चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुले आहारासँगै प्लास्टिकजन्य वस्तु पनि खाने गरेको गत वर्ष विज्ञहरूको सार्वजनिक भएको एक अध्ययन रिपोर्टले देखाएको थियो।
निकुञ्जको कोर (भित्री) क्षेत्र र मध्यवर्ती वनको सीमा क्षेत्रमा गरिएको अध्ययनले यस्तो देखाएको थियो।
वन्यजन्तुको गोबरमार्फत् बीउहरूको फैलावटको विषयमा अध्ययन गर्ने क्रममा गोबरको थुप्रोहरूमा अनुसन्धान गर्दा प्लास्टिकका टुक्राहरू भेटिएका थिए।
बीउकै अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरूले एक सिंगे गैंडाको गोबरसँग सम्बन्धित नयाँ तथ्य पत्ता लगाएका छन्।
सिसोबाना ट्रोपिकल बोटानिकल गार्डेन, चाइनिज एकेडेमी अफ साइन्सेज्, युनान, चीनमा विद्यावारिधी गरिरहेका त्रिभुवन विश्वविद्यालय, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका उप–प्राध्यापक बलराम अवस्थी प्रमुख अनुसन्धानकर्ता रहेको समूहले गरेको अध्ययनले धेरै शाकाहारी वन्यजन्तुले गैंडाको गोबर र यसमा उम्रिएका वनस्पतिलाई महत्वपूर्ण आहाराको रूपमा प्रयोग गर्ने गरेको देखाएको छ।
सामान्यतया एकसिंगे गैंडाहरू एउटै ठाउँमा दिसा गर्छन्। उनीहरू गन्धले गोबरको थुप्रो भएको ठाउँ पत्ता लगाउँछन्। सकेसम्म थुप्रोमै पुगेर दिसा गर्छन्। अनुसन्धानकर्ताहरूले गोबरका थुप्रा झट्ट हेर्दा हरियो–कालो वा गाढा हरियो, खैरो नजिकै रहेका रूखहरूमा क्यामेरा जडान गरेर निगरानी गरेका थिए।
सन् २०२० र २०२१ को अगस्टदेखि नोभेम्बरसम्म गरिएको अध्ययनले एक सिंगे गैंडाको गोबर अन्य वन्यजन्तुका लागि आहाराको स्रोत बनिरहेको देखाएको हो।
‘गैंडाको गोबरमार्फत बीउहरूको फैलावटबारे अनुसन्धान गर्दा गोबरमा प्लास्टिक देखियो। त्यही अनुसन्धानकै क्रममा गोबर र त्यसमा उम्रिएका वनस्पति, किराहरूलाई अन्य वन्यजन्तुले महत्वपूर्ण आहाराकोरूपमा प्रयोग गरिरहेको पाइयो,‘ अवस्थीले भने, ‘यो वन्यजन्तुका लागि वैकल्पिक र पोषणयुक्त आहारा हुनसक्ने देखिएको छ।’
अवस्थीसहितको समूहले यो अनुसन्धानका लागि भौगोलिक रूपमा पृथक दुई क्षेत्र चितवन राष्ट्रिय निकुञ्न र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई रोजेको थियो।
करिब ६ सय किलोमिटर दुरीमा रहेको चितवन निकुञ्जमा ६९४ र शुक्लाफाँटामा १७ वटा एक सिंगे गैंडा छन्। बिगतमा तराईका प्रायः क्षेत्रमा फैलिएको गैंडाको बासस्थान अहिले चितवन आसपासका क्षेत्रमा सीमित बनिरहेको छ।
बासस्थान फेरि फैलाउने उद्देश्यले चितवन निकुञ्जबाट पटक–पटक गरेर एक सय वटा गैंडा अन्य निकुञ्जहरूमा स्थानान्तरण गरिएको थियो। शुक्लाफाँटामा अहिले रहेका गैँडाहरू चितवनबाटै स्थानान्तरण गरिएका र तिनका सन्तान हुन्।
