धादिङको आखुँखोला-१ जलविद्युत् आयोजनाको ड्याम खोलिने भएको छ।
त्रिपुरासुन्दरी गाउँपालिकास्थित आयोजनाको ड्याम शनिबार बिहान ७ बजेदेखि मर्मतका लागि खोल्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।
ड्याम खोलिने भएकाले खोला किनारमा बस्ने नागरिकहरूलाई सतर्क रहन भनिएको उनले बताए।
त्रिपुरासुन्दरी गाउँपालिका, नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिका अन्तर्गत खोला किनारमा रहेकाहरूलाई सतर्क रहन भनिएको छ।
‘खोल्ने बित्तिकै पानीको बहाब बढ्न सक्छ भनेर सतर्क गराएका हौं। बिस्तारै कम हुँदै जान्छ। त्यति धेरै बढ्ने पनि होइन, सतर्क चाहीँ हुनुपर्छ,’ प्रजिअ अधिकारीले भने।
मर्मत सकिएपछि पुनः बन्द गरिने उनले जानकारी दिए।