटाङमा १२ वर्षीय किशोरी बलात्कृत भइन्। उक्त घटनामा ३५ वर्षीय प्रकाश परियारलाई पक्राउ परे।
उनले किशोरीलाई फकाएर आफ्नो घरमा लगेर बलात्कार गरेको आरोप छ। यो घटनामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
यी प्रतिनिधि घटना हुन्। यस्ता घटनाहरू घट्नुको सट्टा बढेको प्रहरी अनुसन्धानले देखाउँछ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७७ देखि ०८० सम्म (तीन वर्षमा) जबरजस्ती करणीका ७ हजार २९९ मुद्दा दर्ता छन् भने १ हजार ९०८ वटा मुद्दा जबरजस्ती करणी उद्योगका छन्।
बलात्कार प्रयास भएको उजुरीलाई प्रहरीले जबरजस्तीकरणी उद्योगमा दर्ता गर्छ।
आर्थिक वर्ष ०७७/७८ मा जबरजस्ती करणी २ हजार ५३२, जवर्जस्ती करणी उद्योगमा ७३५ मुद्दा दर्ता भएका थिए। सो वर्ष सबैभन्दा धेरै जबरजस्ती करणीको मुद्दा कोशी प्रदेशमा दर्ता भएको छ।
कोशीमा प्रदेशमा ६०१ मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ।
सोही वर्ष काठमाडौं उपत्यकामा बलात्कारसम्बन्धी २२७ मुद्दा दर्ता भएका छन्। ४ जनाको भने बलात्कारपछि हत्या भएका घटनाको मुद्दा छ।
आथिक वर्ष ०७८/७९ मा जबरजस्ती करणीसम्बन्धी २ हजार ३८० मुद्दा दर्ता भएको थियो भने जबरजस्ती करणी उद्योगसम्बन्धी ६५५ मुद्दा दर्ता भएका छन्।
सोही वर्ष पनि कोशी प्रदेशमै सबैभन्दा बढी बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ। यसपालि कोशीमा बलात्कारसम्बन्धी ५१२ मुद्दा दर्ता भएका छन्। बलात्कारपछि हत्या गरिएका ९ वटा मुद्दा दर्ता भएका छन्।
आर्थिक वर्ष २०७९/०८० मा बलात्कारका मुद्दा अझै उकालो लागेको छ।
यो वर्ष गत वर्षको भन्दा ७ वटा मुद्दा बढी दर्ता भएका छन्। यो वर्ष जबरजस्ती करणीको २ हजार ३८७ मुद्दा दर्ता भएका छन् भने जबरजस्ती करणी उद्योगसम्बन्धी ५१८ मुद्दा दर्ता भएका छन्।
यो वर्ष पनि सबैभन्दा बढी कोशी प्रदेशमै मुद्दा दर्ता भएका छन्। जहाँ ५६७ मुद्दा भएको प्रहरीको तथ्यांक छ। उक्त वर्ष काठमाडौं उपत्यकामा भने ३१७ मुद्दा दर्ता भएका छन्।
प्रहरीको तथ्यांक हेर्दा बलात्कारसम्बन्धी घटना दिनहुँ बढ्दै गइरहेको देखिन्छ।
यस्ता घटना बढ्नुको कारणबारे हामीले प्रहरी, अनुसन्धानकर्ता र मनोचिकित्सकलाई सोधेका छौं।
प्रहरीको केन्द्रीय प्रवक्ता डीआइजी भीमप्रसाद ढकाल जनसंख्या, सहरीकरण बढ्दैजाँदा त्यही अनुपातमा यस्ता घटनाहरूपनि बढ्दै जाने बताउँछन्। अर्कातिर आफूविरूद्ध भएका अन्यायविरूद्ध आवाज उठाउने र न्यायिक लडाईं लड्ने महिलाहरूको संख्या बढेको पनि उनले बताए।
'महिला दिदीबहिनी पहिलाको तुलनामा अहिले अलि धेरै सचेत हुनुभएको छ। बालबालिकामाथि हुने यौन दुर्व्यवहार तथा करणीका घटनाबारे प्रहरीमा जाहेरी दिनुपर्छ भन्ने चेतना फैलिएको छ,' उनले भने।
