ललितपुरस्थित जावलाखेलमा नुहाउन मिल्ने सुविधा सहितको सार्वजनिक शौचालय सञ्चालनमा आएको छ।
वाटर एड, एरोसन सस्टेनेबल स्यानिटेसन र ललितपुर महानगरपालिकाको सहकार्यमा उक्त शौचालय सञ्चालनमा आएको हो।
महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले केही समयअघि बंगलादेश भ्रमणका क्रममा त्यहाँका सार्वजनिक शौचालयमा स्नान कक्ष देखेपछि त्यसबाटै प्रभावित भएर नुहाउने सुविधा सहितको शौचालय बनाएको बताए।
बिहीबारदेखि सञ्चालनमा आएको शौचालयमा नुहाउने सुविधासहित बच्चाहरूका लागि स्तनपान र डाइपर फेर्ने कक्ष छन्।
बालबालिका र अपांगमैत्री रहेको शौचालयमा सेनेटेरी प्याडको पनि सुविधा छ। शौचालय बिहान ६ बजेदेखि रातिको ८ बजेसम्म खुला हुनेछ।
अहिलेलाई दिशा, पिसाब गरेबापत दश रुपैयाँ र नुहाएको सय रुपैयाँ शुल्क लिने गरिएको छ। दुई चार दिनमा यो शुल्क परिमार्जन गरिने मेयर महर्जन बताउँछन्।
महानगरले अन्य वडाहरूमा पनि स्नान कक्ष सहितको शौचालय बनाइरहेको छ। पाटन दरबार स्क्वायरमा निर्माणाधीन शौचालयको काम अन्तिम चरणमा रहेको उल्लेख गर्दै मेयर महर्जनले प्रत्येक वडामा नुहाउने सुविधा सहितको शौचालय बनाउने महानगरको योजना रहेको जनाए।
हेर्नुहोस् सेतोपाटीले तयार पारेको यो भिडिओः