शेरबहादुर गुरूङको परिवार २०४६ सालमा जगतपुरको ध्रुबबाट बसाइँ सरेर आउँदा गणेशस्थान क्षेत्रमा ४२ धुरी मात्रै थिए। सबैले नवजागृती र जलदेवी वनको आडमा बनमाराले बारेका घरहरू बनाएका थिए। उनीहरूमध्ये धेरैको नाममा अहिले पनि जग्गाको लालपुर्जा छैन, आर्थिक रूपमा विपन्न छन् तर परिश्रम गरेर गर्वका साथ जीवन चलाइरहेका छन्।
चितवनमा सहरीकरण बढ्दै जाँदा यो ठाउँ मान्छेको रोजाइमा पर्दै गयो। ४२ घर बढेर ६६० पुग्यो। अव्यवस्थित बसोबासको केन्द्र बन्दै गयो गणेशस्थान क्षेत्र।
यहाँ बस्दै जाँदा शेरबहादुरको जीवनमा यस्तो दिन पनि आयो, अन्त कतै जाँदा कसैले ठेगाना सोध्यो भने उनलाई गणेशस्थान भन्न लाज लाग्थ्यो। यो क्षेत्र यति धेरै बदनाम बन्यो कि यहाँका बासिन्दाहरूले आफ्नो ठेगाना लुकाएर इज्जत बचाउँथे।
युवाहरू लागुऔषध सेवन गरेर बाटोमा झुल्दै हिँड्थे, कोही तथानाम मुख छाड्थे, सार्वजनिक स्थानमा निर्धक्कसँग लागुऔषध राखिएको सिरिन्ज खोप्थे। रूखको आडमा, झाडीमा, विद्युत् पोलको छेल परेर बसेका नांगा मान्छेहरू देखिन्थे। खुल्लेआम गाँजाको कारोबार हुन्थ्यो।
‘जाडो महिनामा जंगलको आडमा आगो फुक्ने, म्याट ओछ्याएर बस्ने अनि लागुऔषध सेवन गर्ने गर्थे। हेर्दा भर्खरका केटाकेटी, देख्दा कुरकुरे, नमकिनको पोका छ साथमा, तर भित्र लागुऔषध राख्दा रहेछन्,’ स्थानीय ५० वर्षीय गंगादत्त ढकालले भने, ‘त्यस्तो देख्दा रून मन लाग्थ्यो। टोल सकिने भयो, हाम्रा सन्तती पनि बर्बाद हुने भए भन्ने चिन्ताले सताउँथ्यो।’
झट्ट हेर्दा धार्मिक र पर्यटकीय स्थल देखिए पनि भित्रभित्र लागुऔषधको 'अखडा' जस्तै बनेको थियो भरतपुर–११ को गणेशस्थान क्षेत्र।
गणेशस्थान आमा समूहकी अध्यक्ष सुकमाया गुरूङकाअनुसार सुरूसुरूमा स्थानीय युवाहरूमात्रै कुलतमा फसेका थिए। बिस्तारै नचिनेकाअनुहार पनि देखिन थाले। हेर्दाहेर्दै जताततै गाँजाको व्यापार हुन थाल्यो। सेवनको मात्रै नभएर किनबेचको पनि अखडा बन्न थाल्यो।
‘जन्मिदा च्याँ च्याँ गरेको देखेको बच्चा बढेर दुर्व्यसनीमा फसेको देख्नुपर्यो। हेर्दाहेर्दै ऊ बिग्रियो। हेर्दा टिपटप देखिने, सम्पन्न परिवारका सन्तान जस्ता देखिने युवाहरू स्कुल, कलेजको पोशाकमै लागुऔषध किन्दै गरेको, सेवन गरिरहेका देखिन्थ्यो,’ उनले भनिन्, ‘हामी सम्झाउन खोज्थ्यौं। उनीहरू तर्किन्थे।’
गाउँमा लागुऔषध प्रयोगकर्ताको दबदबा यति बढ्दै गयो कि यहाँ ड्युटीमा गएका प्रहरीलाई उनीहरूसँग संगत नगरी सुखै थिएन। उनीहरूको कुरा नमान्ने प्रहरीलाई लखेट्ने, पिट्ने गरेर आजित बनाउने गरेको स्थानीय रामकृष्ण धनेल बताउँछन्।