अनुसन्धानकर्ताहरूले गैंडाको पुरानो बासस्थान र पहिले बासस्थान भएको तर बीचमा लोप भएर फेरि बासस्थान बनिरहेको दुई क्षेत्रलाई रोजेर अध्ययन गरेका थिए।
चितवन निकुञ्जमा २२ वटा र शुक्लाफाँटामा ८ वटा गोबरको थुप्रोमा अनुसन्धान गरिएको थियो। यसका लागि पहिलो वर्ष चितवनमा १४ र शुक्लाफाँटामा ५ वटा दोस्रो वर्ष चितवनमा ८ र शुक्लाफाँटामा ३ वटा क्यामेरा जडान गरिएको थियो। क्यामेरासँगै प्रत्यक्ष अवलोकन पनि गरेर तथ्यहरू सार्वजनिक गरिएको हो।
‘हामीलाई लागेको थियो नयाँ बासस्थानमा वन्यजन्तुको कम घनत्व भएकाले खानाको स्रोत पर्याप्त छ, त्यहाँका वन्यजन्तुलाई गोबर र त्यसमा उम्रिएका वनस्पतिमा निर्भर हुनु पर्दैन। मुख्य वासस्थान र फेरि सुरू भएको बासस्थानबीचको गोबरको प्रयोगको भिन्नता पत्ता लगाउनु हाम्रो उद्देश्य थियो,’ अवस्थीले भने, ‘नतिजा हामीले सोचेभन्दा फरक आयो। चितवनमा जसरी वन्यजन्तु गैंडाको गोबर वरपर झुम्मिएका थिए, शुक्लाफाँटामा पनि उस्तै देखियो।’
गोबरको थुप्रोमा उम्रिएका जडिबुटी, घाँस, च्याउहरू हरिण, बँदेल, बाँदर, चराहरूले खाएको दृष्यहरू क्यामेरामा कैद भएको उनले बताए। भ्यागुता, अजिंगर, मयुर तथा अन्य विभिन्न प्रजातिका चराहरू गोबरको थुप्रोमा देखिएका थिए। केही जनावरले दिसा खोस्रिएर खाएको, चराहरूले दिसामा रहेका बीउहरू, स–साना बिरूवाका टुक्राहरू खाएका थिए। केहीले दिसा, पिसावको गन्ध सुँघेका थिए। गोबरको थुप्रोमा पाटेबाघ पनि देखिएको थियो।
त्यसपछि उनीहरूले गैंडाको गोबर र त्यसमा उम्रिएका वनस्पतिमा पाइने पोषण तत्वको परीक्षण गरेका थिए। प्रयोगशालामा गरिएको परीक्षणमा ती वनस्पतिमा पर्याप्त पोषण तत्व रहेको पाइएको अवस्थीले बताए।
जनावरलाई विशेषगरी प्रजनन्को मौसममा पोषक तत्व बढी चाहिन्छ। पोषक तत्वहरू समय र वासस्थानअनुसार फरक हुन्छ।
‘कुनै तत्व चितवनकोमा बढी, केही शुक्लाफाँटाकोमा बढी रहेको पाइयो। यसबाट हामीले गैंडालगायतका ठूला शाकाहारी जीवको उपस्थितिले अन्य जनावरको लागि खानाको स्रोत तयार भएको निष्कर्ष निकालेका छौं। गैंडालाई पर्यटनसँगमात्रै जोडेर हेर्ने गरिएको छ। हामीले गैंडाको उपस्थितिले बिग्रिएको पारिस्थितिकी प्रणालीलाई पुनर्स्थापित गर्न पनि सघाएको पाएका छौं,’ उनले भने, ‘यसले अन्य वन्यजन्तुलाई वैकल्पिकरूपमा सीमित तर आवश्यक स्रोतहरू प्रदान गर्न सक्छ भन्ने देखियो।’
गैंडाको स्थानान्तरणले संख्या बढाउनमा मात्रै नभएर पारिस्थितिकी प्रणालीलाई बिगतकै अवस्थामा फर्काउनमा पनि सघाएको मान्न सकिने अवस्थीले बताए।
गैंडाको गोबरले माटोको उर्वराशक्तिलाई बढाइदिने र त्यसमा उम्रिएको वनस्पतिमा पर्याप्त पौष्टिक तत्व हुने यो अध्ययनले देखाएको छ। ठूला जनावर नरहेका ठाउँका साना वन्यजन्तुले त्यस्तो पौष्टिक आहारा प्राप्त गर्ने अवसर गुमाइरहेको पनि मान्न सकिने अवस्थी बताउन्छन्।
