मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन्।
सुन्दरीजल बागमती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट २७ दशमलव ५ किमी सुरूङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका-१ महाकालमा प्रशोधन हुन्छ। दैनिक मेलम्चीबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा मौसममा काकाकुल छन्।
यहीँबाट बागमती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरण गरिन्छ। वर्षायाममा बागमतीबाट करिब १३ करोड लिटर पानी वितरण गरिन्छ।
यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिँदै आएको बागमती नदीको पानी पनि पिउन पाएका छैनन्।
खानेपानीको समस्या भएपछि स्थानीयबासी परम्परागत ढुंगेधारा र कुवामा निर्भर हुन बाध्य छन्।
कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीका स्थानीय सन्ध्या श्रेष्ठ खानेपानी लिन गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारको धारामा जानुपर्ने बाध्यता रहेको बताइन्।
'पानी लिन करिब आधा घण्टा पैदल हिँडेर जान र आउनै समय लाग्छ,' उनले भनिन्, 'कहिले त पानीको लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्छ।'
धारामा धेरै मानिस खानेपानीको लाममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ।
यस्तो उनीजस्तै हजारौं स्थानीयले लामो समयदेखि भोग्दै आएका छन्। आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या समाधान हुन सकेको उनीहरू बताउँछन्।
स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रूपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट वञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ।
गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले खानेपानी नपाए मेलम्चीको पानी बागमतीमा बगाउने चेतावनी दिँदासमेत समस्या समाधान हुन सकेको छैन।
गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेट विनियोजन गरी पानी माग गर्दा पनि सम्बोधन नभएको बताए।
विसं २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे विसं २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए। नगर प्रमुख हुँदा उनले मुहानवासीले खानेपानी नपाए मेलम्ची र बागमतीको पानी सहरमा वितरणका लागि नपठाई बागमतीमा बगाउने चेतावनी दिएका थिए। तर अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयवासीले खानेपानी नपाउँदा यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले वेवास्ता गरेको स्थानीय रामबहादुर तामाङको गुनासो छ।
यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित भएकी शान्ति श्रेष्ठले तीन महिनाअघि खानेपानी मन्त्रीलाई दिएको ज्ञापन पत्रमा गोकर्णेश्वर नगरपालिका- १, २, ३ र ४ वडाको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नम्बर ५ भन्दा माथिकालाई मात्र समेटेकामा आपत्ति जनाइएको छ। जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदा समस्या भोग्नुपरेको स्थानीयवासीको गुनासो छ।
---