‘प्रहरीलाई पनि हातपात गर्थे। हामी स्थानीयलाई टेर्ने कुरै भएन। एक पटक त हवल्दारको हातै भाँचिदिए। त्यसपछि यहाँ प्रहरी ड्युटीमा आउनै मानेनन् रे भन्ने पनि सुनियो,’ धनेलले भने, ‘आइहाले पनि नदेखेझैं गर्ने, उनीहरूसँगै मिल्ने गरेको देखियो।’
यी सबैकुराबाट आजित भएपछि गत वर्षको पुसमा स्थानीय अगुवा दीपक श्रेष्ठ एक्लै लागुऔषध विरूद्धको अभियानमा निस्किए। युवाहरूलाई सम्झाउने फकाउने गर्न थाले। तर भुसको आगोझैं फैलिएको लागुऔषधको जालो पन्छाउन एक्लैबाट सम्भव थिएन। गणेशस्थान टोल विकास संस्थाले उनको अभियानमा साथ दियो। टोलले वडा र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर लागुऔषध दुर्व्यसनी सचेतना तथा न्यूनीकरण समिति बन्यो। त्यसको संयोजक श्रेष्ठलाई नै बनाइयो।
यो समितिले हरेक दिन बिहान, दिउँसो, साँझ, राति गस्ती गर्न थाल्यो। बिस्तारै गस्तीमा स्थानीयबासी सबै जोडिए। एकै पटकमा ७०–८० जना भेला हुन थाले। दुर्व्यसनीविरूद्धको चेतनामूलक सडक नाटक, साँस्कृतिक कार्यक्रम, सन्देशमूलक स्टिकीर टाँस्ने, वन क्षेत्रको झाडी फाँड्ने, सिरिन्जहरू खोजी गरेर संकलन गर्न थालियो।
‘काम गरेर खाइरहेका, पढिरहेका युवा, युवती काम, पढाइ छाडेर दुर्व्यसनमा लागेका थिए। घरमा बसिरहँदा झ्यालबाट लागुऔषधको डिल गरिरहेको सुनिन्थ्यो। बाटो हिँड्दा प्रायःका आँगन, विद्युत् पोलको आडमा केटा, केटीहरू झुलिरहेका देखिन्थे। सम्झाउन खोज्दा कुटौंला झैं गर्थे,’ श्रेष्ठले भने, ‘अति नै भएपछि यो अवस्थाको अन्त्य गर्नुपर्छ, डराएर हुँदैन भनेर म आफै अभियानमा निस्किएँ। त्यसपछि सबैले साथ दिनुभयो।’
स्थानीयबासी एक ठाउँमा उभिएपछि अभियानले लागुऔषध सेवनकर्तालाई समातेर सम्झाउने, अभिभावक बोलाएर सम्झाउने, बुझाउने, आवश्यक पर्दा प्रहरीमा बुझाउने, जाहेरी दिने गर्न थाल्यो।
‘अभियानकैक्रममा एक पटक चार जना गस्तीमा निस्किएका थियौं। नवजागृती सामुदायिक वनको हातामा तीनजना युवा लागुऔषध सेवन गरिरहेका थिए। हामीले उनीहरूलाई सम्झाउने प्रयास गर्यौं। तर उनीहरूले हाम्रो कुरा सुनेनन्। उनीहरूसँग हतियार रहेछ, हामीलाई लखेट्न थाले। एक जना साथीको खुट्टामा चोट लाग्यो,’ श्रेष्ठले भने, ‘धाक, धम्की, गाली, गलोज त कति सुन्यौं कति। घरमै आएर तलाई मार्छु भन्थे, घरमा ढुंगा हान्थे।’
समितिले सहयोगीहरूसँग चन्दा उठाएर सिसिटिभी क्यामेरा जोडेको थियो। त्यसको फुटेजले लागुऔषधको कारोबार र सेवन गर्नेको पहिचान गर्न सघायो। उनीहरूले चन्दाबाटै स्पिकर, मादलजस्ता सामग्री किने। त्यसले सचेतना अभियान सञ्चालन गर्न सघायो।
