जंगलको डढेलो बस्तीमा फैलिँदा रोल्पामा एक दर्जन घर गोठ जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले वनको डढेलो बस्तीमा फैलिँदा आठ घर र पाँच गोठ जलेर पूर्णरूपमा नष्ट भएको सेतोपाटीलाई बताए। शनिबार दिउँसोको आगलागीमा परी पक्षाघात भएका ७० वर्षीय सन्तु घर्ती घाइते भएका छन्। उनको दायाँ हातको कुहिना र दाहिने खुट्टाको तिघ्रामा आगोले क्षति पुर्याएको छ।
प्रहरी प्रमुख लामाका अनुसार प्यूठानको जंगल तर्फबाट फैलिएको आगोलाई तीव्र बेगमा चलेको हावाले रोल्पासम्म पुर्याएको हो।
दिउँसो साढे ३ बजेदेखि बस्तीमा पुगेको आगाले जिल्लाको लुङ्ग्री गाउँपालिका– १ रिरिपका निसे घर्तीको टिन छाएको दुई तले कच्ची घर, एक तले गोठ, स्थानीय अमृत घर्ती, सन्तु घर्तीको कच्ची घर पूर्णरूपमा नष्ट भएका छन्।
त्यस्तै स्थानीय टेके घर्ती, भुवन घर्तीको घर–गोठ पनि जलेर नष्ट भएको छ। ती घरका पशुचौपायासमेत आगलागीमा परेको प्रहरीले जनाएको छ।
स्थानीय प्रकाससिंह घर्ती, नरबहादुर घर्ती, जितबहादुर घर्ती र हिराबहादुर घर्तीका घर–गोठ पनि आगलागीमा परेका छन्।
प्रहरीका अनुसार बेलुका करिब साढे ८ बजेसम्म आगलागी भएको थियो। जिल्ला प्रहरी निरीक्षक केशव बाराकोटीका अनुसार जंगलको आगो बस्तीतिर सोझिएपछि गाउँका मानिसहरूले भागेर ज्यान जोगाएका थिए।
अग्निपीडितहरूमध्ये केही नजिकैको गाउँमा आश्रय लिइरहेका छन्। कतिपय खुला आकाशमुनि बस्न विवश बनेको पनि उनले बताए।
आइतबार बिहान आगो सुनछहरी गाउँपालिका–३ स्थित गामको जंगलतर्फ फैलिएको प्रहरी निरीक्षक बराकोटीले बताए। जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली केही बेरमा पीडितको अवस्था बुझ्न जान थालेको पनि प्रहरी निरीक्षक बराकोटीले जानकारी दिए।
डिएसपी लामाका अनुसार आगो निभाउन शनिबार दिनभरि ४० बढी प्रहरी परिचालन गरिएको थियो। प्रहरी चौकी सिर्प, इलाका प्रहरी कार्यालय सुलिचौर, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, बटुक दल गणबाट नेपाली सेनासमेत आगो नियन्त्रणका लागि खटिएका थिए।