सहरमा टोल–टोलमा विद्यालय खुलेका छन्। विद्यार्थीलाई पढ्न रोजी–छाडी छ। विद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण पनि भइरहेकैछन्।
विद्यार्थी ओसार्न सजिलो होस् भनेर सरकारी विद्यालयमा बस समेतको व्यवस्था गरिएको छ।
पहाडी क्षेत्रका विद्यालयमा भने दुःखै दुःख छ। न पर्याप्त शिक्षक छन्, न आवश्यक कक्षा कोठा। तैपनी बालबालिकाहरू घन्टौं हिँडेर विद्यालय पुग्छन्। यति गर्दा पनि उनीहरूले राम्ररी पढ्ने अवसर पाएका छैनन्।
चितवनको राप्ती नगरपालिका–१३ कालिटारस्थित आधारभूत विद्यालयले यस वर्ष कक्षा ८ सञ्चालन गर्ने अनुमती पाएको थियो।
२०५३ सालमा स्थापना भएको उक्त विद्यालयमा लामो समयसम्म कक्षा ५ सम्ममात्रै पढाइ भएको थियो। उपल्लो कक्षा नहुँदा विद्यार्थीले पढाइ छोड्नेक्रम बढेपछि स्थानीयबासीको पहलमा दुई वर्षअघि कक्षा ६ र गत वर्ष ७ को पढाइ हुन थाल्यो।
यस वर्ष यो विद्यालयले कक्षा ८ को पढाइ सञ्चालन गर्ने अनुमती पाए पनि पढाउनका लागि कक्षा कोठा नहुँदा समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर प्रजाले बताए।
कक्षा ८ का लागि कोठा नहुँदा विद्यालयले बाँसले बारेर सानो टहरो निर्माण गरेको छ। विद्यालयको निकै पुरानो जीर्ण भवनको आडमा बाख्राको खोर जस्तो देखिने टहरो निर्माण गरिएको छ।
‘कुनै उपाय नलागेपछि के गर्नु। हामीले आफ्नो स्रोतबाट गर्नसक्ने यही नै हो,’ अध्यक्ष प्रजाले भने, ‘भर्खरै कोठा तयार भयो। अब पढाइ यहीँ सञ्चालन गर्ने हो।’
यो कक्षा समुदायले श्रमदान गरेर निर्माण गरेको हो।
उनले विद्यालयका लागि नयाँ भवन निर्माण गर्न बजेट माग गर्न नगरपालिका, प्रदेश मन्त्रालयदेखि शिक्षा मन्त्रालयसम्म धाएको बताए। सबैतिरबाट बजेट पठाउने वचन दिए पनि कतैबाट प्राप्त नभएको उनी बताउँछन्।
‘मैले केही महिनाअघि काठमाडौं पुगेर शिक्षा मन्त्रालयमा पत्र बुझाएँ। यहाँको समस्या सुनाएँ। बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर पनि बजेट चाहियो भनें। नगरपालिका त कति पटक धाएँ, कति पटक। तर कतैबाट सहयोग पाइएन,’ उनले भने, ‘अनुमती पाएपछि बालबालिकालाई पढ्ने वातावरण त बनाउनुपर्यो नि। हामी आफैं लागिपरेर यतिको कोठा बनायौं।’
विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठकाअनुसार यस वर्ष कक्षा ८ मा पढ्न १० जना विद्यार्थी भर्ना भएका छन्। विद्यालयमा अहिले २१७ जना विद्यार्थीहरु पढ्दै छन्। शिशु कक्षामामात्रै ४७ जना विद्यार्थी छन्।
कक्षा कोठा कम हुँदा दुईवटा कक्षालाई एक ठाउँमा राखेर पढाउन बाध्य भएको उनले बताए। यो विद्यालयमा अहिले ९ वटा कोठा छन्। एउटामा कार्यालय, एउटा कोठा स्टोर छ।
