डडेल्धुराको परशुराम नगरपालिकाले छोरी—बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ।
आर्थिक अभावले बीचमै छोड्ने महिलाहरूलाई पढाइमा निरन्तरता दिन सहज होस् भन्ने ध्येयले नगरपालिकाले छोरी—बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको बताएको छ।
प्राविधिक शिक्षामा महिलाहरूको पहुँच बढाउन पनि यो कार्यक्रमको लक्ष्य रहेको नगरपालिकाले जनाएको छ।
यो कार्यक्रम छोरी—बुहारीका लाग निकै लाभदायक मानिएको परशुरामकी–४ की कृष्णा धामीले बताइन्।
उनले यो कार्यक्रमले आफूलाई पनि फाइदा हुने बताइन्। कागजात पूरा गरेर कार्यक्रममा समावेश हुन आवेदन फारम भर्ने उनले सेतोपाटीलाई भनिन्।
‘नियमित पढाइका लागि एक रूपैयाँ नहुनेलाई यस्ता छात्रवृत्ति कार्यक्रले धेरै सघाउ पुग्छ, कार्यक्रम ल्याएअनुसार प्रभावकारी रूपमा लागू पनि हुनुपर्छ, यसले नगरका सयौँ छोरी बुहारीको जिन्दगी सपार्ने छ,’ उनले भनिन्।
परशुराम नगरपालिका भित्रका १२ वटै वडाका स्नातक वा स्नातकोत्तर तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनरत छोरी बुहारीलाई यो कार्यक्रम अन्तरगत छात्रवृत्ति दिइने छ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत नीति बजेट, तथा कार्यक्रम बमोजिम यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।
जसअनुसार नगरपालिका क्षेत्रभित्र अध्यापन नहुने प्राविधिक तथा व्यावसायिक कक्ष तथा तहहरूमा अध्ययनरत छोरी—बुहारीहरूलाई प्रति विद्यार्थी १ लाख रुपैयाँ दिइने छ।
यस्तै साधारण विषयमा स्नातक वा स्नात्तकोत्तर अध्यनरत छोरी-बुहारीलाई अधिकतम २५ हजार रुपैयाँ छात्रवृत्ति दिइने नगरपालिकाले जनाएको छ।
छात्रवृत्तिमा सहभागी हुनका लागि नगरपालिकाले मंगलवार १५ दिने सूचना निकालेको छ। सूचना अनुसार इच्छुकले आवेदन भरेर छात्रवृत्ति कार्यक्रममा सहभागी हुन नगर प्रमुख भरत बडायर जोशीले आग्रह गरे।
आवेदनअनुसार छनोट गरेर अध्ययनका लागि छात्रवृत्ति दिइने छ।
व्यावसायिक शिक्षा हासिलमा सहयोगका साथै प्रेरणा मिलोस् भन्ने उद्देश्यले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम ल्याइएको मेयर जोशीको भनाइ छ।
गाउँघरमा इच्छा भएर पनि छोरी–बुहारीले पढ्ने अवसरबाट वञ्चित हुनुपरेको मेयर जोशीको भनाइ छ।
छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम शिक्षामा महिलाहरूको पहुँच बढाउनका लागि ल्याएका उनले बताए।
‘यो छात्रवृत्ति कार्यक्रमले हाम्रो नगरका छोरी–बुहारीको व्यावसायिक तथा प्राविधिक शिक्षामा पहुँच पुग्ने अपेक्षा लिएका छौं, बिहेपछि पैसा नभएर पढाइ छोड्ने महिलाहरूका लागि पनि यसले पढाइलाई निरन्तरता दिने वातावरण सिर्जना गराउँछ, आवेदन अनुसार छनोट गरेर छात्रवृत्ति दिने काम सुरू हुन्छ अहिलेलाई कोटा केही तोकीएको छैन’ जोशीले भने।
यस्तै नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीलाई शैक्षिक कर्जा दिने निर्णय अनुसार काम पनि अन्तिम चरणमा रहेको मेयर जोशीले बताए।
उनका अनुसार एसइई वा सोभन्दा माथिको शैक्षिक तह अध्ययन गर्न चाहनेलाई बिना ब्याजमा कर्जा दिने नगरपालिकाले यसअघि नै निर्णय गरेको थियो।
प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी बिना ब्याजमा ५ लाखसम्म कर्जा दिइने छ।
कर्जा वितरणका लागि पनि आवश्यक प्रक्रिया पूरा गरेर वितरण गर्ने काम भइरहेको मेयरले बताए।