नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआइजी)को सरूवा तथा पदस्थापन भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुई जना एआइजीको सरूवा र दुई जना एआइजीको पदस्थापन गर्ने निर्णय गरेको छ।
मानवस्रोत विकास विभागमा रहेका टेकप्रसाद राईको प्रशासन विभागमा सरूवा भएको छ। एआइजी मिरा चौधरी अवकाशमा गएसँगै प्रशासन विभाग खाली थियो।
त्यस्तै प्रदेश समन्वय विभागमा रहेका सुदिप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा गर्ने निर्णय भएको हो। प्रतिष्ठानमा रहेका एआइजी अनिवार्य अवकाशमा गएका थिए।
त्यस्तै, प्रहरी नायब महानिरीक्षकहरू उमेशराज जोशी र भिमप्रसाद ढकाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरी पदस्थापन समेत गरेको छ। जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, नक्साल र ढकाललाई मानवस्रोत विकास विभागमा पदस्थापन गरिएको हो।