अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ भाटगाउँका जीवन रोका मगरले चामल ढुवानी गर्न आइतबार आफ्ना तीन वटा खच्चड दैलेखको आठविस नगरपालिकाको खिड्कीज्युला बजार पठाए।
सँगै अरू दुई जनाका पाँच-पाँच वटा खच्चड चामल बोक्न पठाइएको थियो। तीन व्यापारीका १३ वटा खच्चड लिएर हेरालु नवीन नेपाली आएका थिए।
पञ्चदेवल नगरपालिकाको उत्तरी गाउँ कालेकाँमा आइसकेपछि दैलेखसँग जोडिन कर्णाली नदीमाथि झोलुङ्गे पुल छ। यही पुल भएर खच्चड अघि बढ्दै थिए।
खच्चड हेरालु नवीन पुलमा पुग्दा केही खच्चड पुलको बीचमा पुगिसकेको थिए। खच्चडको भारले एक्कासी पुल पूर्वतर्फ कोल्टो पर्यो। खच्चडका खुट्टा धमाधम पुलको जालीबाट बाहिर निस्किए। खच्चडको शरीर पुलकै जालीमा अड्किए। त्यसपछि १३ वटा खच्चड छटपटिन थाले।
खच्चड पुलको जालीमा अड्केको देखेपछि नवीन अघि बढ्न सकेनन्।
‘हेरालुले जसो तसो ज्यान बचाएछ, मेरा दुइवटा खच्चड मरिसकेका छन्, अब एउटा मात्र बाँकी रह्यो,’ जीवनले भने, ‘२० बर्षभन्दा धेरै भयो खच्चडबाट भारी बोक्ने व्यवसाय गर्न थालेको, पहिलो पटक यति ठूलो घटना भयो, सरकारले अहिलेसम्म यो पुल मर्मतमा ध्यान दिएको रहेनछ।’
पुलमा फसेका खच्चड झण्डै दुई घण्टा छटपटाए। नजिकैको प्रहरी चौकीले खबर गरेपछि अछाम र दैलेखबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुग्यो। पाँच घण्टा लगाएर स्थानीय र सुरक्षाकर्मीको टोलीले ११ खच्चडको उद्धार गरे भने दुइटा बचेनन्।
यो पुल २२ वर्ष पुरानो हो। खिड्कीज्युला बजारमा कर्णाली राजमार्ग बनेपछि केही सुविधा थपिएका थिए।
यो पुलबाट ओहोरदोहोर गर्ने पञ्चदेवलको भाटगाउँ, कालेकाँडा लगायतका गाउँमा भने निकै विकटता छ। उनीहरुले खाद्यान्न, लत्ताकपडा किन्ने नजिकको बजार भनेको पनि दैलेखकै खिड्कीज्युला हो।
सम्बन्धका हिसाबले दैलेख र अछामबीचको व्यापारिक, पारिवारिक र शैक्षिक सेतु बनेको थियो। खच्चड उद्धार गरेपछि यो पुल पूर्ण रूपमा बन्द गरिएको छ। पुलका दुवै मुखमा तारजाली लगाइएको आठबीस–६ का वडाध्यक्ष नवराज शर्माले बताए।
‘पुलको एकतर्फको भाग पूरै ढल्केको छ, तीनवटै लठ्ठा चुँडिएका छन्,’ वडाध्यक्ष शर्माले भने, ‘जोखिम भएकाले हामीले बन्द गरिदिएका छौं, नजिकै अर्को पुल बन्ने क्रममा छ।’
बन्दै गरेको पुलको काम भर्खरै सुरु भएको उनले बताए। उनकाअनुसार अहिले लठ्ठा चुँडिएको पुलदेखि करिब १० मिनेको दूरीमा अर्को झोलुङ्गे पुल बन्न लागेको छ।
वडाध्यक्ष शर्माका भनाइअनुसार दुई जिल्ला जोड्ने त्यो झोलुङ्गे पुलको रेखदेख नियमित नभएकै कारण आइतबार यति ठूलो घटना भएको हो।
खच्चड हिँड्न थालेपछि चुँडिएका पुलका तीनवटै लठ्ठा खियाले खाइसकेका थिए। अरु बेलामा यसैगरी खच्चड हिँडाल्ने पुलमा आइतबार अस्वाभाविक रुपमा लठ्ठा चुँडिएको उनले बताए।
‘एकातिर नयाँ पुलले जसरी भार धान्ने कुरा भएन, खच्चड पनि एकैसाथ धेरै हिँड्दा समस्या भयो,’ शर्माले भने, ‘अर्कोतिर नियमित रेखदेख गेर मर्मतसम्भार नभएको रहेछ, चुँडिएका लठ्ठा खियाले झुरुम्म भएका रहेछन्, त्यही भएर एकैसाथ चुँडिए।’
अछामको विद्यालयमा पढ्न जाने दैलेखका कयौं विद्यार्थीका लागि कर्णाली यही पुलबाट तर्थे।
अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडामा चण्डिका माध्यमिक विद्यालय छ। यो विद्यालयमा दैलेखको आठबीस नगरपालिका–६ र ४ का तल्लो गाउँका थुप्रै बालबालिका पढ्न जान्छन्।
उनीहरुलाई आफ्नो पालिकाको विद्यालय जानुपरेमा डेढ घण्टा लाग्ने भएकाले अछामको विद्यालयमा पढ्ने गरेको वडाध्यक्ष शर्माले बताए।
उनकाअनुसार उक्त झोलुंगे पुल तरेर अछामको चण्डिका माध्यमिक विद्यालयमा जान बढीमा १५ मिनेट लाग्छ। आफ्नै पालिका भित्रका विद्यालयमा जान ती गाउँका विद्यार्थीलाई डेढ घण्टासम्म लाग्छ।
यो पनि: झोलुंगे पुलमा फसेका खच्चडको पाँच घन्टा लगाएर उद्धार, दुइटा बचेनन् (भिडिओ)