जिल्ला अदालत ललितपुरबाट नाबालिग बलात्कारमा १८ वर्ष सजाय पाएका कञ्चनपुरका व्यवसायी सुशील चटौतलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।
उच्च अदालतका न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र हेमन्त रावलको इजलासले जेठ १ गते जिल्लाको फैसला उल्ट्याएर चटौतलाई सफाइ दिएको हो।
लिखित फैसला आइसकेको छैन।
राय किताबमा उल्लेख भएअनुसार चटौतलाई सफाइ दिँदा २ वटा आधार लिएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले बताए।
‘पीडितका आमाबावु र स्वयं पीडितले जाहेरी नदिई कुनै एउटा संस्थाले जाहेरी दिएको भन्ने पहिलो आधार छ। त्यस्तै चटौतले बलात्कार गरेको होइन भन्ने इन्कारी बयान लगायतका आधार कारणबाट जिल्ला अदालतको फैसला उल्टी हुने राय किताबमा उल्लेख छ,’ प्रवक्ता पराजुलीले भने।
मुलुकी अपराध संहिताको दफा ४ ले घटना भएको भनेर लिखित जाहेरी, मौखिक सूचना वा विद्युतीय माध्यमबाट पनि सूचना दिन सक्ने व्यवस्था छ। यसरी आएको सूचनालाई प्रहरीले दर्ता गर्नुपर्ने उल्लेख छ।
संरक्षक चटौतबाटै बालिकामाथि बलात्कार भएको विद्यालयले थाहा पाएपछि विद्यालयले नै बोलाएर बालिकाको उद्धार गरेको सिविसका कर्माचारीले जाहेरी दिएका थिए।
कन्चनपुर र ललितपुरको इमाडोलस्थित ग्रिनहिल सिटीको घर नम्बर ४८ मा बस्ने चटौतले आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको अनुसन्धानले देखाएपछि गएको वैशाख ११ गते सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
चटौत कालंगा हाइड्रोपावर लगायत कन्स्ट्रक्सन, ट्रान्सपोर्ट, होटलजस्ता व्यापारमा संलग्न छन्।
लामो समय बलात्कारबारे कसैलाई भन्न नसकेकी १३ वर्षीया बालिका आफू बस्दै आएको घरबाट भागेर स्कुल र स्कुलबाट राज्यको संरक्षणमा पुगेकी थिइन्। स्कुलले सिविस भन्ने बालअधिकारको क्षेत्रमा काम गर्ने संस्थालाई बोलाएपछि उसले बालअधिकार परिषदले सञ्चालन गर्ने हेल्पलाइनमा राखिएको थियो।
सिविसले नै बालिकाको तर्फबाट जाहेरी दिएको थियो। सुरूदेखि नै बालिकालाई परिवारले पनि साथ दिएको थिएन।
बालिकाले सरकारी वकिल समक्षको बयानमा आफूलाई चटौतले पटकपटक बलात्कार गर्ने गरेको र उजुरी दिएपछि आमाले समेत कुटपिट गरेको बताएकी थिइन्।
संरक्षकबाट बलात्कारमा परेको भन्दै राज्यको शरणमा पुगेकी बालिका प्रहरी, राष्ट्रिय बालअधिकार परिषद्, सरकारी वकिल कार्यालय र अदालतको संरक्षण नपाएपछि होस्टाइल गर्ने परिबन्दमा फसेकी थिइन्। अदालतमा बकपत्र गर्दा जाहेरीवाल प्रहरीसमक्षको बयानभन्दा उल्टो बयान गर्नुलाई होस्टाइल हुनु भनिन्छ।