रातो मच्छिन्द्रनाथको रथयात्रा सुरू भएको छ।
ललितपुरको पुल्चोकबाट शनिबार रातो मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको हो।
मच्छिन्द्रनाथसँगै मीननाथको रथ पनि तानिएको छ। मीननाथ मच्छिन्द्रनाथका बाबु हुन्। यो रथ अलि होचो हुन्छ।
दुवै रथलाई आज गाःबहाल पुर्याइन्छ।
नेपालकै सबैभन्दा लामो जात्रा रूपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा बिहीबारदेखि सुरू भएको थियो।
बिहीबार ललितपुरको कटुवाल दहमा विशेष पूजा गरी मच्छिन्द्रनाथको मूर्तिलाई चाँदीको कलशमा राखेर पाटनको तबहालमा ल्याइएको थियो।
त्यसपछि साँझ नै मूर्तिको रथारोहण गरिएको थियो।
म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करूणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरेर रथमा राखिएको थियो।
वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतीयाका दिन गौदान सहितको शान्ति स्वस्तिपश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिन्छ।
यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ।
रातो मच्छिन्द्रनाथ जात्राभर करिब १५ किलोमिटर डोरीको सहायतामा रथ तानेर परिक्रममा गराइन्छ।
तस्बिरहरूः