सुर्खेतका प्रशान्त बिसीले सार्वजनिक यातायातका लागि आठ वर्ष डिजेल गाडी चलाए। गत वर्ष माघमा उनले डिजल हटाएर विद्युतीय गाडी (इभी) किने।
खरिदमा डिजेल गाडीको तुलनामा महँगो भए पनि डिजेलको पैसा बचत हुँदा गाडीको किस्ता तिर्न सहज हुने र दीर्घकालमा इभी लाभदायक हुने उनको विश्वास थियो।
प्रशान्तसँग १४ सिट क्षमताको विद्युतीय गाडी छ, सार्वजनिक यातायातका लागि गाडी सुर्खेत–नेपालगञ्ज ओहोरदोहोर गर्छ।
दीर्घकालका फाइदा हुने विश्वासले किनेका प्रशान्त अहिले सुर्खेतमा गाडी चार्ज नहुने समस्याले पीडित छन्। सुर्खेतमा रहेका चार्जिङ स्टेशनमा सुख्खा समयमा विद्युतको भोल्टेज कम हुँदा गाडी चार्ज हुन सकेको छैन।
‘मैले किन्दा विद्युतीय गाडी थोरै थिए। चार्ज नहुने समस्या पनि थिएन। सहज हुने रहेछ भनेर महँगो गाडी किनें,’ प्रशान्तले भने, ‘फ्युल (तेलको पैसा) बच्छ भन्ने लागेको थियो, अहिले गाडी चार्ज नभएर पालो लिन पनि पाएको छैन। कमाइ नै बन्द भएको छ।’
उनका अनुसार रूटमा एकपटक पालो छुट्दा लगभग १४ हजार रुपैयाँ गुम्छ।
विद्युतीय गाडी चलाउने अर्का यातायात व्यवसायी दीपेन्द्र खड्का गाडी लिएर राति चार्जिङ स्टेशनमा बस्छन्। रातमा विद्युतको भोल्टेज आउँछ र गाडी चार्ज हुन्छ भन्ने आशा गरे पनि धेरैपटक चार्ज गर्न नभएर फर्किनुपरेको उनको गुनासो छ। उनलाई राज्यले व्यवसायीसँग बेइमानी गरेको उनको आरोप छ।
‘दिउँसो भोल्टेज पुग्दैन। राति भोल्टेज बढेर चार्ज भइहाल्छ कि भनेर जान्छौं तर पनि त्यसै फर्किनुपर्छ,’ उनले गुनासो गरे, ‘राज्यले विद्युत् उपलब्ध गराउछु भनेपछि हामीले विद्युतीय गाडी किनेका हौं। हामीले ठूलो लगानी गर्यौं तर राज्यले बेइमानी गर्यो।’
यातायात व्यवसायीको समितिबाट नम्बर प्रणालीमा गाडीको पालो लिनुपर्छ। आफूले पालो पाएर पनि चार्ज नहुँदा गाडी चलाउन नसकेको उनको भनाइ छ।
बालकृष्ण रिजाल यस्तै अर्का व्यवसायी हुन जो सार्वजनिक सवारीका लागि विद्युतीय गाडी चलाउँछन्। स्टेशनबाट चार्ज गर्दा प्रतिपोइन्ट (ब्याट्रीको चार्ज प्रतिशत) साढे तीन रुपैयाँ तिर्नुपर्छ तर विद्युतको भोल्टेज पूरा नहुँदा चार्ज हुँदैन।
जेनरेटरबाट चार्ज गर्ने सुविधा भएर प्रतिपोइन्ट २० रुपैयाँसम्म तिर्न व्यवसायीहरू तयार रहेको उनको भनाइ छ। गाडीको संख्या धेरै हुँदा स्टेशनमा धेरै बेरसम्म पालो कुर्नु परेको छ।
‘वैशाख लाग्दासम्म त राति पालो कुरेर भए पनि चार्ज गरेर गाडी नेपालगञ्जसम्म पुग्थ्यो। आजकाल राति पनि भोल्टेज हुँदैन,’ बालकृष्ण भन्छन्, ‘हामी समितिबाट चलेका छौं, दुई दिनको फरकमा गाडी चलाउने पालो पाउँछौं। कतिपटक त त्यो पालो पनि गाडीमा चार्ज नभएर त्यतिकै कट्छ।’
उनका अनुसार सुर्खेतमा विद्युत् भोल्टेज कम हुने समस्याकै कारणले पालो छुट्ने गरेको छ।
उनले भने, ‘हामीले प्रदूषणमुक्त भनेर डिजेल गाडी छोडेर इभी किन्यौं। इभी निकै महँगो छ, गाडीमा चार्ज गर्न नपाउँदा किस्ता तिर्न समस्या परेको छ।’
पूरा चार्ज गर्न नपाउँदा कहिलेकाहीँ बाटोमै बन्द भएर अर्को गाडीले तान्नुपरेको पनि उनले बताए।
सुर्खेतमा हाल दुई वटा चार्जिङ स्टेशन छन्। एउटा स्टेशन सुर्खेत बसपार्कमा छ, अर्को पदमपुरमा छ। यी स्टेशनमा सुख्खा सिजनमा विद्युत भोल्टेज कम हुन्छ। सिंगो सुर्खेत उपत्यकामा नै भोल्टेज कम हुने गरेको छ।
सुर्खेतमा व्यावसायिक रूपमा २० वटा विद्युतीय गाडी चलेका छन्। तीमध्ये १४ वटा सुर्खेत–नेपालगञ्ज रूटमा, तीनवटा सुर्खेत–दैलेख रूटमा र तीनवटा स्थानीय रूटमा चल्छन्। ।
