ललितपुरका चार सामुदायिक वनमा डढेलो लागेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार जिल्लाका पहाडी भूभागका अधिकांश जंगलमा आगो बलिरहेको छ।
मुख्यगरी महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका विभिन्न वनमा डढेलो लागेको एसपी सुवेदीले जानकारी दिए।
गएराति महालक्ष्मी नगरपालिका-९ रिसलस्थित गोमती सामुदायिक वनमा लागेको डढेलो वस्तीमा पस्ने जोखिम भएपछि दमकल र सुरक्षाकर्मी परिचालन गरिएको एसपी सुवेदीले बताए।
बस्ती नजिकका डढेलो बिहान ४ बजे निभाइएको थियो।
गोदावरी नगरपालिका-३ स्थित लप्सीडाँडा सामुदायिक वन, गोदावरी-२ र महालक्ष्मी नगरपालिका-९ को सीमानामा रहेको ताप्लेछाप सामुदायिक वन, गोदावरी-५ लेलेस्थित पाले सामुदायिक वनमा पनि डढेलो लागेको छ।
डढेलोले गोदावरी-५ मा रहेको विपासना ध्यान केन्द्रमा क्षति पुर्याउने जोखिम बढेपछि गएराति नै प्रहरी पुगेको र ध्यान केन्द्रलाई सुरक्षित तुल्याइएको एसपी सुवेदीले बताए।
बिहीबार बिहान मात्रै गोदावरी नगरपालिका-१३ स्थित झरूवा राशी सामुदायिक वनको डढेलो वस्तीमा पस्ने जोखिम रहेको खबरपछि दमकलसहित सुरक्षाकर्मीको टोली परिचालन भएको एसपी सुवेदीले बताए।
मंगलबार गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउन जाँदा जलेर गम्भीर घाइते भएका रमेश पहरी र शंकर पहरीको उपचारका क्रममा मृत्यु भएको थियो।
डढेलोका कारण मानवीय क्षति नहोस् भन्नका लागि डढेलोका क्षेत्रहरूमा दमकलसहित प्रहरी परिचालन गरिएको एसपी सुवेदीले जानकारी दिए। अहिले वस्ती नजिकका डढेलो निभाइएपनि जंगलमा अझै आगो बलिरहेको उनले बताए।
‘सय भन्दा बढी प्रहरी डढेलो निभाउन र वस्तीमा आगो पस्न नदिनका लागि खटिएका छन्। जोखिमपूर्ण ठाउँहरूको निरन्तर निगरानी गरिरहेका छौं,’ उनले भने।
त्यस्तै डढेलो लगाउने व्यक्तिको पहिचान र कारबाहीका लागि मातहतका सबै प्रहरी कार्यालयमा सर्कुलर गरिएको उनले बताए।