‘शिशु कक्षासमेत गरेर कम्तीमा ९ वटा कोठा पढाउनका लागिमात्रै चाहिन्छ। तर हामीसँग ९ वटा कोठामात्रै छन्। पुरानो भवन जीर्ण भइसकेको छ। साना कोठामा विद्यार्थी अट्दैनन्,’ उनले भने, ‘बाँसले बारेर बनाइएको कोठामा पनि १० जना विद्यार्थी अटाउलान् जस्तो लाग्दैन। विद्यालयको अवस्था त बिजोगै छ नि।’
यस विद्यालयमा २ स्थायी, २ राहत, २ नगर अनुदान शिक्षक, १ स्वयंसेवक, २ बालविकास शिशु शिक्षक छन्। ८ कक्षासम्म पढाइ सञ्चालन गर्न शिक्षक संख्या पनि पर्याप्त छैन। कोठा कम हुँदा दुईवटा कक्षाको पढाइ एउटै कोठामा चलाउनुपरेको छ।
‘अभिभावक कक्षा ८ जसरी पनि चलाउनुपर्छ भन्नुहुन्छ। तर हामीसँग न कोठा छ, न पर्याप्त शिक्षक,’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘अनुमती दिने तर व्यवस्थापनमा वास्ता नगर्ने हुँदा समस्या भएको छ।’
राप्ती–१३ का वडाध्यक्ष अशोक प्रजाले नयाँ भवन बनाउन तत्काल बजेटको व्यवस्था नभएकाले अभिभावकलाई जुटाएर अस्थायी कोठा तयार पारेको बताए। ‘यहाँका बालबालिकाले उपल्लो कक्षामा पढ्ने अवसर नपाएर पढाइ छाड्नु परेको छ। यो अवस्थाको अन्त्य गर्न कक्षा थप पर्दै लैजानुपर्छ। हामीले माग गरेपछि कक्षा थपको अनुमती त पाइयो तर भवन भएन,’ उनले भने, ‘श्रमदान गरेर यतिको बनाएका छौं।’
उनले सबैतिर बजेट माग गरिएको तर कतैबाट प्राप्त नभएको बताए। ‘वडासँग थोरै बजेट हुन्छ। त्यसले सबैतिर पुर्याउनुपर्छ अन्तबाट बजेट आएन भने वडाकैबाट भने पनि कोठा बनाउनुपर्छ भन्ने सोचेको छु,’ उनले भने।
विद्यालयका अध्यक्ष कृष्णबहादुर प्रजाले चुनावअघि १२ कक्षासम्म पढाउने व्यवस्था यहीँ गर्छौं भनेर भाषण गरेका नेताहरूले अहिले यहाँको समस्या सुन्नै नचाहेको बताए। ‘स्थानीय चुनावअघि यही विद्यालयको परिशरमा उभिएर १२ कक्षासम्म यहीँ पढाउने व्यवस्था मिलाउँछु भनेका थिए। अहिले ८ कक्षाका लागि कोठा चाहियो भनेर माग गर्दा पैसा आकाशबाट आउँछ र भन्दै पन्छिन्छन्,’ प्रजाले भने, ‘हाम्रो काम त भोट हाल्नेमात्रै रहेछ।’
राप्ती नगरपालिकाका मेयर शमशेर लामाले उक्त विद्यालयमा नयाँ भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट छुट्टाउने प्रतिबद्धता जनाए। उनले काम गर्ने चाहना हुँदाहुँदै पनि वातावरण नबनेको उनले बताए।
‘म नगरपालिकाका सबै विद्यालय पुगेको छु। सबैको समस्या बुझेको छु। निःशुल्क शिक्षा लागु भएको छ। तर भौतिक पूर्वाधारमा सोचेजस्तो गर्न सकेको छैन। कालिटारको विद्यालयमा भवन नहुँदा ४ र ५ कक्षाको पढाइ एउटै कोठामा हुन्छ भन्ने मैले पनि थाहा पाएको छु,’ लामाले भने, ‘नगरपालिकामा लामो समयसम्म ताला लगाइयो। यसले गर्दा काम गर्ने वातावरण भएन। आगामी वर्ष विद्यालयका पूर्वाधार निर्माणमा ध्यान दिन्छौं।’
राप्तीको वडा नम्बर १३ मा एउटा पनि माध्यामिक विद्यालय छैन। यो वडामा चेपाङ समुदायको संख्या बढी छ।