जंगलमा सल्किएको आगो बुधबार दिउँसो १ बजेतिर सल्यानको त्रिवेणी गाउँपालिका–२ त्रिसेटोलमा पुग्यो। प्रेमबहादुर राम्जा मगरको काठले छाएको घर र गाउँका दुईवटा गोठ जले। गाउँलेहरूको सक्रियता र समयमै प्रहरी पुगेपछि मानवीय तथा भौतिक क्षति हुन पाएन।
गाउँमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा आयो।
गाउँलेहरूले प्रेमबहादुरको घरभित्र भएको अन्नपात, लत्ताकपडा जोगाए। दिउँसोको समय भएकाले पशुचौपायालाई पनि क्षति भएन। उक्त घरमा प्रेमबहादुरकी आमा एक्लै बस्थिन्। घरमा आगलागी भएपछि प्रेमले आफू बसिरहेको घरमा आमालाई राखेका छन्।
‘जंगलमा लागेको आगो एक्कासी घरछेउ आइपुग्यो, सबै गाउँले मिलेर अन्नपात, लत्ताकपडा निकाल्यौं,’ उनले भने, ‘प्रहरी समयमै आएर धेरै क्षति हुन पाएन, तै पनि आगो गाउँमा पुग्ने डर छँदैछ।’
त्रिवेणी गाउँपालिका–२ कै चोरखोलामा पनि केही दिनअघि आगलागी भएको थियो। वैशाख १४ गते वनमा लागेको डढेलो गाउँमा पुगेको थियो। उक्त आगलागीबाट तीन वटा घर र दश वटा गोठ जले।
‘त्यसबेला चोरखोलामा लागेको आगो पनि लामो समयपछि नियन्त्रणमा आएको थियो, स्थानीयका अन्नबालीदेखि अरू भौतिक क्षति भयो,’ त्रिवेणी–२ का वडाध्यक्ष हस्तबहादुर राम्जाले भने, ‘घर जलेर विस्थापित भएकाहरू कोही आफन्तकोमा छन्, कोही अन्यत्र भएका आफ्नै घरमा छन्।’
वैशाख १४ गते नै शारदा नगरपालिकाका रानीकोट, खैराबाङ र श्रीनगरका केही घरहरूमा जंगलबाट सल्किएको आगोले क्षति पुर्याएको थियो।
सल्यानकै छत्रेश्वरी गाउँपालिका–५ सेतामारेका प्रेमबहादुर वलीको परिवार आफ्ना दाजुको घरमा बसिरहेका छन्। बुधबार जंगलमा लागेको आगो घरमा सल्किएर घरमा पूर्ण क्षति भएको छ। उनको तीन तले टिनले छाएको घर र घरभित्र भएका भाँडाकुँडा, अन्तपात, लत्ताकपडा, बेसार जलेको छ।
‘शरीरमा लगाएका कपडा बाहेकका घरभित्र भएका सबै जलिसके, भागेर बाँचेका हौं,’ प्रेमले भने, ‘घरभित्र आगो अझैं पनि बाँकी छ, निभाउनलाई पर्याप्त पानी पनि छैन, अहिले हामी अलि पर दाइको घरमा गएर बसेका छौं।’
बुधबार आगलागी हुँदा छत्रेश्वरी–५ मा पाँच वटा घर र सात वटा गोठ जलेको वडाध्यक्ष फौदबहादुर बस्नेतले बताए। उनका अनुसार बिहान ९ बजेतिर जंगलमा लागेको आगो दिउँसो २ बजेतिर गाउँमा पसेको थियो। प्रहरी र स्थानीयको सहयोगमा दुई घण्टामा नियन्त्रणमा लिइएको उनले बताए। अन्न जोगाउन नसकिने गरी पूर्णरूपमा घर जलेका परिवारलाई तत्कालका लागि खाद्यान्नको व्यवस्था वडाबाट गरिएको अध्यक्ष बस्नेतले बताए।
मंगलबार बेलुका सुर्खेतको चौकुने गाउँपालिका–२ इँचला गाउँमा आगलागी तीन घर र ६ गोठ जलेका छन्। गाउँदेखि टाढाको जंगलमा सल्किएको आगो हावाहुरीसँगै एक्कासी गाउँका घरमा सल्किएको थियो।
‘आगो टाढाको जंगलमा देखिएको थियो, हावा पनि चलेकाले आइहाल्यो भने निभाउनुपर्छ भनेर सजग भएर छेउछाउमा बसेका थियौं, आगो एक्कासी घरमा सल्कियो,’ स्थानीय अबि बडुवालले भने, ‘अहिले छिमेकीसँग भएको त्रिपाल मागेर त्यसैमा बसेका छौं, घर त पूरै जलेको छ।’
घरमा भएको खाद्यान्न पनि जोगाउन नसकिएकोले बजारबाट किनेर ल्याएको उनले बताए। उनको परिवारमा चार जना छन्।
अझै पनि गाउँवरपरका रूखहरूमा आगो सल्किरहेकाले गाउँमा थप क्षतिको जोखिम रहेको उनले बताए।
यो वर्षको सुख्खा मौसम र हावाहुरीका कारण हुने आगलागीका घटनाबाट कर्णाली प्रदेशका तत्काल तीन वटा जिल्ला प्रभावित बनेका छन्। यी जिल्लाहरूमा जंगलबाट लागेको आगो बस्तीमा पुगिरहेको छ। जंगल र बस्ती नजिक भएका गाउँहरूमा जोखिम पनि उत्तिकै छ।
विशेषगरी सल्यान, रूकुम पश्चिम र सुर्खेत आगलागीका घटनाबाट पीडित छन्। यिनै जिल्लाहरूमा जंगल र बस्ती नजिक भएकाले थप क्षतिको जोखिम पनि छ। दुर्गम क्षेत्रमा आगलागी भइहाले नियन्त्रणका उपकरण नभएकाले स्थानीयहरू नै नियन्त्रणका लागि तयार बस्नुपरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रूकुम पश्चिममा पाँचवटा स्थानीय तहका विभिन्न गाउँमा आगलागी भएको छ। आगलागीबाट करिब २४ वटा घर–गोठ जलेका छन्। एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलका अनुसार जिल्लाका बाँफिकोट गाउँपालिका, सानोभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, आठविसकोट नगरपालिका र चौरजहारी नगरपालिकामा आगलागीले क्षति पुर्याएको छ।
‘तीनवटा पालिकामा धेरै क्षति भएको छ, दुईवटा पालिकामा हालसम्म अन्य पालिकाको तुलनामा कमै क्षति भएको छ,’ पोख्रेलले भने।
जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्याङ्कअनुसार यो वर्षको पुस महिना यता २५ जिल्लाभर २५ वटा घर जलेका छन्। यस्तै २० वटा गोठ र आठ वटा पसल जलेका छन्। यसबाट २ करोड ७५ लाख रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
जिल्लाका १० वटै पालिकाका केही बस्तीहरू आगलागीबाट प्रभावित बनेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए। सल्यानमा आगलागीबाट एक जना घाइते भएका छन्।
‘भौतिक रूपमा छत्रेश्वरी गाउँपालिकामा बढी क्षति भएको छ, जंगलका हिसाबले सबै पालिकामा उस्तै क्षति छ,’ उनले भने, ‘८०–९० प्रतिशत जंगलमा आगलागी भएको छ।’ उनका अनुसार सल्यानका दश वटा सामुदायिक वनमा आगो लागेको छ।
सुर्खेतमा पनि दैनिकजसो आगलागीको घटनाबारे प्रहरीमा रिपोर्ट आउने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रर बीर विश्वकर्माले बताए। चौकुने बाहेकका क्षेत्रमा ठूलो क्षति भएको सूचना नआएपनि सबैजसो जंगलमा आगलागी भएकाले जोखिम उच्च रहेको उनले बताए।
कर्णाली प्रदेशमा यो बर्ष मात्र आगलागीबाट १८ जनाको मृत्यु भएको छ। तीमध्ये १७ जनाको जंगलमा भएको आगलागीमा परि मृत्यु भएको हो। एक जनाको भने घरमा आगलागी हुँदा मृत्यु भएको हो।