‘समाउने क्रममा धेरै पटक प्रहरी र लागुऔषध प्रयोगकर्ताको झडप भएको थियो। प्रहरीले यो अभियानमा चाहिँदो सहयोग गर्यो। समुदाय र प्रहरी मिल्दाको परिणाम अहिले निस्किएको छ,’ अभियानका सचिव रेशमलाल सापकोटा भन्छन्, ‘करिब चार महिनाअघिको तुलनामा हाम्रो ठाउँ निकै शान्त र सुरक्षित बनेको छ।’
उनकाअनुसार चार महिनामा गणेशस्थान क्षेत्रबाट भरतपुर–११ मा बस्ने ५ जना महिलासहित १५० जना, उक्त वडाबाहेक चितवन जिल्लाका अन्य स्थानमा बस्ने ७ महिलासहित ५० जना, अन्य जिल्लाका ६० जनालाई लागुऔषध सेवनकर्ता र बिक्रेतालाई नियन्त्रणमा लिइएको थियो। उनीहरूमध्ये ६० जनालाई प्रहरीको जिम्मा लगाइयो। अन्यलाई अब आइन्दा यस्तो नगर्ने शर्तमा अभिभावकको जिम्मा लगाएर छाडिएको सापकोटाले बताए।
‘लागुऔषधको कारोबार हुने गरेका धेरै घरहरूमा खानतलासी भयो। लागुऔषध बरामद भयो। बिक्री गर्दागर्दै, खरिद गर्दागर्दै धेरै व्यक्तिहरू पक्राउ परे। अहिले पनि हामी समुदाय, विद्यालयहरूमा सचेतना कार्यक्रमहरू गरिरहेका छौं,’ उनले भने, ‘यो अभियानलाई अन्य टोलमा पनि फैलाउन कोसिस गर्दैछौं।’
टोल विकास संस्थाले ११ वर्षअघि नै यस्तो अभियान चलाउन खोजेको थियो। त्यतिखेर चित्रबहादुर गुरूङको संयोजकत्वमा समिति बनाएर लागुऔषध विरूद्धको अभियान सुरू गरिएको थियो। तर त्यतिखेर सबै सफल हुन नसकेको गणेशस्थान युवा क्लवका अध्यक्ष धनबहादुर बराल बताउँछन्।
‘उनीहरूको विरूद्धमा लाग्यो भनेर दुर्व्यसनीहरू हाम्रो फोटो नै लिएर खोज्दै हिँड्थे। निकै डर थियो,’ उनले भने, ‘कतिपयको परिवार नै कारोबारमा लागेको थियो। श्रीमान बेच्ने, श्रीमती पैसा गन्ने, ७ कक्षा पढ्ने छोरीको अगाडि ग्राहकले सिरिञ्ज हनिरहेकोसम्म देखिन्थ्यो।’
चार महिनाअघि सुरू भएको अभियानले १९ वर्षीय रमेश (नाम परिवर्तन गरिएको) रमेशलाई सुधारेकोमात्रै छैन, उनी स्वयं दुर्व्यसनी विरूद्धको अभियानमा हिँड्न थालेका छन्। लागुऔषध सेवनका कारण आफ्नो जीवनमा आइपरेको समस्याको कथा सुनाउँदै अन्य युवालाई यसमा नलाग्न प्रेरित गर्छन् उनी।
कक्षा ६ मा पढ्दापढ्दै चुरोट, सुर्ती सेवन गर्न सिकेका उनले बिस्तारै भोला, गाँजा, ट्याबलेट हुँदै डाइजेपाम, नुर्गिन र फेनागनको प्रयोग गर्न थालेका थिए। केही वर्ष यता उनी यी पदार्थ बिना बाँच्नै नसक्ने भएका थिए।
