नुवाकोटको गल्छिमा दुइटा मोटरसाइकल स्कुल बससँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी नायब उपरिक्षक (डिएसपी) तिलक भारतीका अनुसार मृत्यु हुनेमा काठमाडौं बस्ने २७ वर्षीय रूबिन रावल र २६ वर्षीय स्वीकार राणा छन्।
'आज साँझ पाँच बजे बेलकोटगढी नगरपालिका-८ स्थित गल्छी त्रिशूली सडक खण्डमा दुर्घटना भएको हो,' उनले भने।
उनका अनुसार देवीघाटबाट सिर्खाली जाँदै गरेको अर्किड एकेडेमी बोर्डिङ स्कुलको बा ३ क ३७२२ नम्बरको बससँग बा ०२-०४४ प ३६९२ र बा ०२-०४६ प १५२९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा परी घाइते भएका २७ वर्षीय रितिक तिवारी र २५ वर्षीय उपकार थापालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको उनले बताए।
रूबिन र स्वीकारको त्रिशूली अस्पतालमा उपचार क्रममा मृत्यु भएको डिएसपी भारतीले बताए।
मोटरसाइकल र स्कुल बससहित चालकलाई नियन्त्रणमा लिइएको उनले बताए।