काठमाडौं महानगरपालिकामा रहेको जुद्ध वारूण यन्त्र कार्यालयको भवन थप जीर्ण बन्दै गएको छ।
तर महानगरले बनाउन भने कुनै चासो दिएको छैन।
जुद्ध वारूण यन्त्र कार्यालयको भवन भूकम्पका बेला चर्किएर जीर्ण भएको थियो। भूकम्प गएकै पनि ९ वर्ष भइसकेको छ।
वि.सं २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पले क्षति पुर्याएको भवन संरक्षण गर्न महानगरले ढिलासुस्ती गर्दा भवनको संरचनामा झनै क्षति पुगेको छ। अर्कोतर्फ रेस्क्यु टिममा खटिने नगर र सशस्त्र प्रहरी सोही क्षति पुगेको भवनमा बस्न बाध्य छन्।
जुद्ध वारूण यन्त्र कार्यालयका प्रमुख ध्रुव भुजेलका अनुसार भवन बनाउन महानगरले विभिन्न समयमा धेरै पटक स्थलगत टिप्पणी उठाइसकेको छ।
'यहाँ भवनको स्थिति कस्तो छ भनेर विभिन्न समयमा टिप्पणी उठाउने काम नभएको होइन,' उनले सेतोपाटीसँग भने, 'तर टिप्पणी उठाउने काममा मात्र सीमित भएको छ। भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि बनाउने काम भएकै छैन।'
भुजेलका अनुसार ७ जना नगर प्रहरी र १८ जना सशस्त्र प्रहरी सो भवनमा बस्दै आएका छन्। त्यहाँ बस्ने कर्मचारीका लागि आवास कम भयो भनेर सोही क्षेत्रमा दुई वर्ष अघि अस्थायी क्वार्टर समेत बनाइएको छ। तर त्यो पनि अपुग रहेको उनी बताउँछन्।
मुख्य भवनको पहिलो तला उक्लिनासाथ पूर्व पट्टी पक्की भवनमा अग्नि नियन्त्रण कार्यालय प्रमुखको कक्ष छ। पुरातत्विक महत्व भएको उत्तर तिरको भवन छिर्नासाथ शौचालय छ। त्यसैको अलि अगाडि पश्चिमतिर गयो भने प्रहरीहरू बस्ने कोठामा जाने खुला प्यासेज देखिन्छ भने उत्तरतिर फर्के बसन्तपुरको दृश्य।
तर त्यहाँ भवनका पर्खालहरू समयमै संरक्षण नगर्दा क्षति भइरहेको छ।
बिमभन्दा माथि भित्ताको केही अंश खसेको छ। बर्खामा पानी पर्दा थप क्षति नहोस् भनेर लामो समयदेखि त्रिपाल ओढाएर राखिएको छ। तर पनि त्यहाँबाट पानी भने पूरै रोकिँदैन। पानी पर्दा कर्मचारीहरू त्यहाँ पानी पन्छाएर बस्न बाध्य छन्।
राजधानीको केन्द्रमा भएको कार्यालयमा त्यसमाथि अर्काको सुरक्षा गर्न खटिने प्रहरीहरू नै सुरक्षा बिना बस्न बाध्य भएको एक अधिकारी बताउँछन्।
'राजधानीको बिचमा रहेको काठमाडौं महानगरमा त यस्तो स्थिति छ भने अरू ठाउँमा त के होला,' ती अधिकारी प्रश्न गर्छन्, 'दिनरात जुनसुकै समयमा विपत् आउँदा पनि उठेर हिँड्न पर्ने कर्मचारी पनि यसरी बस्नुपरेको छ। बिचबिचमा सचिवालयबाट टिप्पणी उठाएको जस्तो त गर्छन्। तर खै त्यो टिप्पणी के गर्छन्?'
महानगरले भवनको नाम भने परिवर्तन गरेको छ। केही समय अगाडि मात्र महानगरपालिकाले नाम फेरेर काठमाडौं महानगरपालिका जुद्ध यन्त्र राखेको छ।
विपत व्यवस्थापन कार्यालयका प्रमुख विष्णु जोशी भने काठमाडौं महानगरपालिकालाई हस्तान्तरण भएपछि नाम परिवर्तन गरिएको बताउँछन्।
'पहिले यसको नाम जुद्ध वारूण यन्त्रको कार्यालय नै थियो। हस्तान्तरण गरेर हामीले चलाउँदा स्थानीयले काठमाडौं महानगरसँग दमकल नभएको कुरा गरेको सुनेपछि केही समय अगाडि काठमाडौं महानगरपालिका थपिएको हो,' उनले भने।
महानगरको वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले भने काम अगाडि नबढ्नुको कारण अभियन्ता र पुरात्व विभाग रहेको बताए। यहाँको भवन निर्माण गर्नका लागि आर्थिक वर्ष २०७९ मै बजेट विनियोजन भएको थियो।
ठेक्का प्रक्रिया पनि अघि बढिसकेको थियो। तर यसलाई अभियन्ताहरूले पुन: निर्माण नगरी प्रबलीकरण गर्नुपर्ने भनेर आवाज उठाएपछि अन्यौल बनेको बताए।
'महानगरपालिकाले कसरी बनाउने भनेर उत्तर क्षेत्र भवनको डिजाइन तयार पारिसकेको थियो,' उनले भने, 'त्यसैबीच अभियन्ताले उक्त भवन पुनः निर्माण नगरी प्रबलीकरण गर्नुपर्छ भनेर आवाज उठाए। त्यसपछि महानगर अन्यौलमा भयो र ठेक्का नै ड्रप गरिएको थियो।'
महानगरले तयार पारेको डिजाइनमा पूर्वको भवन पुनः निर्माण, पश्चिम र दक्षिणतिर कर्मचारीका लागि आवास निर्माण गर्ने योजना थियो। उत्तर क्षेत्र भने विश्व सम्पदा क्षेत्रमा पर्ने हुँदा सोही डिजाइनमा पुनः निर्माण गर्ने योजना महानगरले बनाएको वडाध्यक्ष महर्जन सम्झन्छन्।
अर्कोतर्फ पुरानो भवन भएको हुँदा पुरातत्त्व विभागसँग कसरी बनाउने भनेर समन्वय गर्न खोज्दा ठोस कुरा नआउने गरेको उनी बताउँछन्।
'हामीले बनाएको डिजाइन पनि हुँदैन भनेर पुरातत्त्व विभागले भन्छ,' उनले भने, 'कसरी बनाउने भन्दा ठोस कुरा नआउँदा काम अड्किरहेको छ।'
त्यस्तै, यो वर्ष वडा कार्यालयबाटै तीन करोड बजेट विनियोजन गरी बनाउने तयारी गरिरहेको वडाध्यक्ष महर्जनले बताए।
२०६५ सालमा गृह मन्त्रालय मातहत भएको जुद्ध वारूण अग्नि यन्त्र कार्यालय काठमाडौं महानगरपालिलाई हस्तान्तरण गरेको थियो।
सबै तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी