साढे दुई वर्षकी बालिकालाई भारत लगेर बेचेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोले बिहीबार एक महिलालाई सार्वजनिक गर्यो।
प्रहरीले ललितपुर गोदावरी नगरपालिका वडा-१३ घर भई काठमाडौं जडीबुटी बस्ने उर्मिला भनिने ४३ वर्षीया कल्पना विश्वकर्मालाई सार्वजनिक गरेको हो।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले भृकुटीमण्डपबाट वैशाख १० गते पक्राउ गरेको थियो।
उनी काठमाडौं बस्ने भए पनि लामो समयदेखि मकवानपुर गइरहन्थिन्। आर्थिक अवस्था कमजोर भएका परिवारलाई भेटेर आफूले विभिन्न ठाउँका बालिकाहरूलाई पढ्न काठमाडौंको होस्टलमा राखिदिने भन्थिन्।
उनले बालिकाको परिवारसँग पटक पटक भेट गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।
'पटक पटक पीडितको घरमा पुगेर आफूले बालिकालाई पढाएर ठूलो मान्छे बनाइदिने विश्वास दिलाएकी रहिछन्,' एसपी फुयालले भने, 'पटक पटक भेटेर भनेपछि बालिकाको परिवारले विश्वास गरेको देखिन्छ।'
आर्थिक अवस्था एकदमै कमजोर भएका बालिकाको आमाबुबाले सात जना सन्तान हुर्काइरहेका छन्। उनीहरूले आफ्ना सन्तानले राम्रो शिक्षा र बस्न पाउने आसले उनीहरूलाई छोरी पठाउन राजी भएको प्रहरी अनुसन्धानमा खुलेको छ।
उनीहरूको गरिबी देखेर नै कल्पनाले बालिकालाई काठमाडौं लगेर पठाइदिने, भविष्यमा डाक्टर वा पाइलट बन्छे भन्दै आमाबुबालाई भ्रममा पारेको अनुसन्धानमा खुलेको छ।
परिवार राजी भएपछि चैत २९ गते कल्पनाले ती बालिकालाई उनकै घरबाट साथमा लिएर आएकी हुन्। त्यति बेला बालिकालाई पुर्याउन उनकी आमा पनि आएकी थिइन्।
काठमाडौं ल्याएर उनकी आमा फर्किएकी थिइन्। चार दिनसम्म कल्पनाले ती बालिकालाई आफ्नै साथमा राखेको एसपी फुयालले जानकारी दिए।
'चार दिन साथमा राखेपछि कल्पनाले भारतको सिलगुडी माइतीघर भएकी साथीलाई बालिका सुम्पिएकी रहेछिन्,' उनले भने।
बालिका दुई/चार दिन गाउँमा नदेखेपछि सोधपुछको क्रममा एक महिलाले लिएर गएको सूचना मकवानपुर प्रहरीसमक्ष पुग्यो। प्रहरीले राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषदलाई खबर गर्दै खोजी सुरू गर्यो। तीन वटै निकायले खोज्दा वैशाख १० गते बालिकाको उद्धार भएको उनले बताए।
उनीहरूले प्रहरीलाई दिएको बयान अनुसार बालिकालाई भारत पुर्याएर पुनः फिर्ता ल्याइएको पाइएको छ। यता खोजतलास हुन थालेपछि आफूहरू पक्राउ पर्ने डरले बालिकालाई फिर्ता ल्याइएको उनीहरूले प्रहरीलाई बताएका छन्।
'बालिका फिर्ता नल्याइएको भए उद्धार गर्न सकिँदैन थियो,' उनले भने, 'यसरी हराएका बालबालिका भेटिने सम्भावना न्यून छ।'
अनुसन्धानको क्रममा कल्पनाले बालिकालाई साथमा लिएर आएपछि संस्थाको तर्फबाट सहयोग भन्दै आमाबुबालाई २० हजार रूपैयाँ आइएमई गरिदिएको खुलेको छ।
'२० हजार रूपैयाँ दिएपछि कल्पनाले बालिकाका आमाबुबालाई फोन गरेर अरू सहयोग बिस्तारै गर्दै जाने बताएकी पीडित पक्षले बताएका छन्,' उनले भने।
ती बालिकाकी आमाले पनि उनले भनेको कुरा विश्वास गरेको देखिन्छ।
'नचिनेको मान्छेको प्रलोभनमा परेर आज एक बालिका बेचिएर पनि उद्धार भएकी छन्,' उनले भने।
आर्थिक अवस्था कमजोर भएका परिवारले आफ्ना सन्तान नचिनेको मान्छेको साथमा पठाउन नहुने प्रहरीको भनाइ छ।
अहिले ती बालिकालाई सुरक्षित आवास गृहमा राखिएको छ।
बालिकाको उद्धारपश्चात ती महिलाविरूद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी परेकाले कल्पनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
कल्पनाले अन्य अभिभावकहरूलाई पनि बालबालिकालाई होस्टलमा राखिदिने भन्दै लगेको खुलेको छ। त्यसैले उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।