चार महिनाअघिको कुरा हो, बुकिङ वन कम्पनीबाट सागर सुनार विश्वकर्मालाई फोन आयो।
फोनमा परिचय दिने एक कर्मचारीले सगरमाथा आरोहरण गर्ने योजना भए आफूहरूले केही प्रतिशत सहयोग गर्ने कुरा सुनाए।
यो कुरा सागरका लागि असामान्य थियो। एक किसिमले भन्दा सपनाझैं। अपत्यारिलो।
पुराना घाउको खाटा उप्किएझैं पनि भयो।
उनले कुरा नबुझेझैं गरे। सोधे।
दोस्रो पटक सुनेपछि उनी पक्का भए।
सगरमाथा आरोहण गर्ने योजना भए कम्पनीले केही आर्थिक सहयोग गर्ने प्रस्ताव आएको थियो।
दुई वर्षअघि हिमाल चढ्ने सपना बोकेर सगरमाथा पुगेका थिए।
हिमालको ठेगाना खोज्दै हिँडेको त्यो पाइला चौथो शिविरमै टक्क रोकिएको थियो।
सपनाको चुचुरो चुम्न नसकेपछि उनको आँसु हिउँमा मिसिएको थियो।
विस्मृतिमा जान नसकेको त्यो क्षण अप्रत्यासित फोनकलले ताजा बनाइदियो।
उनी सन् १९ मे २०२२ मा अन्तिम चौथो क्याम्प पुगेर फर्किएका हुन्।
त्यतिबेला उनी ८ हजार मिटरमाथि पुगेर फर्किएको दाबी गर्छन्।
त्यतिबेला मौसमसँगै खुट्टामा लगाएको जुत्ताले उनलाई साथ दिएन।
सन् २०२१ देखि थालेको सगरमाथा आरोहणको तयारी अपूरै रह्यो।
सागर हिमालको काख अर्थात कास्कीको मादी गाउँपालिका-११ मा जन्मिएका हुन्।
उनी जन्मजात नै शारीरिक अपांगता हुन्। औसतभन्दा होचो छ उनको कद।
उनको बाल्यकाल अनेकौं जटिलताबाट गुज्रियो।
उनी अहिल ३० हिउँदमा हिँडिरहेका छन्। उचाइ ३ फिट ७ इन्च छ।
त्योसँगै उनको दुवै खुट्टा असामान्य छन्। दुवै खुट्टा दायाँ–बायाँतिर फैलिएका छन्। जसले गर्दा हिँड्न असहज हुन्छ।
यस्तो शारीरिक बनोटका कारण हेलाहाँसोमा पर्दा उनको मन कटक्क काटिन्छ।
'स्कुलमा साथीहरूले गर्ने व्यवहारले गर्दा पनि पढ्न मन लागेन त्यसैले कक्षा ५ मै छोडेँ,' उनले तीतो अनुभव सुनाए।
समाज तथा साथीभाइहरूले हेपेको देख्दा उनलाई आत्मनिर्भर हुने र आफ्नै पौरखमा बाँच्ने इच्छा जाग्दै गयो।
उनका दाजुले पोखरामा सुन पसल चलाउँथे। काम सिक्न उनी त्यहीँ पुगे। यो उनीहरूको पुर्ख्यौली पेसा पनि थियो। काम सिक्न कठिन भएन।
उनका बुवा दुर्गाबहादुर सुनारले पनि त्यहीँ काम गर्थे।
दाजुकोमा काम गरेर उनले आफूलाई खर्च पुर्याइरहेका थिए। सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा शारीरिक अपांगता भएका व्यक्तिले हिमाल चढेको कुरा सुन्दा उनी नजिकैको अन्नपूर्ण हिमाललाई नियाल्थे।
एक दिन त कसो नचढुँला भन्दै मुख मिठ्याउँथे। सपनाको ठेगाना हिमाललाई नै बनाउँथे।
सोच्थे- यी अग्ला हिमालमा मेरो पाइला पर्नसक्छ कि सक्दैन होला?
तर उनलाई हिमाल कसरी चढिन्छ सम्म थाहा थिएन। हिमाल पुग्ने बाटो कता हो कसरी थाहा पाउनू!