सामाजिक सञ्जालका कारण पनि यस्ता घटनाहरू धेरै समय लुकेर बस्न नसक्ने उनको भनाइ छ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगसँगै त्यसको दुरूपयोग पनि बढ्दै गएको छ, त्यसैले यस्ता घटनाहरू बढिरहेको डिआइजी ढकाल बताउँछन्।
'मदिरा सेवनपनि एउटा कारण मान्न सकिन्छ,' उनले भने, 'समाजमा यस्ता घटना बढ्नुको पछाडि सामाजिक संरचना, शिक्षा, अभिभावकले गर्ने व्यवहारदेखि धेरै कुराहरू पर्छन्।'
समाजमा हुने बलात्कारका घटनाहरू न्यूनिकरणका लागि स्थानीय सरकार, समाजसेवी, स्थानीयले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
'यस्ता घटना के कारणले भइरहेका छन् भनेर पत्ता लागाई ती कुरालाई न्यूनिकरण तथा रोकथाम गर्नतर्फ लाग्नुपर्छ,' डिआइजी ढकालले भने।
प्रहरीले पनि केन्द्र, जिल्ला, इलाकादेखि चौकीसम्म सचेतना कार्यक्रम चलाइरहेको छ।स्थानीय तहमा समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत पनि यस्ता घटनाहरूबारे जनचेतना फैलाउने काम भइरहेको उनले बताए।
समाजमा शंकास्पद व्यक्ति देखिएमा वा भेटिएमा प्रहरीलाई खबर गर्न उनले आग्रह गरे। सबैले आफ्नो जिम्मेवारी निर्वाह गरे यस्ता घटना घट्नसक्ने उनको भनाइ छ।
त्यस्तै, अधिकारकर्मी तथा अनुसन्धानकर्ता रिता साहका अनुसार अहिले घटनासँगै उजुरी पनि बढेको छ। त्योसँगै सञ्चारमाध्यम र प्रहरीले जबरजस्ती करणी तथा यौन दुर्व्यवहारको घटनामा चासो देखाउन थालेको देखिन्छ।
'यस्ता घटना बढ्नुको कारण हाम्रो देशको पितृसत्तात्मक सोच र संरचना हो। घर, समाज र न्यायीक प्रणालीमा पुरूषलाई नै केन्द्रमा राख्ने र महिला कमजोर प्राणी हो, उनीहरू उपभोगका लागि मात्र बनेका हुन भन्ने सोच हो,' उनले भनिन्।
तथ्यांकले बालिकाहरू बढी बलात्कृत हुने देखिएको पनि उनले बताइन्।
त्यसमा उनी प्रहरीलाई गैरजिम्मेवार मान्छिन्।
'प्रहरीले १८ वर्षभन्दा माथिका महिलाका उजुरीलाई खासै महत्व दिँदैन। उनीहरूको सहमतीमै भएको भन्ने धारणा राख्छ,' उनले भनिन्। यस्ता घटनामा पीडक धेरैजसो आफ्नै घरपरिवारका सदस्य, नातागोता र छिमेकी हुने गरेका अनुसन्धानकर्ता साह बताउँछिन्।
'जसलाई विश्वास गरिएको हुन्छ। त्यही व्यक्तिबाटै बालिका तथा महिलामाथि जबरजस्ती करणी हुने गरेको देखिन्छ,' उनले भनिन्, 'टाढाको मान्छेहरूले महिला तथा बालबालिकाको स्वभाव तथा उनीहरूको विश्वास जित्न समय लाग्छ।'
कतिपय महिला तथा बालबालिकाहरू कानुनी प्रक्रियाबारे जानकारी नहुँदा घटनाहरू बाहिर नआएको उनको भनाइ छ।
अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरीविना करणी गरे वा मञ्जुरीमै भए पनि १८ वर्षभन्दा कम उमेरकी कुनै नाबालिकालाई करणी गरे बलात्कार गरेको मानिन्छ।
कुन उमेरसमूहलाई कस्तो कारबाही हुने भन्ने विषय पनि अपराध संहिताले तोकेको छ।
