कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूले दुइटा नागरिकता नलिएको बताएका छन्।
धनुषा प्रहरीका अनुसार उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भनेर जाहेरी परेको छ।
उक्त जाहेरीबारे समाचारहरू बाहिरिएपछि सिरोहियाले आफूले २०३४ सालमा नागरिकता र २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको स्पष्ट पारेका हुन्।
‘नागरिकताका विषयमा उजुरी परेको भन्ने चर्चाप्रति मेरो ध्यानाकर्षण भएको छ। मैले २०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०५७ मा प्रतिलिपि लिएको हुँ। जसमा '२०३३/३४ को प्रतिलिपिअनुसार' भनेर स्पष्ट उल्लेख छ। नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन,’ उनले भनेका छन्।
आफूभन्दा पछि कसैले लिएको नागरिकताको नम्बर आफ्नोसँग मेल खाएको कुरा आफ्नो जिम्मेवारी नहुने उनले बताएका छन्।
‘२०३४ मा मैले नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा त्यही नम्बर लेखिएको छ भने मेरो जिम्मेवारीको विषय होइन,’ उनको विज्ञप्तिमा उल्लेख छ।
हिमालयन इन्सुरेन्सको प्रबन्धपत्रमा उल्लेखित नम्बर भने टाइप गर्दा गलत भएको कुरा कम्पनीले नै जानकारी दिएको उनको विज्ञप्तिमा उल्लेख छ।
‘प्रबन्धपत्रसहित कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा मेरो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्यतथ्य आफैँ स्थापित हुन्छ,’ उनको विज्ञप्तिमा उल्लेख छ।