एक दिन उनको दिदीको साथी कान्छीमाया तामाङले हिमाल आरोहणबारे प्रस्ताव गरिन्।
यो चार वर्षअगाडिको कुरा थियो।
उनकी दिदी उर्मिला सुनार काठमाडौं महानरपालिका-३ मा बसेर विश्वशान्ति चिरणमिलन कलेजमा स्नातक पढ्थिन्। स्नातक पढ्ने बेलामा उर्मिलाको चिनजान कान्छीमायासँग भयो।
उनले सुरूआती दिनमा कान्छीमाया हिमाल आरोही हुन् भनेर थाहा पाएकी थिइनन्। तर एकदिन कलेजको भित्तामा हिमाल आरोही भनेर झुन्ड्याइएको ठूलो तस्बिरमा आँखा पर्यो।
कान्छीमायाले सगरमाथा आरोहण गरिसकेकी छन्। त्यहीकारण उर्मिलालाई पनि बाल्यकालदेखि टलक्क टल्किने हिमाल चढ्ने रहर भयो।
त्यही सपनाले उनीहरूको सम्बन्ध झाँगियो।
एकदिन कान्छीमाया उर्मिलाको घर आएकी थिइन्।
कान्छीमायाले सागरलाई देखेपछि उर्मिलालाई सम्झाउँदै भनेकी थिइन्- 'हिमाल यही छ। तिमी जहिले चढ्दा पनि हुन्छ। पहिला भाइलाई हिमाल चढाउन सके संसारभर शारीरिक अपांगता भएका तथा होचो आरोही भनेर छुट्टै परिचय स्थापित हुन्छ।'
कान्छीमायाको कुरा उर्मिलालाई चित्त बुझ्यो।
आफूहरूले नै सागरलाई हिमाल चढ्नेबारे जानकारी दिएको सागरकी दिदी उर्मिलाले बताइन्।
'साथीको कुरा आफूलाई सही लागेपछि परिवारमा छलफल भयो। सबैले मान्नुभयो,' उनले भनिन्, 'भाइ पनि सहमत भयो।'
सागरलाई पनि आँखा अगाडिको हिमाल देख्दा-देख्दै त्यसको चुचुरोमा पाइला टेक्ने रहर थियो।
त्यतिबेला उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तै भयो। सहजै स्वीकार गरेको उनी बताउँछन्। त्योसँगै उनको दैनिकी फेरियो।
उनी गाउँका डाँडापाखा चढ्न थाले। नजिककै हिमालमा पुगेर हिउँहरूसँग परिचय गाँस्न थाले।
हिउँको चिसोपनाले उनलाई न्यानो बनाउन थाल्यो। दिनप्रतिदिन उनको हिमाल चढ्ने रहर बढ्दै गयो। तर हिमाल चढ्न लाग्ने लाखौं खर्चबारे भने उनी अनभिज्ञ थिए।
'हिमाल चढ्न लाखौं खर्च लाग्छ भनेपछि केही दिन विक्षिप्त पनि भएँ,' उनले भने, 'मेरो रहर देखेर कान्छीमाया दिदीले उहाँको श्रीमानलाई भेट्न भन्नुभयो।'
कान्छीमायाका श्रीमान पेम्बा दोर्जे शेर्पालाई भेट्न उनी सिन्धुपाल्चोक पुगे। पेम्बा दोर्जे शेर्पा हिमाल आरोहीसँगै आरोहण प्रदर्शकसमेत हुन्।
'पेम्बासँग भेट्नसाथ आफूलाई हिँडेर देखाउन भने र हिम्मतको प्रसंशा गर्नुभयो,' सागरले भने।
पेम्बाले उनलाई केही साता उनकै घरमा राखे। हिमालमा कसरी हिँड्न सकिन्छ र सावधानी कसरी अपनाउने भनेर सिकाए।
त्यसपश्चात् सागरसहित उनकी दिदी र पेम्बा शेर्पाको सहयोगमा दोलखाको रोलवालिङ क्षेत्रमा पर्ने ५ हजार ९ सय २५ मिटर उचाइको रामदुङ हिमाल आरोहण गरे।
तीन/ चार सातामा उनको आरोहण सफल भयो।
रामदुङ चढेपछि उनको सगरमाथा चढ्ने सपनाले उनलाई थप छटपटी तुल्यायो।
शेर्पाले उनलाई ढाडस दिन्थे। उनी सपना पूरा गर्न डटिरहे।
उनले शारीरिक अपांगता भएता पनि सगरमाथा चढ्ने सपना रहेको र रामदुङ हिमाल आरोहण गरेकोबारे सामाजिक सञ्जाल र विभिन्न संघ–संस्थालाई सुनाइरहन्थे।
धेरैले उनको सपनालाई मुक्तकण्ठले प्रशंसा गरे। सहयोग जुट्न थाल्यो।
मनकारीहरूले मुट्ठी फुकाउँदा पाँच/ छ महिनामा २५ लाख रूपैयाँ जुट्यो।
