हरेक वर्ष तापक्रम बढिरहेको छ। तराई, मधेसमा उखर्माउलो गर्मी बढेको छ। जिल्ला समन्वय समितिको हलमा पंखाको शितल खाँदै थारू जातिको साँस्कृतिक संवाद चलिरहेको थियो।
‘पहिले हाम्रा घरहरू काठ, बाँस, चिर्पटले बारेका हुन्थे, त्यसमा गोबरले लिपेको हुन्थ्यो। खपेटा, खरले छाएका हुन्थे। ४० डिग्री तापक्रममा पनि घरभित्र शितल हुन्थ्यो,’ थारू समुदायको विषयमा अध्ययन गरिरहेका सञ्जय चौधरीले भने, ‘अहिले यस्ता घर देख्नै मुस्किल भइसक्यो। यस्ता घरलाई अचेल नगरपालिकाले चिन्दैन। नक्सा पास नै हुँदैन। खर विस्थापन भनेर गर्व गरिँदैछ। यसको विकल्पमा कंक्रिटको सहर विकास हुँदैछ।’
नेपाल प्रज्ञा प्रतिष्ठानले आदिवासीका परम्परा, संस्कृति, ज्ञान लगायतका विषयमा भरतपुरमा गरेको रैथाने ज्ञान उत्सवमा बोल्दै थिए चौधरी। प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौलिक इतिहास विभागले चितवनका आदिवासी थारू र कुमाल समुदायमा पुगेर उनीहरूको परम्परागत ज्ञान, संस्कृति, इतिहासबारे छलफल गरेको थियो।
‘आदिवासीहरूको ज्ञान, सीप वास्तवमै वैज्ञानिक थियो। हाम्रा पुर्खाले प्रकृतिसँग मिलेर जीवन जिउने कलाको विकास गरेका थिए। तर आधुनिकताको नाममा त्यस्ता ज्ञानको नाश गरियो,’ चौधरीले भने, ‘प्रकृतिलाई जोगाइराख्ने हो भने, पृथ्वीलाई बिग्रन नदिने हो भने त्यस्ता ज्ञानहरूलाई जोगाइराख्नु जरूरी छ।’
उनले आदिवासीका पुर्खाले मानव समुदायलाई यहाँसम्म ल्याउन तयार पारेको ज्ञान प्रणाली अबका दिनमै अझै जरूरी पर्ने दाबी गरे।
‘त्यस्ता ज्ञानलाई पाठ्यक्रममा समावेश गरेर मौलिक ज्ञानको विकास गर्नुपर्छ। कम्तीमा स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्छ भन्ने माग हाम्रो छ,’ राजनीतिक शास्त्रमा विद्यावारिधी गरेका चौधरीले भन्छन्, ‘संग्रहालयमा सीमित राखेर यसको अर्थ रहँदैन।’
थारू समुदायमा फागु पर्वको अवसरमा चिर पोल्ने (समत मनाउने) चलन छ। उनीहरू यो पर्वलाई ‘फगुवा’ भन्छन्। पहिलो दिन समत, दोस्रो दिन धुरहेरी र तेस्रो दिन चैत्वारी मनाउँछन्। पहिलो दिन चिर पोलेपछि भोलिपल्ट बिहान खरानीको टीका लगाएर फगुवा विशेष रूपमा मनाउने चलन छ। थारू संस्कृतिका अध्येता सत्यनारायण चौधरीले यसपालि होलीको दिन चिर पोल्ने क्रममा मन्त्र भन्ने मान्छे पनि भेटाएनन्।
‘त्यहाँ सबभन्दा अग्रज मै थिएँ। मलाई नै मन्त्र आउँदैन थियो, लाजै भयो। अब मैले आफूभन्दा सानालाई संस्कृति बचाउनुपर्छ भनेर कसरी सिकाउने?,’ उनी भन्छन्, ‘अमेरिका बस्ने मेरी छोरी भारतीय पोशाक मगाउँछिन्। आफ्नो थारू पोशाकको विषयमा धेरै ज्ञान छैन उनलाई। यसरी धेरै कुरा हराएर गएका छन्।’
अधिवक्ता सञ्जय चौधरीका अनुसार थारू समुदायको आफ्नै उपचार पद्धति छ। अहिले पनि केही ठाउँमा हाडजोर्नी, जन्डिस लगायतका समस्याको उपचार स्थानीय रूपमै हुने गरेको उनले बताए।
‘यो हाम्रो पुर्खाले जानेको र सन्ततिलाई सिकाउँदै आएको ज्ञान हो। यो अनुभव र अभ्यासले प्रमाणित पनि भइसकेको छ,’ उनी भन्छन्, ‘तर विज्ञानले यसलाई स्वीकार्दैन, निषेध गर्छ।’
उनले आधुनिक उपचार पद्धतिलाई मात्रै प्रश्रय दिँदा परम्परागत ज्ञान, सीप लोप हुँदै गएको बताए।
थारु समुदायको इतिहास, संस्कृतिको विषयमा अनुसन्धान गर्दै आएका समालोचक डिआर पोखरेलले थारूको आफ्नै ज्ञान, सीप, संस्कार, भाषा, साहित्य, लोक गीत, कथाहरू रहे पनि संरक्षण नभएको बताउँछन्।
‘यो समुदायक सधैं प्रकृतिसँग मिलेर बस्यो। प्राकृतिक स्रोतको संरक्षण गरेर बस्यो। ध्वंश हुन दिएन,’ उनी भन्छन्, ‘उनीहरूले जोगाइदिएकाले अहिलेको पुस्ताले उपभोग गर्न पाएका छन्।’
पोखरेलले थारू समुदायको ज्ञान, सीप, संस्कृति विशिष्ट भएकै कारण अहिले धेरै विदेशीहरूले अध्ययन गरिरहेको बताए।
अर्का समालोचक रमेश प्रभात परम्परागत संस्कृतिको संरक्षणमा युवा पुस्ताको चासो कम देखिएको बताउँछन्। थारू समुदायका कथा, गीत, नाच सान्दर्भिक रहे पनि संरक्षणमा युवाहरूको सहभागिता कम देखिँदा नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको बताए।
थारू कल्याणकारिणी सभा चितवनका पूर्वअध्यक्ष टिकेन्द्र चौधरी विकास र परिवर्तनका नाममा आदिवासी, जनजातिको संस्कृतिमाथि हस्तक्षेप बढिरहेको दाबी गर्छन्। लोकतन्त्र प्राप्तिपछि आदिवासी, जनजातिको संस्कृति, सभ्यता र पहिचान हराउँदै गएको बुझाइ उनको छ।
‘हाम्रा चाडपर्व भड्किलो र खर्चिलो हुँदै गएका छन्। खाना, लुगामा पश्चिमा संस्कृति हावी भइरहेको छ,’ उनी भन्छन्, ‘नेपालको शिक्षामा आदिवासीका भाषा, संस्कृति कहिल्यै प्राथमिकतामा परेनन्। राज्यले सबै जातजातिलाई समान दृष्टिकोणले हेर्नै चाहेन।’
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले आदिवासीहरू हजारौं वर्षदेखि कुन ज्ञान प्रणालीमा बाँचिरहेको थियो भन्ने कुरा अबका दिनमा धेरै महत्वपूर्ण हुने बताए।
‘देशमा पश्चिमा संस्कृति हावी भइरहेको छ। युवा पुस्ता विदेश पलायन भइरहेका छन्। यहाँ बाँकी रहेकाहरूले पनि आफ्नो संस्कृतिलाई भुलिरहेका छन्,’ उनी भन्छन्, ‘हामी नलेखिएको इतिहास लेख्ने, पुर्खाबाट हस्तान्तरण हुँदै आएको रैथाने ज्ञान, सीपलाई पुनः विस्तार गर्ने सोचका साथ आएका छौं।’
कुलपति राई विकासले रैथाने ज्ञान प्राणालीलाई ध्वंश पारेको बताउँछन्।
‘मान्छेले विकासका लागि गरेका कामका कारण पृथ्वी नै संकटतर्फ बढिरहेको छ। यो अवस्थामा आदिवासीको ज्ञान प्रणालीले हामीलाई जोगाउन सक्छ। हामीलाई प्रकृतिमैत्री, मानवमैत्री हुन सिकाउँछ।’
स्थापनाको ६६ वर्षसम्म नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्य र भाषाको क्षेत्रमा मात्रै काम गरेकोमा अब जातजातिका संस्कृति, इतिहास संरक्षणमा पनि काम गर्ने राईले बताए।
प्रतिष्ठानले चितवनका आदिवासी थारू र कुमाल समुदायसँग उनीहरूको रैथाने ज्ञानको विषयमा संवाद गरेको थियो।
थारू, कुमाल, चेपाङ, दराई समुदायलाई चितवनका आदिवासी भन्ने गरिन्छ। २०७८ सालको जनगणनाकाअनुसार नेपालमा थारू समुदायको जनसंख्या १८ लाख ७ हजार १२४ छ। यो देशको कुल जनसंख्याको ६.२ प्रतिशत हो। कुमालको १ लाख २९ हजार ७०२, चेपाङको ८४ हजार ३६४, दराईको १८ हजार ६९५ छ।
चितवनमा थारू जातिको जनसंख्या ७२ हजार ६५८ छ। कुमालको ११ हजार ४०५, चेपाङको, चेपाङको ३५ हजार ६३७ र दराईको ८ हजार ८५० जनसंख्या छ।