नेपालगञ्जबाट दैनिक २५ वटासम्म विद्युतीय गाडी सुर्खेत आउजाउ गर्छन्।
विद्युत भोल्टेज कम हुँदा विद्युतीय गाडी चलाउने व्यवसायीलाई त समस्या परेकै छ, प्रदेश राजधानी वीरेन्द्रनगरका बासिन्दालाई पनि समस्या भएको छ। विद्युत भोल्टेज कम हुँदा पानी तान्ने मोटर पनि चल्दैन।
नेपाल विद्युत् प्राधिकरण, सुर्खेत वितरण केन्द्रका प्रमुख अशोक लोहनीका अनुसार विद्युतभारको तुलनामा प्रसारण लाइन कमजोर हुँदा समस्या हुने गरेको छ। केही वर्षयता सुख्खा याममा भोल्टेजको समस्या भएको छ।
हाल कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन छ। यो प्रसारण लाइन २०४५ सालमा बनेको हो। कोहलपुरको ग्रीडबाट ३३ केभी विद्युत छोडिए पनि प्रसारण लाइनको तार पुरानो भएकाले विद्युत भारवहन क्षमता घटेको लोहनीले बताए।
‘यहाँ विद्युतको भार धेरै भयो। भारअनुसार प्रसारण लाइनमा पूरा बिजुली आउन नसक्दा खडेरीको समयमा भोल्टेजको समस्या भएको हो। सुख्खा समयमा तार पग्लिने भएकाले पनि क्षमता घट्छ,’ उनी भन्छन्, ‘आपूर्ति त मागअनुसार नै गर्न खोजिएको छ तर प्रसारण लाइन पुरानो भएकाले घटेर आउँछ।’
सुर्खेतमा रहेको सबस्टेशनको क्षमता १६ मेगावाट छ। यहाँ अहिले अधिकतम १२ मेगावाट विद्युत आउँछ।
कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनबाट प्रसारण हुने विद्युत् सुर्खेतसहित कर्णालीका रुकुम पश्चिम, डोल्पा, सल्यान, जाजरकोट, दैलेख, जुम्ला, कालीकोट, मुगु जिल्लाका सदरमुकाम र आसपासमा वितरण हुन्छ।
लोहनीका अनुसार सुर्खेतमा विद्युतको समस्या समाधान गर्न प्रसारण लाइन विस्तारको विकल्प छैन। अहिले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन (हाइटेन्सन) पूरा भए कर्णाली प्रदेशका लागि लागि दिगो समाधान हुनेछ।
तत्कालका लागि वीरेन्द्रनगर उपत्यकाको विद्युत समस्या समाधानको अर्को विकल्प कैलालीबाट ल्याइएको ३३ केभी प्रसारण लाइन पूर्णरूपमा वीरेन्द्रनगर पुर्याउनु हो। प्रसारण लाइन क्षेत्रमा स्थानीय बासिन्दाले विवाद सिर्जना गरेकाले यसमा समस्या भएको छ।
कैलालीबाट सुर्खेतको पश्चिम क्षेत्र बड्डीचौरसम्म ३३ केभी विद्युत आएको छ। त्यसपूर्वको बाबियाचौर र बड्डीचौरको बीचमा स्थानीयबासीले जग्गाको विषयमा विवाद गरेपछि वीरेन्द्रनगरसम्म ३३ केभी प्रसारण लाइन ल्याउन सकिएको छैन।
उक्त प्रसारण लाइनबाट ११ केभी विद्युत मात्र वीरेन्द्रनगर पु¥याइएको छ। ‘बड्डीचौरसम्म ३३ केभीकै संरचना पनि बनेको छ तर विवादका कारण बीचमा पोल राख्न सकिएको छैन,’ लोहनी भन्छन्, ‘विवाद मिलाउन प्रशासनलाई आग्रह गरेका छौं। विवाद समाधान भएको एक महिनाभित्र ३३ केभी वैकल्पिक लाइन वीरेन्द्रनगर ल्याउन सकिन्छ।’
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार प्रसारण लाइनको टावर निर्माणको प्रगति ७० प्रतिशत भएको छ। कुल १६० वटा टावरमध्ये १४० बनिसकेका छन्।
यस्तै सुर्खेतमा निर्माणाधीन सबस्टेशनको काम ८५ प्रतिशत सम्पन्न भएको छ।
‘राष्ट्रिय निकुञ्जभित्र रूख नभएका ठाउँमा टावर राख्ने काम सुरु भएको छ। रूख भएका ठाउँमा कटानको अनमुति आएर विभागको केही प्रक्रिया बाँकी छ,’ चौधरी भन्छन्, ‘बाँकेको बानियाँबारमा जग्गाको विवादका कारण तीनवटा टावर बन्न बाँकी छ।’
उनका अनुसार बानियाबारको विवाद तत्कालै समाधान भयो भने ढिलोमा आउँदो माघसम्ममा १३२ केभी कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन चालु हुनेछ।