काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारसहित २० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा पक्राउ पुर्जी जारी भएको हो। काठमाडौं जिल्ला अदालतले २० जनाविरूद्ध पक्राउ अनुमति दिएको हो।
सिआइबीले बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिविरूद्ध जाहेरी दर्ता गरेको थियो। यसबारे सिआइबीले केही समयअघि देखि नै अनुसन्धान थालेको थियो।
नेपाल बाल संगठनका पूर्व कार्यसमिति सदस्यहरूविरूद्ध पुर्जी जारी भएको हो।
तत्कालीन अध्यक्ष रिता सिंह, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठविरूद्ध पुर्जी जारी भएको हो। त्यस्तै प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दिपकदास श्रेष्ठविरूद्ध पुर्जी जारी भएको स्रोतले जनाएको छ।
नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो।
२०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ।
नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो।
लिजमा लिने जोशी परिवार र विशाल ग्रुप रहेको गृह मन्त्रालयले जनाएको छ। अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो।
बृहस्पति विद्या सदन तर्फका पदाधिकारीहरूविरूद्ध पनि पुर्जी लिएको हो।
तत्कालीन अध्यक्ष चिरञ्जिवी तिवारी, प्रविणराज जोशी, मुरारीनिधी तिवारी, श्रद्धा संघाई, पुरूषोत्तम राज जोशी, अभिनव सिंघानिया, कीर्तिप्रसाद पाण्डे र सिद्धार्थ केडियाविरूद्ध अदालतबाट पुर्जी जारी भएको छ।