संकलन भएको पैसासँगै परिवार र आफन्तसँग ऋण लिएर उनी सन् २०२२ अप्रिल १९ मा घरबाट निस्किए। उनलाई पेम्बाले नै पथप्रदर्शन गरिरहेका थिए।
जुत्ताको साइज नमिल्ने भएकाले उनले अरू आरोहीले लगाउनेभन्दा कमसल जुत्ता लगाएरै हिमाल चढ्ने अठोट गरे।
चौथो बेस क्याम्पसम्म पुग्दा खुट्टा सार्न गाह्रो भइसकेको थियो। जुत्ताका कारण पैतालाभरि फोका उठेका थिए। जलजलाउँदा फोका उठेर अतिशय गाह्रो भयो।
'यात्राको क्रममा जति अवरोध आउँथ्यो त्यतिबेला अब बाँच्दिनँ भन्ने लाग्थ्यो,' उनले भने, 'खुट्टाभरि उठेका फोकाले पोलेको देख्दा यतिधेरै जोखिम किन लिएछु भन्ने हुन्थ्यो। यहाँसम्म आइपुगिहालेँ, बाँचे इतिहास बन्छ, मरे सकिन्छ भन्ने लाग्थ्यो।'
हिमाल आरोहणका क्रममा आउने साँघुरो बाटोमा उनी सहजै हिँड्न सक्दैन थिए।
त्यसैले उनलाई गाइड गर्ने शेर्पाले खुट्टाले हिउँ झारेर बाटो बनाइदिन्थे। बेला-बेला त्यहाँ चढ्न राखिएको भर्याङ उनकै उचाइको हुन्थ्यो।
यस्तो बेलामा उनी आमालाई सम्झिएर भक्कानिन्थे।
तर केही पाइला चाल्नसाथ माथितिरको चुचुरोमा हेर्दै त्यहाँ पाइला राख्ने सपनाले मन बलियो बनाउँथे। आफ्ना गह्रुँगा पाइलाहरू उचाल्ने हिम्मत गर्थे।
त्यही सपनाले उनी चौथो बेस क्याम्पसम्म पुगे। तर त्यहाँबाट माथि जान शरीरले साथ दिएन। यसका अतिरिक्त मौसम पनि प्रतिकूल बनेको उनले बताए।
'गाइडहरूले अब मौसम खराब भयो। तिम्रो खुट्टामा पनि जलजल फोका उठेको छ। जोखिम नलेऊ भन्दा आफूलाई सम्हाल्न नसकेर धेरैबेर रोएँ,' उनले भने।
त्यहाँबाट फर्किएपछि लाखौं शुभचिन्तकले दिएको साथ सहयोगको मान राख्न नसकेको जस्तो लागेर दुई/चार महिनासम्म घरबाट निस्किएनन्। त्यतिबेला उनकी दिदी उर्मिलाले पुन: चढ्न सकिने भन्दै ढाडस दिइरहिन्। तिमी सक्छौ भन्दै हिम्मत दिइरहिन्।
फेरि उनी विभिन्न संस्थाहरू धाउन थाले। सपनाको ठेगाना पुग्न बाँकी रहेको भन्दै विभिन्न निकाय धाइरहे।
दुई वर्षपछि उनको प्रतीक्षाको घडी सकियो।
उनी पुन सगरमाथा आरोहण गर्ने तयारीमा लागे।
चार महिनादेखि उनी त्यसैको साधनामा छन्।
बुकिङ वन कम्पनीले ७५ प्रतिशत र २५ प्रतिशत आफूले खर्च व्यहोर्नुपर्ने गरी उनलाई हिमाल आरोहण गराउन लागेको हो।
उनी आफूले जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम जुटाउन दौडधुप गरिरहेका छन्।
उनलाई सगरमाथा आरोहण गर्नका लागि डेढ करोड रूपैयाँ लाग्ने भनिएको छ।
'सबैलाई सहयोग गरिदिनका लागि अपिल गर्छु,' उनले भने।
यसपटक सगरमाथा आरोहणका लागि लुगा, जुत्ता उनकै साइजको बनाइएको छ। अहिले उनी सहयोग संकलनसँगै सगरमाथा आरोहण प्रक्रिया पूरा गर्न साधनारत छन्।
त्यही क्रममा उनी आइतबार पर्यटन बोर्ड आएका थिए।
उनले सोमबार काठमाडौंबाट हिँड्ने तयारी रहेको र प्रक्रिया पूरा नभएमा मंगलबारसम्म काठमाडौं छाडिसक्ने बताए।
अपांगता भएका व्यक्तिहरूका लागि एउटा हौसला र हिम्मतसँगै 'विश्वकै होचो आरोही' भनेर चिनाउने अभिलाषा बोकेर सगरमाथा जान लागेको बताउँछन्।
यसपटक उनलाई नर्विन मगरको नेतृत्वमा दुई सहयोगी शेर्पा र नाम्गेल शेर्पाले गाइड गर्नेछन्।
'यसपटक आधी बाटोबाट फर्किएर आउनु नपरोस्। लक्ष्य पूरा होस् भन्ने चाहना छ,' उनले भने।
सबै तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी