जेठ ६ गते दिउँसोको कुरा हो!
पाल्पा बागनासकाली गाउँपालिका वडा नम्बर ९ की मीना (नाम परिवर्तन) को दुहुनो भैंसी तीन/चार दिनदेखि बिरामी थियो।
गाउँका दिदीबहिनीले झारफुक गर्दा निको हुन्छ भनेपछि छिमेकी २९ वर्षीय पदम बस्यालको घरमा गत आइतबार ११ बजेतिर मीना त्यहाँ गएकी थिइन्।
त्यतिबेला पदम अर्का व्यक्तिलाई झारफुक गर्दै थिए। उनकी आमा आँगनमा मकै छोडाउँदै थिइन्। त्यसैले मीना पनि उनकी आमासँग केहीबेर मकै छोडाएर बसिन्।
झण्डै आधा घण्टाको पर्खाइपछि मीनाको पालो आयो।
उनले झारफुक गर्न अक्षता बोकेर गएकी थिइन्। उनले त्यो अक्षता दिँदै आफ्नो भैँसी बिरामी भएको जनाकारी गराइन्। मीनाले त्यति भन्न नपाउँदै पदमले मीनाको आँखा हेर्दै भने - 'दुईवटा ल्वाङ खाउ तिम्रो आँखामा बोक्सी चढेको छ त्यो झार्नुपर्छ।'
उनी त्यतिबेला छागाँबाट खसेझै भइन्। उनी केही बोल्नै सकिनन्।
पदमले नजिकै भएको पैयुको लठ्ठी तानेर मीनालाई पिट्न थाले। 'तिमिलाई दुख्दैन यो बोक्सीलाई लाग्ने हो भन्दै पिट्न थाले,' मीनाले भनिन्।
पदमले भनेका कुरा मीनाले सुनिरहेकी थिइन्। भटाभट पिट्न थालेपछि आफूले केही भन्न नसकेको उनी बताउँछिन्। उनले पिटिरहँदा चिच्याएको मात्र थाहा भयो। अरू उनले केही थाहा पाएकी नै थिइनन्।
'एकछिन पिट्न थालेपछि रूदै कराउँदै बाहिर निस्किएको थिएँ, त्यहाँ छिमेकी दाइ आएर छुट्टाएका हुन्,' मीनाले भनिन्, 'कतिबेर पिटे, के-केले पिटे भन्नेसमेत याद छैन। अर्धबेहोस जस्तै भएको थिएँ।'
छिमेकीले छुट्याउँदा पनि मीना अर्धबेहोस नै थिइन्। उनलाई के कारणले पिटे भनेर सोधिरहेका थिए। तर उनी केही भन्न सकेकी थिइनन्।
छिमेकीले मीनाका श्रीमानलाई बोलाइदिएका थिए। उनका श्रीमान गाउँकै स्वास्थचौकीमा कार्यरत छन्। पदमको घर र मीनाको घर ५/१० मिनेट वरपर पर्छ।
उनका श्रीमानले मीनालाई घरमा लिएर आएका थिए। घर आएपछि श्रीमानले मीनालाई के भयो भनेर सोधेका थिए। आफू तत्काल बोल्न नसक्ने भनेर सुतेको मीना बताउँछिन्।
'म गाह्रो भएकाले बोल्न नसक्ने अवस्थामा थिएँ, त्यसैले सिटामोल खाएर सुतेँ,' उनले भनिन्, ' त्यो दिन घरको काम गर्न तीन जना खेताला थिए। एउटी नजिकको बहिनीलाई खाजा बनाएर खान भनेर सुतेँ।'
उनले त्यो दिन दुई जनालाई बेसार काट्न र एक बहिनीलाई दाउरा ओसार्न बोलाएकी थिइन्। पदमको घरबाट फर्किँदा थकित देखेर आफूलाई के भएको उनीहरूले सोधे तर मीनाले केही बताउन सकिनन्।
'म बोक्सी हो भनेर कुटपिट भयो भन्न हिम्मत आएन त्यसैले त्यो दिन केही भन्न सकिनँ,' मीनाले भनिन्।
त्यो दिन उनले दिनभर केही काम गर्न सकिनन्। साँझ उनका श्रीमान फर्किएपछि सञ्चो नभएको भन्दै आफू सुतिरहेको सेतोपाटीलाई जानकारी दिइन्।
श्रीमानलाई पनि मीनाले त्यो दिन केही भनिनन्। उनी त्यो दिन सुतिमात्र रहिन्।
उनका अनुसार भोलिपल्ट बिहान उनका श्रीमानले कार्यालय जानका लागि खाना पकाइदिन भनेका थिए। त्यतिबेला उनी सकिनसकी उठेर नुहाउन थालेकी थिइन्। उनको ढाडमा निलो डाम देखेपछि श्रीमानले के भएको भनेर सोधेको मीना बताउँछिन्।
'शरीरभरी डाम देखेपछि श्रीमानले के भएको हो नढाँटी भन् भनेर गाली गरे,' उनले भनिन्, 'अनि बल्ल अघिल्लो दिनमा भएको घटना विस्तृतमा सुनाएँ।'
त्यसपछि उनीहरूले आसपासका महिलाहरूलाई बोलाएर मीनामाथि भएको घटनाबारे छलफल गरे।
मीना वडा तथा कार्यपालिकाको मेलमिलाप सदस्य पनि हुन्।
'बोक्सी भएकाले पिट्यो भन्ने हिम्मत नै आएन, समाजले के सोच्छन् भन्ने डर लाग्यो,' उनले भनिन्, 'गाउँघरतिर धामीझाँक्रीले जे भन्यो त्यही पत्याउँछन्।'
त्यही डरले उनले घटना गुपचुप राख्ने योजना बनाएकी रहेछिन्। श्रीमानले शरीरभरी निलो डाम देखेपछि बताउनुपरेको उनले जानकारी दिइन्।
मीनाका साथीहरूले आफूमाथि भएको घटना लुकाएको भन्दै गाली गरे।
उनका श्रीमानले पनि यसबारे आवाज उठाउनुपर्ने भन्दै मीनालाई सहयोग गरे। पदम छिमेकी भएकाले मीनाले एकआसपमा छलफल गरी माफी मागेमा कानुनी कारवाही अगाडि नबढाउने सुरूमा उनको पनि धारणाा थियो।
यसमा उनका सहयोगीहरू पनि सहमत थिए।
'दुई/तीन पल्ट पदमको घरमा पुग्दा उनी भेटिएनन्, उनका आफन्तलाई पनि खबर गरिदिएँ,' उनले भनिन्, 'दुई दिनसम्म सम्पर्कमा नआएपछि प्रहरीमा उजुरी गरेकी हुँ।'
उनले थपिन- 'छिमेकी हो। एकपटकलाई माफी दिन्छु भनेर सम्पर्क गर्न खोजेको थिए। तर उहाँ आउनु भएन।'
घटना भएको दिनदेखि नै पदम गाउँमा देखिएनन्। पदमले तीन/चार महिनाअघिदेखि मात्र आफूले धामीझाँक्री पढेर आएको र आफूमाथि देवी चढ्ने भनेर गाउँभरी हल्ला गरिरहेका थिए।
उनको हल्ला सुनेर माता चढेको भन्ने तीन महिला र एक पुरूष पदमकै घरमा पूजा गरेर बस्नेसमेत गरेका थिए। मीनालाई पिटेको दिन उनीहरू पनि त्यही भएको उनको भनाई छ।
उनलाई पदमले पिट्दै गर्दा छुट्याउने प्रत्यक्षदर्शी छन्। त्यसैले कानुनी प्रक्रिया अगाडि बढाएको मीना बताउँछिन्।
उनले आफूमाथि भएको घटनाबारे ७ गते श्रीमान र मेलमिलापकर्तालाई बताएपछि ८ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दिएकी हुन्।
उनको जाहेरीपश्चात ११ गते पदमलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (एसपी) सुगन्ध श्रेष्ठले जानकारी दिए।
'पीडितले निवदेन दिएपछि अनुसन्धान गरेर पीडकलाई पक्राउ गरेका छौं,' एसपी श्रेष्ठले भने, 'जिल्ला अदालतबाट शुक्रबार नै ७ दिनको म्याद थप गरेर यस घटनामा अनुसन्धान भइरहेको छ।'
बोक्सीको आरोप, कसुर र सजाय ऐन २०७२ को परिच्छेद ४ को दफा ११ (२)ले बोक्सीको आरोप लगाउने व्यक्तिलाई कस्ता सजाय हुन्छ भन्ने तोकिएको छ।
उक्त ऐनमा बोक्सीको आरोप लगाउने, त्यस्ता आरोप लगाएर कुटपिट गर्ने, सामाजिक बहिष्कार गर्ने लगायतका कसुर गरे ६ महिनादेखि २ वर्षसम्म कैद र पाँच हजारदेखि बीस हजारसम्म जरिवाना तोकिएको छ।