‘गोबरको थुप्रो वरपरको पोषक तत्वको मापन गर्न, हात्ती जस्ता अन्य ठूला शाकाहारी जनारको गोबरसँग तुलना गर्न थप अध्ययन गर्न सकिन्छ। यसलाई प्रणाली बनाएर मान्छेको लागि पनि प्रयोग गर्न सकिन्छ कि, त्यो विषयमा पनि अध्ययन आवश्यक देखिन्छ,’ उनले भने, ‘वन्यजन्तुमा राम्रो भइरहेको छ भने त्यहाँ उम्रिएको वनस्पतिले मान्छेलाई पनि राम्रो गर्छ कि परीक्षण गर्न सकिन्छ।’
यसका अलावा कार्वनको सञ्चितीमा पनि सघाउने उनी बताउँछन्।
बिगतमा गरिएको अनुसन्धानबाट गोबरमा प्लास्टिकका टुक्राहरू भेटिएको र अहिले कतिपय वन्यजन्तुले त्यही गोबर खाएको देखिएकाले यसले वन्यजन्तुको स्वास्थ्यमा कस्तो असर गरिरहेको छ भन्ने विषय पनि अनुसन्धानको महत्त्वपूर्ण पाटो रहेको अवस्थी बताउँछन्।
चितवन निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रको सीमा क्षेत्रमा २५८ वटा गैंडाको ताजा गोबर परीक्षण गर्दा १०.१ प्रतिशत गोबरमा आँखाले देखिने प्लास्टिकका टुक्रा भेटिएको थियो।
नमूना परीक्षण क्रममा सन् २०२० मा ७ प्रतिशत, २०२१ मा १३ प्रतिशत र २०२२ मा १० प्रतिशत गोबरभित्र प्लास्टिक भेटिएको थियो। निकुञ्जको कोर क्षेत्रमा गरिएको अध्ययनमा १८ प्रतिशतमा र मध्यवर्ती क्षेत्रमा ६ प्रतिशत नमूनामा प्लास्टिक देखिएको हो।
अध्येताहरूले निकुञ्जको कोर र सीमा क्षेत्रका घाँसे मैदान तथा नदी नजिकका जंगलबाट पनि गोबरको नमूना संकलन गरेर परीक्षण गरेका थिए। घाँसे मैदानमा भन्दा नदी वारिपारिका जंगलका नमूनामा धेरै प्लास्टिकजन्य वस्तु भेटिएका थिए। घाँसे मैदानमा ८ प्रतिशत र नदी नजिकका जंगलमा १२ प्रतिशत प्लास्टिकजन्य वस्तु भेटिएको हो।
यी दुई अध्ययनले निकुञ्जलाई पूर्णरूपमा प्लास्टिकमुक्त बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। चितवन निकुञ्ज हुँदै बग्ने ठूला नदीहरू राप्ती र नारायणीले उपल्लो तटीय क्षेत्रबाटै प्लास्टिक बगाएर ल्याउने गरेका छन्। बर्खामा बाढीसँगै बगेर आउने प्लास्टिकहरू नदी आसपासका जंगलमा अड्किने र पछि जनावरले घाँससँगै खाने गरेको भेटिएको छ।
अवस्थीले संरक्षण क्षेत्रहरूलाई प्लास्टिकमुक्त बनाउनुपर्ने बताए।
‘प्लास्टिकसँग वन्यजन्तुको सम्पर्क नै नहुने वातावरण बनाउनुपर्छ,’ उनी भन्छन्,‘प्लास्टिकको मात्रा बढ्दा वन्यजन्तुमा नकरात्मक असर पर्नसक्छ। नियन्त्रण गर्न सकियो भने वन्यजन्तुले गोबरबाट पनि लाभ लिन सक्ने रहेछन्।’
चितवन राष्ट्रिय निकुञ्जलाई २०७५ सालमै प्लास्टिकमुक्त घोषणा गरिएको हो। तर नियमित सरसफाइ नहुँदा व्यवहारमा कार्यान्वयन भएको पाइँदैन। जंगल सफारीमा जाने पर्यटकले पनि जथाभावी प्लास्टिक र बोतलहरू फालिदिने गरेका छन्।