सुनसरीको इटहरी उपमहानगरपालिकाले खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको छ।
मंगलबार स्थानीय खेती खोलामा बनेको संरचना हटाउन उपमहानगरले ३५ दिने सूचना जारी गर्दै अल्टिमेटम दिएको हो। खोला अतिक्रमण गरी बनाइएका संरचना नहटाए डोजर चलाउने भन्दै उपमहानगरले पत्राचार समेत गरेको छ।
उपमहानगरका मेयर हेमकर्ण पौडेल खेती खोलामाथि नै धेरै संरचना अनधिकृत रूपमा बनेको भन्दै ३५ दिनभित्र खोलाको भाग छोड्न पत्राचार गरेका हुन्। खोलाको भाग मिचेर बनाइएका संरचना नछाडे डोजर चलाउने मेयर पौडेलको भनाइ छ।
इटहरीको खेती खोलाको दुवै किनारबाट ६/६ मिटर छोडेर मात्रै कुनै पनि संरचना बनाउन पर्ने कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर पौडेलले बताए।
एक महिना अगाडि नै इटहरी उपमहानगरपालिकाले खोला-पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरू गरेको थियो। खेती खोलामा दर्जनौं घर टहरा भत्काउँदै आएको छ। खोला पैनी मिच्ने कसैलाई नछोड्ने मेयर पौडेलले बताउँदै आएका छन्।
उपमहानगरपालिका त्यस्ता संरचना हटाउँदा लाग्ने खर्च पनि सम्बन्धित व्यक्तिबाटै असुल गर्ने बताएको छ।