‘गाउँमा सिनियरहरू सबै यस्तैमा रमाएको देखेको थिएँ। कस्तो हुन्छ होला भनेर चाख्दा चाख्दै बानी पर्यो। अनि नभइनहुने भयो,’ उनले सुनाए, ‘म यसरी लागुऔषधमा फसेँ कि परिवारले मलाई त्यसबाट निकाल्न सकेन। म घर आउनै छाडेको थिएँ, बाहिर डुल्दै हिँड्ने बानी परेको थियो। केही महिनाअघि मलाई पुनर्स्थापना केन्द्रमा लगेर राखियो। त्यहाँ बसेपछि ममा धेरै सुधार आएको महसुस भएको छ। अहिले लागुऔषध नभए पनि हुन्छ।’
उनी अहिले विदेश जाने तयारी पनि गर्दैछन्। त्यसका लागि केही दिनअघि राहदानी बनाएका छन्।
कमल भट्टराई चितवनको एउटा प्लाजामा मेनेजरको काम गर्छन्। फुर्सतको बेलामा लागुऔषध विरूद्धको अभियानमा सहभागी हुनेगरेका उनी पनि आफैं वर्षौंसम्म दुर्व्यसनको सिकार भएका थिए। ९ वर्षअघि समाजमा पुनर्स्थापना भएका उनी अचेल दुर्व्यसनमा फसेकालाई सम्झाउने, परामर्श दिने, अभिभावकलाई राखेर छोरा, छोरीको विषयमा कुरा गर्ने, युवाहरूको मनोवृत्तिबारे बुझाउने काम गर्छन्।
‘लागुऔषध सेवन गर्ने बानीले मेरो जीवन अस्तव्यस्त भएको थियो। शारीरिक, मानसिक, भावनात्मकरूमा धेरै समस्या आएका थिए। शरीर दुब्लो हुँदै गएको थियो। सामान्य मान्छेजसरी हिँड्न सक्थिनँ लागुऔषध बिना, सोचाइ फरक खालको आउँथ्यो। पहिले थोरै सेवन गर्थें, पछि पेल्दै गयो त्यसको साहराबिना बाँच्न नसक्ने भएँ,’ उनले आफ्नो अनुभव सुनाए, ‘सबैकुरा बिग्रिसकेको थियो। सुतेर उठ्दा सबै बिग्रिएको देख्थें तर केही गर्न सकेको थिइनँ। पहिले आफूसँगै लागुऔषध प्रयोग गरेर छाडेका साथीले पुनर्स्थापना केन्द्रमा जान सुझाव दिए। त्यो सुझावलाई मान्दा परिवर्तन आयो। अहिले सबै राम्रो छ, शरीर राम्रो छ। परिवार खुसी छ।’
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले लागुऔषध विरूद्ध पाइलट प्रोजेक्टका रूपमा गणेशस्थान क्षेत्रमा अभियान चलाइएको बताए। गणेशस्थान जस्तै अन्य ठाउँका मन्दिर, ताल, जंगल क्षेत्रलाई पनि लागुऔषध प्रयोगकर्ताले अड्डा बनाइरहेको उनी बताउँछन्।
‘त्यसलाई नियन्त्रण गर्ने अभियान यहाँबाट सुरू गरेका हौं। समुदायसँग मिलेर विभिन्न गतिविधिहरू सञ्चालन गर्दा अभियान प्रभावकारी बन्यो। अहिले गणेशस्थान क्षेत्र विगतमा भन्दा धेरै परिवर्तन भएको छ,’ भण्डारी भन्छन्।
समुदाय र प्रहरी मिलेर दुर्व्यसनीहरूलाई नियन्त्रणमा लिने, मुद्दा चलाउने, आवश्यकता परे पुनर्स्थापना केन्द्रमा पठाउने गरिएको उनले बताए। ‘कोही त जति समाते पनि नसुध्रने रहेछन्। कानुनले सधैं नियन्त्रणमा राखिराख्न दिँदैन। छाडेपछि फेरि उही काम सुरू गर्नेहरू पनि भेटिए। थुनेरमात्रै भएन भनेर गणेशस्थान मन्दिरको अगाडि उभ्याइ अबदेखि यस्तो काम गर्दिनँ भनेर भगवानको नाममा कसम खान पनि लगाइयो,’ डिएसपी भण्डारी भन्छन्, ‘गर्न बाँकी केही राखिएको छैन।’
