सप्तरीको खडक नगरपालिका-३ स्थित खुस्बु चौधरीको घरमा जेठ १७ गते (बिहीबार) साँझ हल्लाखल्ला थियो।
खुश्बु र उनकी आमाबीच सामान्य विवाद भएको थियो। विवादकै क्रममा खुस्बुकी आमाले वडाध्यक्षलाई बोलाइन्।
खुस्बु पारलैंगिक हुन्। उनी पारलैंगिक भएको विषय आमाले थाहा पाएपछि घरमा विवाद भइरहन्छ।
परिवारले छोरा बनेर हिँड्न दबाब दिइरहेका हुन्थे। आफू प्राकृतिक रूपमै पारलैंगिक भएको र पुरूष बन्न नसक्ने भनेपछि परिवारसँगको सम्बन्ध बिग्रिएको खुस्बुले बताइन्।
त्यसदिन भने वडाध्यक्ष र उनका छोरा आएर आफूमाथि कुटपिट गरेको खुस्बु बताउँछिन्।
'आमा-छोरीको विवाद भइरहँदा वडाध्यक्ष र उनका छोराले अपमानजनक शब्द प्रयोग गरेर गाली र कुटपिट गरे,' खुस्बुले भनिन्, 'यौनिक अल्पसंख्यक त मानिस नै होइनन् जस्तो व्यवहार गरियो।'
त्यस दिनको घटनापछि अहिले खुस्बु कानुनी लडाइँमा छिन्।
कुटपिट भएको भोलिपल्टै उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन्। उजुरीपछि जिल्लाले इलाका प्रहरी कार्यालय कडरबोनलाई पत्र पठाएर घटनाबारे बुझ्न भनेको तर अहिलेसम्म घटनाबारे प्रहरीले सोधपुछ सम्म नगरेको खुस्बुले बताएकी छन्।
'हामी तपाईंलाई फोन गरेर बोलाउँछौं भनिएको थियो। अहिलेसम्म कुनै जानकारी आएको छैन,' उनले भनिन्।
जेठ २३ गते उनले राष्ट्रिय महिला आयोग जनकपुरधाममा पनि निवेदन दिएर कानुनी उपचार खोजिदिन आग्रह गरेकी छन्।
वडाध्यक्ष र उनका छोराले अपमानजनक शब्द प्रयोग गरेर लैंगिक पहिचानमा आँच आउने किसिमको दुर्व्यवहार गरेको उनले निवेदनमा खुलाएकी छिन्।
जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीबारे हामीले त्यहाँका प्रमुख एसपी गजुसिद्धि बज्राचार्यलाई सोधेका छौं।
उनले खुस्बुविरूद्ध पनि उजुरी परेको बताए। खुस्बुविरूद्ध उनकै आामाले उजुरी दिएकी रहेछन्।
खुस्बु निवेदन लिएर आएकै दिनमा उनको निवेदनसँगै घटनाको सत्यतथ्य बुझ्न इलाका प्रहरी कार्यालयलाई पत्र पठाएको एसपी बज्राचार्यले जानकारी दिए।
'घरायसी झगडा हुँदा गाउँघरमा आसपासका मानिस वा जनप्रतिनिधिलाई बोलाउने चलन छ। सोही क्रममा खुस्बुकी आमाले पनि वडाध्यक्षलाई बोलाएको भन्ने कुरा खुलेको छ,' एसपी बज्राचार्यले भने,'उनीमाथि अपशब्द बोलिएको र कुटपिट भएको हो कि होइन भनेर अनुसन्धान भइरहेको छ।'
एसपी बज्राचार्यका अनुसार यस घटनामा प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरिरहेको छ। साथै घटनास्थलमा पुगेर प्रत्यक्षदर्शीसँग पनि सोधपुछ गरिरहेको छ।
खुस्बु एउटै समाजमा बसेपछि लैंगिक पहिचानको विषयमा एकले अर्कालाई सम्मान गर्नुपर्ने र सबैको अस्तित्व स्वीकार्नुपर्नेमा त्यो नगरिएको बताउँछिन्।
अपशब्दसहितको गालीगलौज सुन्दै हुर्किएकी हुँ। प्रतिवाद गर्न सक्दिन थिएँ। प्रतिवाद गर्नुपर्छ, हिंसा सहनु हुँदैन भन्ने ज्ञान पनि थिएन। हुर्काइसँगै चेतना विकास हुँदै गएकाले फरक पहिचान भएका व्यक्तिले स्वतन्त्र रूपमा बाँच्न पाऊन भनेर पनि कानुनी उपचार खोज्नतर्फ लागेकी हुँ,' उनले भनिन्।
आगामी दिनमा आफूजस्तै पारलैंगिकमाथि नराम्रो व्यवहार नहोस् भनेर पनि कानुनी लडाइँमा लागेको उनले बताइन्।
खुस्बुको बाल्यकाल र अहिलेको पहिचान फरक छ।
बाल्यावस्थामा उनलाई बालकको परिचय थमाइएको थियो। त्यहीअनुसार हुर्काइएको थियो।
अहिले उनी आफूलाई महिला भने चिनाउन चाहन्छिन्। उमेर बढ्दै जाँदा महिलाको पहिरन र सोही रुप रङमा सजाउन रूचाएको उनले बताइन्।
'८/९ वर्षको उमेरदेखि नै केटीको लुगा लगाउन र मेकअप गर्न एकदमै धेरै रहर लाग्थ्यो, त्यतिबेला परिवारले रमाइलो मान्नुहुन्नथ्यो,' उनले भनिन्, 'उमेर बढ्दै जाँदा पनि सोही रहर बढ्दै गयो।'
१५/२० वर्षको उमेरसम्म आफू पुरूष भएर चिनिए पनि महिलाको पहिरन लगाउने भित्री इच्छा भनेर दबाएरै राखिन्। परिवारलाई भन्न सकिनन्।
त्यतिबेला उनलाई महिला र पुरूषबाहेक फरक पहिचान हुन्छ भन्ने थाहा थिएन। १० वर्षअघिमात्र लैंगिक तथा यौंनिक अल्पसंख्यकमा पर्ने रहेछु भनेर थाहा भएको उनले बताइन्।
उनले यसबारेमा बोलिरहेका साथीहरूसँग सम्पर्क बढाइन्। फेसबुकमा आफ्ना रहरहरू सुनाइन्। त्यसपश्चात् मात्र आफू पारलैंगिक महिला भएको थाहा भएको उनले बताइन्।
'यही कुरा परिवारलाई भनेपछि घरबाट निकाल्ने धम्की दिनुभयो,' उनले भनिन्, 'पढेलेखेको नभएकाले समाजले नस्वीकार्ने डरले एक दुईवर्ष चुप बसेँ।'
बुवा खुस्बु सानै हुँदा बितेका थिए। आमाले घर धानेकी थिइन्। उनीसहित चार सन्तानको जिम्मेवारी एक्ली आमाको काँधमा थियो। आमाले डर देखाएपछि केही समय आफ्नो पहिचानलाई लुकाएको उनको भनाइ छ।
'महिलाको कपडा र मेकअप लगाउने रहरले गाउँमा सांस्कृतिक नाचगानमा जान थालेँ। आफूले पनि महिलाका कपडा लगाएर नाच्न थालेँ,' उनले भनिन्, 'बिस्तारै त्यही कपडामा हिँडडुल गर्न थालेकी हुँ।'
उनी खुलेर बाँच्न थालेको सात–आठ वर्ष मात्रै भयो। समाजको केके टिप्पणी सुन्नुपर्ने हो भनेर मन भने सशंकित भइरहन्छ।