निर्माणाधीन छ लेन सडक छेउको ड्रेन (नाला) मा जथाभावी फोहोर मिसाइँदा नारायणघाट बजार दुर्गन्धित बनेको छ।
आकाशे पानी बग्नका लागि बनाइएको ड्रेनमा होटल, रेष्टुरेन्टहरूले सबै फोहोर मिलाइदिँदा पूरै बजार दुर्गन्धित बनेको हो।
दुर्गन्धका कारण यात्रु, व्यवसायी, ग्राहकहरू नाक, मुख छोपेर हिँड्न बाध्य भएका छन्।
होटल तथा रेष्टुरेन्ट व्यवसायीले छुट्टै ट्यांकी बनाएर व्यवस्थापन गर्नुपर्ने फोहोर सिधै ड्रेनमा जोडिदिएका छन्। फोहोरले ड्रेन नै ‘जाम’ भएको छ।
नारायणघाटका भेटघाट रेष्टुरेष्ट, राम मिष्ठान्न भण्डार, वैष्णव मिष्ठान्न भण्डार र जमघट रेष्टुरेन्ट लगायतका नाम चलेका रेष्टुरेन्टले सबभन्दा बढी फोहोर नालामा मिसाएको पाइएको छ। अन्य होटलले पनि फोहोर सिधै नाला जोडेका छन्।
भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले होटलहरूले छुट्टै विधिबाट व्यवस्थापन गर्नुपर्ने बोसो, तेल तथा घ्यूजन्य फोहोर ड्रेनमा जोडिदिएपछि जाम भएर दुर्गन्ध फैलिएको बताए।
लायन्स चोकदेखि पुल्चोकसम्म दुई किलोमिटर बढी ड्रेन जाम भएर दुर्गन्ध फैलिएपछि विभिन्न उपकरण प्रयोग गरेर सफा गर्ने काम भइरहेको महानगरले जनाएको छ।
अनुगमनका क्रममा सबै फोहोर ड्रेनमा जोडेको भेटिएका होटल तथा रेष्टुरेन्टलाई सचेत गराइएको लामाले बताए।
उनीहरूलाई एक हप्ता समय दिएर आफ्नै सोर्स ट्याङ्की निर्माण गर्न पत्राचार गरिएको उनले बताए।
ट्याङ्की निर्माण नगरी सिधै नालामा तेल, बोसोजन्य पानी, होटलबाट निस्कने ठोस फोहोर मिसाइएको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कारबाही गर्ने व्योहोराको पत्र महानगरले पठाएको छ।
सबै फोहोरहरू सिधै नारायणी नदी र पुङ्गी खेलामा मिसाइने गरिँदा नदी प्रदूषण बढेको छ। नारायणघाटको लायन्स चोक क्षेत्रमा रहेका बधशालाबाट सिधै नालामा रगत फाल्ने, होटलहरूले जथाभावी फोहोर फाल्ने गरेकाले निकै समस्या भएको अन्य व्यवसायीहरू बताउँछन्।
महानगरले नगरभरीको फोहोर पनि नदी किनारमै फाल्ने गरेको छ।
इन्जिनियर लामाले नारायणीमा आकाशको पानीबाहेक अरू बग्न नदिने नीतिअनुसार महानगरले आगामी वर्ष ल्याण्डफिलसाइट निर्माण गर्नेगरी योजना बनाइरहेको बताए।
नारायणघाट क्षेत्रको ढल व्यवस्थापनका लागि यसअघि निर्माण भएको परियोजनाको अहिले बजेटको अभावमा सञ्चालनमा समस्या देखिएको छ। उक्त परियोजना अलपत्र बन्दा फोहोर सिधै नदीमा पुग्ने गरेको हो।