सुदूरपश्चिम प्रदेश मातहतका तीन जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितका कर्मचारीले अतिरिक्त सेवा गरे बापतको भत्ता नपाएको बताएका छन्।
जिल्ला अस्पताल बैतडीमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूले ९ महिनादेखि भत्ता नपाएपछि आइतबारदेखि आन्दोलनमै उत्रिएका छन्। उनीहरूले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई ९६ घन्टाको अल्टिमेटम दिएर बाँकी भत्ताका लागि बजेट दिन भनेका थिए।
त्यस अवधिमा माग पूरा नभएपछि आइतबारदेखि बैतडी अस्पतालमा आपतकालीनबाहेक सबै सेवा बन्द गरेर डाक्टर र कर्मचारी आन्दोलनमा उत्रिएका छन्।
बैतडीमा १ वर्षदेखि काम गर्दै आएका मेडिकल अधिकृत डाक्टर विजय बस्नेतले ४४ महिनाको फरकमा आउनुपर्ने भत्ता नआएको र पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रिएको बताए।
‘यसपालिको पहिलो चौमासिकमा आएको भत्ता २ महिना पनि पुगेन। डाक्टरदेखि कार्यालय सहयोगी, ल्यावका कर्मचारीलाई पुगेन, ताकेता गरिरहेका छौं तर मन्त्रालयबाट बजेट पठाउनुभएको छैन,’ उनले भने।
पुसदेखि नै अतिरिक्त सेवा वापत भत्ता नआउँदा कर्मचारीहरूलाई समस्या भएको बताइएको छ।
‘बजेट आउँछ, आउँछ भन्नुहुन्छ, असारको अन्तिममा आउँछ भनेको बजेट बन्द हुने बेला कसरी आउला भनेर शंकामा छौं हामी। यो विषयमा बोल्ने डाक्टरलाई पनि सरुवा गरिदिनुभयो। पछि फेरि रमाना नलिनु भनेर थामथुम पार्ने काम भएको छ,’ उनले भने।
जिल्ला अस्पताल बैतडीमा डाक्टरसहितका ९० जना कर्मचारी छन्। उनीहरूले अतिरित्त काम गरेपछि पाउनुपर्ने करिब ४९ लाख रूपैयाँ रोकिएको अस्पतालले जनाएको छ।
‘पहिला मन्त्रालयमा सचिव थिएन, सचिव भएपछि हुन्छ भने। अहिले सचिव हुनुहुन्छ मन्त्री भएन भन्छन्। हामी कहिले सचिव नभएर त कहिले मन्त्री नभएर समस्यामा परेका छौं,’ उनले भने।
दिनरात काम गर्ने कर्मचारीलाई अतिरिक्त सेवाबापतको भत्ता नपाउँदा श्रम शोषणमा परेजस्तो महसुस गरिरहेको डाक्टर बस्नेत बताउँछन्।
‘मन्त्रालल मालपोतजस्तो चल्छ भनेजस्तो कुरा गर्नुहुन्छ। हामी दिनरात काम गरिरहेकाहरूले श्रम शोषणमै परेजस्तो महसुस गरेका छौं। दरबन्दी पनि पूरा छैन। कर्मचारीको मनोबल गिरेको छ,’ डाक्टर बस्नेतले भने।
अस्पतालले १० पटक बजेट पठाउन पत्र पठाएको भएपनि मन्त्रालयले अहिले पत्र नै नपठाएको जवाफ दिने गरेकाले कर्मचारी निराश बनेको डाक्टरले बस्नेतको भनाइ छ।
यस्तै बाजुरा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले पनि अतिरिक्त समयमा काम गरेको भत्ता नपाएको धरै भएको गुनासो गरेका छन्।
अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर रोशन भट्टराईले पुससम्मको आधा रकम आएको बताए। त्यसपछिको भने अहिले रोकिएको छ।
साउनदेखि अपरेशन गरेपछि आउने भत्ता, भिडियो एक्स-रे गरेपछि आउने लगायतका कामको भत्ता रकम नआएको उनले बताए।
‘ओभरटाइमको पैसा पुगेन थप पठाउनुपर्यो भनेर लिखित पठाइएको छ,’ उनले भने।
कञ्चनपुरको महाकाली अस्पतालमा पनि आठ महिनादेखि त्यहाँका कर्मचारीले अतिरिक्त ड्युटी गरेबापत पाउनुपर्ने भत्ता पाएका छैनन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अर्जुन भट्टले पटक- पटक माग गर्दा पनि अहिलेसम्म रकम अस्पतालमा नआएको बताए। यो विषयमा मन्त्रालयसंग छलफल गरेर एक किसिमको वार्ता समेत भएको उनले बताए।
‘८ महिनादेखि रकम नआएपछि माघ, फागुन र चैतमा लगातार माग गरिरहेका छौं, अहिले सरकार गठन नभएकाले रोकिएको छ, मन्त्रालयमा मन्त्री नै छैन त्यहिकारण ढिलाइ भएको भन्नुहुन्छ, डाक्टर, नर्स, प्यारामेडिक्स, ननप्यारामेडिक्स र सफाई कर्मचारी सबैलाई समस्या छ,’ उनले भने।
प्रदेशको सामाजिक विकास मन्त्रालयका उपसचिव गणेश सिंहका अनुसार अस्पतालहरूमा डाक्टर लगायतका कर्मचारीलाई अतिरिक्त समय गरेको कामको भत्ताका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको थियो। उक्त रकम अस्पतालमा पठाइयो। अहिले रकम नपुगेको कुरा आएको छ।
यसअघि अस्पतालमा विनियोजित भएको रकमको खर्च र माग गरिएको रकमको विस्तृत विवरण मन्त्रालयमा नआउँदा पुनः रकम पठाउन नसकिएको उपसचिव सिंहले बताए।
‘भत्ता रकम सकियो भन्ने मात्रै कुरा आएको छ। विस्तृत विवरण नआएको हुनाले पैसा एकिन गर्न हामीलाई गाह्रो परेको छ। बाँकी चाहिने विवरण कति हो? पठाएको रकमले कसलाई कति भुक्तानी दिएको हो? भनेर पठाउनुहोस् भन्ने पत्र हामीले अस्पतालहरूलाई पठाएको छौं, त्यसको जवाफ आएपछि मात्रै रकम एकिन गरेर पैसा हामी पठाउँछौं,’ उनले भने।
अहिले अस्पतालहरूले भत्ता मागको लागि पठाएको पत्रमा विस्तृत विवरण नपठाएको मन्त्रालयले जनाएको छ। एकमुष्ट करिब यति पैसा चाहियो भन्ने पत्रले मात्रै फेरि रकम पठाउन नसकिने उपसचिवको सिंहले बताए।
‘विवरण यकिन भएपछि हामी असारसम्मका लागि भत्ताको रकम पठाउने तयारीमा छौं,’ यो विषयमा अस्पतालले मन्त्रालयलाई अल्टिमेटम दिनै मिल्दैन, हामीले उहाँहरूलाई आन्दोलन नगर्नुहोस् काम गर्दै गर्नुहोस् चाहिने कुरोको पत्राचार गरौ र त्यहि अनुसार समाधान गरौं भनेका छौं। अव अहिले मन्त्रालयमा निर्णय लिने मन्त्री छैनन्। मन्त्री नभएपछि फायलहरूनै अगाडी बढ्दैन त्यो कुरात कर्मचारीले बुझ्नुपर्ने हो,’ उनले भने।