उनले प्रयोगकर्ता र केही बिक्रेतालाई समातेर कारबाही गरे पनि लागुऔषध दुर्व्यसनलाई फैलाउने सञ्जालको नेतृत्व गर्नेसम्म पुग्न नसकिएको बताए। किशोर, किशोरीलाई सुरूमा लागुऔषध निःशुल्क उपलब्ध गराएर आदत बनाउने अनि बिस्तारै त्यो बिना बाँच्ने नसक्ने अवस्था ल्याएर आर्थिक लाभ लिने ठूलै गिरोह सक्रिय रहेको पाइएको उनी बताउँछन्।
चितवन प्रहरीका प्रमुख एसपी भावेष रिमालले यो अभियानलाई अन्य टोल र वडाहरूमा पनि लैजान लागिएको बताए। उनले सचेतना अभियान सञ्चालन गर्ने, अव्यवथित बसोबास रहेको क्षेत्र, जंगल नजिक, नदी, पुल आसपासका क्षेत्रलगायतका सम्भावित स्थानमा कडा निगरानी गर्ने, उत्पादन तथा ओसारपसारमा संलग्न गिरोहको पहिचान गरेर कारबाही गर्ने अभियान चलिरहेको बताए।
लागुऔषध दुर्व्यसनी सचेतना तथा न्यूनीकरण समितिकी सदस्य मधु बजगाईं गणेशस्थान क्षेत्रमा सुधार देखिए पनि यस क्षेत्रमा दुर्व्यसनीहरूले स्थान परिवर्तन गरिरहेको सूचना पाएको बताइन्।
‘हाम्रो टोलमा त सुधार भयो। यहाँ हामी सक्रिय भइराख्यौं भने पहिलेको जस्तो अवस्था आउँदैन होला तर नजिकैका अरू टोलहरूमा अवस्था सुध्रिएको छैन,’ उनी भन्छिन्, ‘प्रशासनले समाउने, छाड्ने गर्नुभन्दा सुधारेरमात्रै छाड्ने नीति लिनुपर्छ।’
समितिका सचिव सापकोटा स्थानीय सरकारहरूले सामाजिक विकासमा ध्यान दिन नसक्दा विकृति बढेको बताउँछन्। भौतिक पूर्वाधारको विकासमा मात्र जोड दिँदा समाज विकास र चेतनाको विकास हुन नसकेको उनी बताउँछन्।
‘चुनावअघि सबै यस्तो गर्छौं, उस्तो गर्छौं भन्थे तर जितेपछि ढोकामै पुग्दा पनि फर्काइदिए,’ उनले भने, ‘विकृति बढेपछि हामीले धेरै पटक स्थानीय सरकारको ढोका ढकढकाएका थियौं। तर सहयोग पाउन सकिएन। उल्टै हामी हेपियौं। धन्न वडा र प्रहरीले सघायो।’
लागुऔषधको दुर्व्यसनविरूद्ध जिल्ला प्रशासन कार्यालय चितवनले अहिले तीन महिने अभियान पनि चलाइरहेको छ। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले औषध ओसारपसार र दुर्व्यसनको न्यूनीकरण, सचेतनामूलक र नियन्त्रणात्मक कार्यक्रम सञ्चालन भइरहेको बताए।
‘सरोकारवालासँग मिलेर उत्पादन, कारोबार, सेवनलाई नियन्त्रण गर्नुपर्नेछ। यसमा जनप्रतिनिधिहरूको धेरै सहयोग चाहिन्छ’ उनले भने, ‘चितवनलाई लागुऔषध ओसारपसारको ‘ट्रान्जिट पोइन्ट’ भन्ने गरिएकोमा अझै पनि सचेत नभए प्रयोगको मुख्य गन्तव्य हुने खतरा छ।’