उक्त प्रावधानले १० वर्षभन्दा मुनिका बालिका करणी गर्नेलाई १० देखि १५ वर्षसम्म कैद हुनेछ। पीडित १० देखि १४ वर्षमुनिका बालिका भए ८ देखि १२ वर्षसम्म कैद हुने वा १४ देखि १६ वर्षमूनिको बालिका भए ६ देखि १० वर्षसम्म कैद हुने र १६ वर्ष वा सोभन्दा माथिको महिला भए ५ देखि ८ वर्षसम्म कैद हुने व्यवस्था छ।
यी दफाहरूमा हाडनाताबाहेकका जबरजस्ती करणी, कार्यालय वा पेसागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने, बाल यौन दुर्व्यवहार, बालयौन दुरुपयोगदेखि अप्राकृतिक मैथुनसम्म पर्छन्।
कानुनबारे अनभिज्ञ हुने वा त्यसको कार्यान्वयन पाटो कमजोर हँदा यस्ता घटनाहरू बढेका उनको बुझाइ छ।
समाजमा जति घटना घटेका छन्, त्यति बाहिर नआएको पनि उनको दाबी छ।
उनका अनुसार समाजमा यौन दुर्व्यवहार नभोग्ने व्यक्ति महिला कमै छन्। त्यस्ता पीडितहरूले समाज तथा परिवारको साथ नपाउने र पीडितलाई नै अझै पीडित बनाइने भएकाले यसबारे खुलेर बोल्न नचाहेको उनले बताइन्।
'बलात्कृत किशोरी तथा महिलालाई नै परिवार तथा समाजले दोषी देखाउने, घटना बाहिर निस्किए विवाह हुँदैन भनेर तर्साउने प्रवृत्ति समाजमा व्याप्त छ,' उनले भनिन्।
उनका अनुसार, न्यायीक प्रक्रिया अझै झण्झटिलो छ। बलात्कार केसमा कानुनले नै दोषी ठहर भएका पुरुषहरूलाई हिरो बनाइन्छ। त्यसैलेपनि पीडितहरू बाहिर खुलेर आउन नचाहेका हुन्।
समाजमा बढ्दै गएका यस्ता घटनाहरू न्यूनीकरणमा राज्यले बलात्कारसम्बन्धी कानुन, सूचना, सचेतना तथा छोरा र छोरीलाई नैतिक शिक्षा दिनुपर्ने उनको भनाइ छ।
'छोरीलाई बच्चैदेखि के गर्ने, के नगर्ने भनेर सिकाइन्छ, छोरालाई पनि उसको दायित्व, महिला साथीसँग कस्तो व्यवहार गर्ने भनेर सिकाउन जरुरी छ,' उनले भनिन्, 'यदी यस्ता कुराहरू नयाँ पुस्तालाई सिकाउन सके बलात्कारका घटना घट्नसक्छ।'
मनोविद अन्जन ढकाल बलात्कारका सबै घटनालाई एकै कोणबाट विश्लेषण गर्न नसकिने बताए।
बलात्कारका सबै घटनामा पीडकको मनोविज्ञान एकै नहुने उनले बताए।
अहिलेका पुरूषहरूमा आफूले भनेको हरेक कुरा हुनुपर्छ भन्ने अहम भावना रहेको त्यसले गर्दा पनि यस्ता घटना बढेका मनोविद् ढकालले जानकारी दिए।
उनका अनुसार आधुनिकताले गर्दा समाज जटिलतातिर गइरहेको छ। समाजिक सञ्जाल त्यसबाट पर्ने प्रभाव सिकाइ नक्कल गर्ने माध्यम बनेका छन्। त्यसमा देखाइएका कुराहरू नक्कल गर्ने र समाजमा बढ्दो दुर्व्यसनीले पनि बलात्कारका घटना बढेका छन्।
'हामीले केलाउँदा धेरै कारण छन्। व्यक्ति अनुसारको फरक कारण हुन्छ,' उनले भने, 'कस्तो समाज र परिवेशबाट हुर्किएको भन्ने कुराले फरक पार्छ।'
पुरूषवादी सोच, सिकाइ, हुर्किएको वातावरणले यस्ता अपराधिक मनोविज्ञान बनाउनका मलजल गर्ने उनी बताउँछन्।