कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ सार्की टोलका बासिन्दालाई गर्मी याममा विद्युत्को सास्ती हुने गरेको छ। एघार परिवार बस्ने उक्त टोलमा अझै पनि विद्युत लाइन विस्तार हुन सकेको छैन।
विद्युत् लाइन विस्तार नभएपछि जोखिमयुक्त तरिकाले ६ सय मिटर परबाट सर्भिस तार तानेर स्थानीयले घरघरसम्म विद्युत् पुर्याएका छन्।
‘सर्भिस तार तान्दा निकै खर्च लाग्ने गरेको छ,’ स्थानीय भरत सार्कीले भने, ‘तार ल्याउन धेरै परिवारसँग खर्च नहुँदा केही परिवारले छिमेकीको घरबाट महसुलमा आधा रकम तिर्नेगरी विद्युत् जोडेका छन्।’
गर्मी याममा विद्युतीय उपकरण बढी प्रयोग हुने भएकाले यसरी जोडिएको विद्युत् सर्ट भएर आगलागी हुने सम्भावना बढेको उनले बताए।
लाइन विस्तार नहुँदा जोखमयुक्त तरिकाले विद्युत् उपभोग गर्नुपरेको सरस्वती सार्कीले बताइन्।
‘अरु समुदायका घरसम्म लाइन पुर्याइएको छ,’ उनले भनिन्, ‘सार्की समुदायको बस्तीमा मात्रै लाइन विस्तार गरिएको छैन। हिउँदमा विद्युत् खपत कम हुने भएकाले समस्या नभए पनि गर्मी याममा दुख हुन्छ।’
पाँच वर्षदेखि विद्युत लाइन विस्तारका लागि नगरपालिका कार्यालयमा अनुरोध गर्दा पनि सुनवाइ नभएको उनको भनाइ छ।
‘विद्युत् लाइन विस्तारका लागि चालु आर्थिक वर्षमा बस्तीका सबैको हस्ताक्षर गरेर नगरपालिकामा निवेदन बुझाएका छौँ,’ नगरपालिका कार्यपालिकाका सदस्य गणेश विकले भने, ‘कार्यपालिका सदस्यकै कुरा पनि सुनिँदैन, वडा कार्यालयसँग विद्युत लाइन विस्तारका लागि बजेट छैन, नगरपालिकाले वर्षौंदेखि अश्वासन मात्रै दिने गरेको छ।’
दश, पन्ध्रवटा खम्बा गाडेर बस्तीमा विद्युत लाइन विस्तार गर्न सकिने भएपनि जनप्रतिनिधिले चासो नदिँदा समस्या भएको दलित अधिकारकर्मी अन्तराम बडले बताए।
सर्भिस तार हुरीका कारण बीचबीचमा चुडिँदा बस्तीमा कहिलेकाहीँ लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ।
विद्युत् सेवा अवरुद्ध हुँदा गर्मीमा पसिना चुहाउँदै अनिदोमा रात काट्नुपर्ने अवस्था रहेको सेविका सार्कीले बताइन्।
नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरी सार्की बस्तीमा विद्युत्लाइन विस्तार गर्न यथाशीघ्र पहल गरिने वडाध्यक्ष चक्रबहादुर खड्काले बताए।
‘प्राधिकरणसँग लाइन विस्तारका लागि छलफल गर्नेछौँ,’ उनले भने, ‘नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्था गरी आगामी आवभित्र लाइन विस्तार गर्ने योजना बनाएका छौँ।’